किन दिए प्रचण्डले चितवनवासीलाई धम्की ?

अन्नपूर्ण पोष्ट

सुरेन्द्र काफ्ले

‘तपाईं चितवनवासी जनताले अनावश्यक दबाब दिनुुभयो, राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने दुर्घटनामा जान सक्छ। हालिँदैन हँसिया–हथौडामा भोट भन्नुुभयो भने देश दुर्घटनामा जान सक्छ। उत्साहपूर्ण ढंगले भोट हालेर रेणु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी गराउनुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०, १५, २० वर्ष लाने मेरो प्रतिबद्धता छ।’ 

जब–जब संकटमा परेको अनुुभूत गर्छन्, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसाधारणलाई धम्क्याउन थाल्छन्। भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाल नेतृत्वको गठबन्धन टिमलाई मत माग्न आएका दाहालले सार्वजनिक समारोहमै मतदातालाई धम्की दिए। कसैले ‘हँसिया–हथौडामा भोट हालिँदैन’ भन्यो भने देश दुर्घटनामा जाने चेतावनी दिए।

निर्वाचन र कानुनका विज्ञहरूले यसलाई गम्भीर आपत्तिजनक ‘धम्की’ भनेका छन्। ‘नेताका यस्ता अभिव्यक्तिले लोकतन्त्र र निर्वाचनमा नकारात्मक असर पर्छ। यस्ता वरिष्ठ नेताले अरूलाई सिकाउनु पर्ने आफैं यस्ता अभिव्यक्ति दिन्छन्। सुन्दा पनि कति नराम्रो’, पूर्वप्रमुख निर्वाचन आयुुक्त नीलकण्ठ उप्रेतीले यसमा प्रतिक्रिया दिँदै भने, ‘कसैलाई धम्क्याएर, डराएर, बल प्रयोग गरेर मत लिन खोज्नुले लोकतन्त्र बलियो हुँदैन। स्वतन्त्र, निष्पक्ष निर्वाचनमा असर पर्छ। भयरहित वातावरणमा निर्वाचन हुने वातावरण नै खलबलिन सक्छ।’ 

उप्रेतीले यस्ता दम्भले लोकतन्त्रमा हानि–नोक्सानी पुर्‍याउने बताए। भने, ‘विधि प्रक्रियामा असर पार्छ। त्यति मात्रै होइन, विधि प्रक्रियालाई चुनौती पनि दिन्छ। यसले लोतकन्त्रविपरीत दिशामा गएको आभास हुन्छ। अहिले उहाँहरूले दम्भ देखाउने बेला होइन।’

राजनीतिक विश्लेषक लोकराज बरालको मूल्यांकनमा पनि यो अनौपचारिक रूपमा जनतालाई धक्याएको हो। ‘भोट नदिएमा गठबन्धनमा असर पर्छ भनेर बोलेको भए पनि अप्रत्यक्ष रूपमा यो धम्क्याएकै हो। उहाँ (दाहाल) ले गठबन्धनलाई भोट नदिँदा नचाहिने प्रवृत्ति हावी हुन्छ, प्रतिगामीको जित हुन्छ भन्न खोज्नुभएको होला,’ बरालले भने, ‘तर यो अभिव्यक्तिले जनता धम्क्याएको जस्तो अप्रत्यक्ष  आभास हुन्छ।’

प्रकाशित मिति: : 2022-05-06 08:11:00

प्रतिकृया दिनुहोस्