बालेनका समर्थक र राष्ट्रिय झण्डाको विवेचनात्मक उत्तर

शिलापत्र

बसन्त बस्नेत

राष्ट्र बन्ने, भत्किने प्रक्रियासँगै राष्ट्रिय झण्डाको प्रयोग संसारैभरि सुरु भयो । राष्ट्र मानवनिर्मित हो । एक किसिमले कृत्रिम, तर वास्तविक । राष्ट्र चिनाउने सबैभन्दा शक्तिशाली संकेतचिह्न भनेको राष्ट्रिय झण्डा हो । राष्ट्रिय गीतहरू पनि हुन् ।

मनु ब्राजाकीको एउटा गजल यहाँ प्रासंगिक छ :

लुटिँदैछ देश मेरो राष्ट्रगीत गाउनेबाट
दौरासुरुवाल ढाकाटोपी मिलाएर लाउनेबाट

ब्राजाकीले यो गजल दशक ५० को सुरुतिर लेखेका हुन् । माओवादीको सशस्त्र विद्रोह सुरु हुँदै मात्र थियो । संघीयता, गणतन्त्रका एजेन्डा मुखर रूपमा सार्वजनिक थिएनन् । राष्ट्रियताको एजेन्डाले उत्रो मानभाउ नपाएको बेला थियो । अहिलेका राष्ट्रवादी भनिने नेताहरू ‘महाकाली साझा हो, पानी आधाआधा हो’ भन्दै थिए । ‘श्रीमान् गम्भीर नेपाली’ राष्ट्रगान गाईगाई देश कमजोर बनाउने अभिप्रायमा संलग्नहरू ब्राजाकीको गजलका तारो थिए । गजलै हो, त्यसलाई कसले गम्भीर ठान्यो र ?

चुनावमा राष्ट्रिय झण्डा प्रयोग गरेका काठमाडौं महानगर मेयरका स्वतन्त्र उम्मेदवार बालेनको अकस्मात् आगमनले धेरैलाई विस्मित पारेको छ । हरेक चुनावले मतदाता विस्मित पार्ने पात्र अघि सार्दैन, कोसिससम्म गर्छ । बालेनलाई विपक्षी उम्मेदवारले एउटा र्‍यापर मात्रै ठानेर टिप्पणी गरिरहेको छ भने त्यो अवमूल्यन हो । उनका विचारहरू सुन्दा समकालीन राजनीतिकर्मीभन्दा उनी कुनै पनि हालतमा कमजोर देखिँदैनन् । बरु महानगरका लागि चाहिने बुद्धि, इच्छाशक्ति उनमा देखिन्छ ।

विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बाँस्कोटासँग पनि मतदाता अपिल गर्न सक्ने पर्याप्त विचारहरू छन् । यसबीचका पाँच वर्षमा उनीसम्बद्ध दल जुन स्तरमा विवादित हुन पुग्यो, त्यसको मूल्य भने उनीजत्तिको असल उम्मेदवारले चुकाउनुपर्ने देखिँदैछ । यसबारे छुट्टै प्रसंगहरूमा चर्चा गरौँला ।

प्रकाशित मिति: : 2022-05-10 11:26:00

प्रतिकृया दिनुहोस्