लाज नै लजाएको पाखण्ड-राज

Break n Links
Break n Links

केपी ओली प्रधानमन्त्री भएपछि नेपालले चार अर्ब सार्वजनिक ऋण थप्यो । नौ महिनाको अवधिमा चार अर्ब ऋण यो आफैँमा कीर्तिमान हो । योसँगै नेपालको ऋण २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । यसमा बाह्य ऋणको अंश १३ खर्ब ५५ अर्ब ६९ करोड छ भने आन्तरिक ऋणको अंश १२ खर्ब ६६ अर्ब ७० करोड । यो भनेको एक नेपालीको थाप्लोमा जन्मँदै ८०,९९२ रुपैयाँ ऋणको भार हुन्छ ।

ओलीलाई यो कीर्तिमानी ऋणको कुनै डर छैन । यसका दुई कारण छन् । पहिलो, उनकै भनाइअनुसार १४ महिनापछि देउवालाई किस्तीमा प्रधानमन्त्री हस्तान्तरण गर्छन् । बुझाएपछि सक्किगो । दोस्रो, उनी ‘ऋण गरेर पनि घ्यू पिउनु पर्छ’ भन्ने चार्वाक नीतिका अनुयायी हुन् ।

अझ गजबको कुरा त ओलीलाई यो पनि सम्झाइदिउँ कि यो ऋणमा उनले उपचारका लागि लिएको लगभग चार करोड पनि जोडिएको छ । जबकि, उपचारका लागि सारा सम्पत्ति बेचेर फुटपाथमा आउने लाखौँ नेपाली छन् ।

तैपनि ओली भन्न छोड्दैनन्, ‘मैले राष्ट्रबाट एक सुको लिएको छैन । मैले त सबै राष्ट्रलाई दिने मात्रै हो ।‘ यो भन्दा पाखण्डपन के हुन्छ र ? तैपनि ओलीले बोलीमा लगाम लगाउन छोडेका छैनन् । कलि व्याप्त भएको यो समयमा यस्तै पाखण्डपनको राज हुन्छ । मेरो स्वर्गवासी बुबा भन्नुहुन्थ्यो, ‘काइला, लबस्तराको लाज हुँदैन । बरु आफैँ छेउ लाग्नुपर्छ ।‘ समय अहिले त्यस्तै लबस्तराहरूको छ ।

देश टाट पल्टिँदै छ
देशमा ऋण बढेको बढै छ । यसरी ऋण ल्याएको पैसा या त तलब भत्तामा खर्च भएको छ या त खर्च गर्न नसकेर बैंकमा थुपारिएको छ । नेपालको वास्तविक विकास खर्च २० प्रतिशत पनि छैन । यसले के देखाउँछ, ऋण जति पाए पनि लिने, सकेजति फजुलमा उडाउने, नकसेको बैंकमा डम्पिङ गर्ने तर, ब्याजचाहिँ तिरिरहने । अझ गजबको कुरा त ऋणको ब्याज तिर्न पनि ऋण लिइएको छ ।

केही दिनअघि महालेखा परीक्षकको वार्षिक प्रतिवेदन आयो, बेरूजु बढेर ९१ अर्ब ५९ करोड ८८ लाख बेरुजु पुगेछ । यो भनेको कुशासन, भ्रष्टाचार, अपारदर्शिता सबै हो । दिन प्रति दिन भष्ट्राचारका काण्डहरू सार्वजनिक भइरहेका छन् । नारा भ्रष्टाचारमा शून्य सहनशीलता, पारदर्शिता र सुशासनको छ । तर, व्यवहार ठीक उल्टो छ। सरकार बनाएको १० महिना भइसक्यो, प्रधानमन्त्री ओली र उनका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको यो भन्दा भद्दा मजाक के हुन सक्छ र ?

देशमा भर्खरै ‘सगरमाथा संवाद’ भयो । के के नै होला जस्तो गरेर यसको ठूलो बखान गरियो । लाग्थ्यो, ट्रम्प, सी, मोदी नै आउँछन् होला । तर, आयो को ? सूची हेर्दै थाहा हुन्छ । पहाड खोज्दा मुसा निस्के जस्तै भयो । यसमा पनि खर्चको खोलो बगाइयो । यो ‘संवाद’ को डिङ हाँक्न थालेको सुरुदेखिकै हिसाब गर्दा अर्ब खर्च निस्कन्छ । अझ त्यसमा कति भ्रष्टाचार होला । त्यसको हिसाब किताब नै छैन ।

यसमा भएको खर्च पनि ऋणकै पैसा हो । ऋण गरेर तारे होटेलमा गरिएको एक किसिमको भोज भतेर नै भन्दा हुन्छ यसलाई । जे जस्ता घोषणा गरे पनि प्रभाव रौँ बराबर पनि हुन्न । मूतको न्यानो ताप्नेहरूका लागि भने यसले केही समयको लागि न्यानो देला नै ।

टेरामक्समा दुई मन्त्रीलाई उन्मुक्ति
केही दिन अघि अख्तियारले टेरामक्स प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर ग¥यो । सरकारमा रहेको संस्थापन पक्षमा दुई पूर्वमन्त्री जोगिए, संस्थापन इतरमा रहेका एकजना पूर्वमन्त्रीविरूद्ध मुद्दा चल्यो । प्रधानमन्त्री ओलीका मानसपुत्र गोकुल बाँस्कोटा र देउवाका कृपापात्र ज्ञानेन्द्र कार्की जोगिए । देउवा खेमाबाट शेखर खेमामा पाइतो सरेका मोहनबहादुर बस्नेतलाई मुद्दा चलाइयो । सिन्धुपाल्चोकका ‘नयाँ पशुपतिशमशेर’ अहिले फरार छन् ।

जगजाहेर नै छ, अहिले अख्तियारका सबैखाले आयुक्तहरूको नियुक्ति पहिलो दृष्टिमै बदरभागी छ । तर, पनि उनीहरूको मुद्दा चारवर्षसम्म डेग चलेन । कारण प्रस्ट छ, सर्वोच्च अदालतमा ओली र देउवाकै कोटाका श्रीमानहरू भएजस्तै अख्तियारमा पनि उनीहरूकै कोटाका आयुक्त हुनु । जताततै उस्तै मान्छे भर्ती भएपछि हुने भनेको यस्तै हो । चार वर्षे म्याद सकिन लागेको बेला हेर्दाहेर्दै हुँदै निर्णय सुनाइने बेलाका अख्तियार आयुक्तहरूले भ्रष्टाचारको मुद्दा चलाए ।

टेरामक्स प्रकरणमा भ्रष्टाचार भएकोमा शंका छैन । बाँस्कोटा, कार्की र बस्नेत सबै एउटै ड्याङका मुला हुन्, यो पनि थाहा छ । तर, जेठ २८ मा आफैँ सदर कि बदरको अवस्थामा रहेका आयुक्तहरूले दायर गरेको यो मुद्दा कति पानीमाथि छ ? कतै बाँस्कोटा र कार्कीलाई जोगाउनकै लागि हतार हतार मुद्दा दायर भएको त हैन ?

प्रश्न मात्र हैन, आशंका पनि छन् । त्यो पनि एक हैन, अनेक । विश्वसनीयता गुमाइसकेपछि हरेक क्रियाका पछाडि यस्ता आशंका उठ्नु अस्वाभाविक हुन्न । आखिर मौका पाउन कसले के गर्न बाँकी राखेको छ र ? अनि, मौका पाएपछि लुट्न कसले छोडेको छ र ? सबै ‘खुला–रहस्य’ नै त छ ।

गगन थाके
ओलीको जति ताबेदारी गर्दा पनि जस नमिलेपछि गगन थापा बालुवाटार जानै छोडे । सरकारको वार्षिक कार्यक्रम आएको बेला सत्तारूढ गठबन्धनकै ठूलो दल कांग्रेसका महामन्त्री संसदमा देखिएनन् । जाँगर चल्दा संसदमा तेरतराज बोल्ने उनको अवस्था यतिबेला नून खाएर झोक्राएको कुखुरो जस्तै छ । ओलीका एकजना कृयापात्र सूर्यबहादुरले त उनलाई संसद्मै खोजे पनि ।

ओली समर्थन गर्नेलाई नून खाएको कुखुरो बनाइ दिन्छन्, बिरोध गर्नेलाई आक्रमणको निशानामा पार्छन् । ओलीको समर्थन गरूञ्जेल रविको हालत पनि आजको गगनको जस्तै थियो । गगनले त्यो दृश्य देखे पनि नदेखेजस्तो गर्दा उनको यो दयनीय अवस्था भयो ।

ओली समस्या हुन् । उनको चरित्र र प्रवृति नै त्यस्तै छ । उनी माथि पर्दा ङ्याक्छन्, तल परे जस्तो पनि सम्झौता गर्छन् । प्रधानमन्त्रीका लागि अहिले उनी आरजुको उठ–बस खेलिरहेका छन् । चतुर ओलीलाई थाहा छ, आजको कांग्रेस भनेको देउवा हुन् र देउवा आरजुको लाचार छाया । त्यसैले उनी कान समातेर उठ–बस गरिरहेका छन् ।

यति उठ–बस गर्दा पनि कथम्कदाचित प्रधानमन्त्रीबाट बाहिर निस्कनु प¥यो भने आरजुविरूद्ध हुनसक्ने सम्मको गाँड फिँजाउँछन् । यसो गर्नु ओलीको चरित्र मात्र हैन, प्रवृत्ति नै हो । हिजो प्रधानमन्त्रीका लागि समर्थन गर्दा प्रचण्डको कतिसम्मको प्रशंसा गरे र अहिले समर्थन नगर्दा कतिसम्म गाली गरिरहेका छन्, त्यसैबाट छ्याङ्ग हुन्छ ।

तातो हावामा रवि
रवि लामिछाने भैरहवाको जेलमा तातो हावा खाइरहेका छन् । जेलर भन्छन्, ‘उनी अध्ययनमा व्यस्त छन् ।‘ उता, पोखराको उच्च अदालतमा उनकै निवेदनको सुनुवाइ भइरहेको छ । भनेजस्तो बेन्च नपरेर चारपटक पेशी सारी सके । पाँचौँ पेशीको बेन्च पनि न भनेजस्तो प¥यो, न पेशी स¥यो नै । निर्णय पनि आफ्नो विपक्षमा आउने संकेत पाएपछि उनका काला कोटेहरू अनेक अत्थो थापिरहेका छन् । अझ, रविले त ठाँडै भनिदिएछन्, ए उता मेरो पेशी पनि चल्दैछ र ?’ त्यति मात्र हैन, पेशीको सूचना पनि पाएको नपाए जस्तै गरिरहेका छन् ।

यता, रविकी श्रीमती निकिताले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएको पनि धेरै भयो । उता, पोखरामा ढिलो गर्नुपरेको मुद्दा यता सर्वोच्चमा चाँहि छिटो गर्नु छ । तर, दुर्भाग्य जति गरे पनि पालो श्रीमान् सुनील पोखरेलकै परिरहेको छ । यी श्रीमान् तीनै वरिष्ठ अधिवक्ता सुनील पोखरेल हुन् जो कांग्रेस कोटामा सर्वोच्च छिर्नुअघि रविका वकील थिए । उनको पक्षमा धुवाधार वकालत गर्थे । अब त नैतिकताको कुरा मात्र भएन, स्वार्थको द्वन्दको पनि हुने भयो, चाहेर पनि रविको मुद्दा हेर्न सक्दैनन् ।

रवि र निकितालाई पनि के के पो मात्र पीर ? कतै मुद्दा ढिलो पार्नुपर्ने, कतै छिटो पार्नुपर्ने । मुद्दा धेरै भएपछि हुने यस्तै हो । जे होस्, रविको भैरहवाको चिसो बाससँगै नीलो हुइयाँ कम भएको छ । बोले पनि पहिला जस्तो पत्याउनेको संख्या छैन । २०७९ नै घण्टीका लागि न भूत, न भविष्य थियो । केहीले पत्याएका थिएनन्, बिस्तारै समयले चाबुक लगाएर पत्याउने बनाउँदैछ ।

प्रकाशित मिति: : 2025-05-22 03:30:00

प्रतिकृया दिनुहोस्