राेल्पामा माओवादी कार्यकर्ताद्वारा एमाले उम्मेदवारकी आमामाथि कुटपिट

नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूले गएराति रोल्पाको सुनछहरीमा एमालेका उम्मेदवारको आमालाई निर्घात कुटपिट गरेका छन्।

सुनछहरी गाउँपालिका–५ जैमाकसलाका एमालेबाट वडाध्यक्षका उम्मेदवार तिर्खबहादुर विष्टकी आमा ६७ वर्षीया सत्मा बुढाथोकीमाथि निर्घात कुटपिट गरेका छन्।

माओवादीबाट वडाध्यक्षका उम्मेदवार देविलाल रोकामगरको निर्देशनमा माओवादी कार्यकर्ताहरू तानसरी विष्ट र श्याम विष्टले कुटपिट गरेका हुन्।

चुनावको प्रचारप्रसारका क्रममा छिमेकमै आएका बेला राति बाहिर बोलाएर एक्कासी कुटपिट गरेको पीडितको भनाई छ।

उनीहरूले यसअघि पनि पटक–पटक डर धम्की र क्रास देखाउँदै आएका थिए। पीडित परिवारले इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी दिएका छन्।

ज्यान मार्ने उद्योग अन्तर्गत उजुरी दिन खोजेपनि प्रहरीले सामान्य उजुरी मात्र दिन भनेपछि सामान्य कुटपिटको उजुरी दिएको पीडित परिवारको गुनासो छ।

घटना लगत्तै चुनावमा खटिएका सुरक्षाकर्मीहरूलाई खबर गरेपनि उनीहरूले खासै चासो नदिएको पनि पीडितहरूको गुनासो छ। पीडितको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2022-05-11 11:13:00

प्रतिकृया दिनुहोस्