क्रूर बाँके : ५ महिनामा दुई चेलीकाे सामूहिक बलात्कार

Breaknlinks
Breaknlinks

बाँकेमा एकपछि अर्को क्रूर सामूहिक बलात्कारको घट्दै गएको छ। ५ महिनाअघि एक किशोरी सामूहिक बलात्कारमा परेको घटना ताजै छ। उक्त घटना सेलाउनै पाएको छैन। फेरि, अहिले एक किशोरी अर्को क्रूर सामूहिक बलात्कारमा परेकी छन्।

०००

पाँच महिनाअघि माघको ७ गते नेपालगञ्ज उपहानगरपालिकाबाट खजुरा गाउँपालिका सि–गाउँस्थित पुलचोक नजिक फोटो खिचाउन साथीहरुसँग एक १६ वर्षीया किशोरी गइन्।

सोही समयमा अर्को समूह बनाएर आएका युवाहरुले ती किशोरीलाई अपहरण गरे। अपहरण गर्नेमा खजुरा गाउँपालिका– १ सैनिक बस्ने १८ वर्षीय हरिश सुनार, चन्द्रनगर बस्ने १८ वर्षीय सुशान्त सुनार, १९ वर्षीय सुमित गाहा मगर, २० वर्षीय नवीन थापा र २४ वर्षीय नेप्टे भन्ने व्यक्ति रहेका थिए।

उनीहरुले ती किशोरीसँग गएका केटा साथीहरुलाई कुटपिट गरेर उनलाई अपहरण गरेका थिए। प्रहरीकाअनुसार २ वटा मोटरसाइकलमा आएका उनीहरुले किशोरीलाई मोटरसाइकलमा बसाली जंगलतर्फ लगे। 

बाँकेको खजुरामा अपहरणपछि बालिकाको सामूहिक बलात्कार

लगत्तै अपहण गरेको खबरसँगै खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेको प्रहरी टोली घटनास्थल पुग्यो। तर, उक्त प्रहरी टोलीले किशोरीलाई बलात्कृत हुनबाट भने बचाउन सकेन।

अपहरण गर्ने मध्ये सुनारले किशोरीलाई जंगलमा र आफ्नो घरको कोठामा लगेर २ पटक बलात्कार गरेको बालिकाले प्रहरीसमक्ष बताएकी थिइन। प्रहरीले खोजतलास गर्दै जाँदा सुनारको घरबाट नै बालिकालाई उद्धार गरेको थियो। 

अहिले उक्त घटनामा संलग्नहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको बाँकेका प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए। अझै यो घटनाको अन्तिम टंगो लाग्न बाँकी नै छ। 

०००

फेरि बाँकेमा यही जेठ २१ गते (शुक्रबार) अर्की एक १६ वर्षीया किशोरी नै बलात्कारको सिकार भएकी छन्। आफ्नै साथीले जन्मदिन मनाउन बोलाएर साथी कहाँ पुगेकी किशोरीलाई ४–५ जनाको समूहले बलात्कार गरेको हो।

यी किशोरी पनि खजुरा क्षेत्रमा नै बलात्कारमा परेकी हुन्। २१ गते बेलुका करिब ४ बजे खजुरा गाँउपालिका– ६ मानखोला नजिक साथीको जन्मदिन मनाउन किशोरी पुगिन।

त्यसपछि ती किशोरीलाई ४–५ जनाको युवाहरुको समूहले मोटरसाईकलमा राखी बर्दियाको मानखोला नजिकैको जंगलमा लग्यो। युवाहरुको समूहले मदिरा सेवन गरे भने ती किशोरीलाई पनि सेवन गराए।

त्यसपछि साँझ ६ बजेदेखि राति १२ बजेसम्म उक्त युवाहरुको समूहले आफूलाई बेहोस बनाएर बलात्कार गरेको प्रहरीसमक्ष किशोरीले बताएकी छन्। २१ गते प्रहरीले घटनाको कुनै जानकारी नै पाएन।

तर, २२ गते बिहान ४ बजे मोटरसाइकलमा आइरहेको समयमा प्रहरीले शंका लागेर चेक/जाँच गरेपछि घटना बाहिर आएको हो। २२ गते बिहान ४ बजेतिर खजुरा गाँउपालिक– ५ प्रतिक्षालय चोकमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले चेक/जाँच गर्दै थियो।

पश्चिमबाट पूर्वतर्फ गईरहेको एउटा मोटरसाइकलमा ३ जना चढेर आइरहेका थिए। मोटरसाइकलमा बैजनाथ गाँउपालिका– ८ झिगौरा बस्ने २० वर्षीय विश्वनाथ थारु (चालक), सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र राप्ती सोनारी गाउँपालिका– ४ बस्ने १६ वर्षीया किशोरी थिइन। 

अनि प्रहरीले उनीहरुलाई रोक्यो। प्रहरीले किशोरी लठिएको जस्तो देखेपछि थप सोधपुछ गर्‍यो। त्यसपछि खुल्यो किशोरी सामूहिक बलात्कारमा परेको कुरा। प्रहरीसमक्ष किशोरीले जन्मदिन मनाउन एक वर्षअघि फेसबुकमा चिनजान भएको साथीकोमा आएको र उक्त साथीसहित अन्यले सामूहिक बलात्कार गरेको बताएकी छन्।

बर्दियाको मानखोला नजिकैको जंगलमा सामूहिक बलात्कारपछि बैजानाथ गाउँपालिका– ८ पिपरी भन्ने स्थानमा विक्रम भन्ने विक्रान्त थारुको बंगुर पालन नजिकको टिनको टहरामा २ जनाले सामूहिक बलात्कार गरेको पनि खुलेको छ।

त्यहाँ बलात्कार गरिसकेपछि किशोरीलाई घरमा पुर्‍याउन गइरहेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बैजनाथ गाँउपालिका वडा न.८ बस्ने २४ वर्षीय बिक्रम भन्ने बिक्रान्त थारु, सोही ठाउँ बस्ने र २५ वर्षीय निराजन थारु, २३ वर्षीय राज कुमार थारु र २० वर्षीय बिश्वनाथ थारुलाई पक्राउ गरेको छ।

साथै एक १६  वर्षीय र १७ वर्षीय दुई किशोरलाई पनि घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक न्यौपानले जानकारी दिए।

किन पर्छन् किशोरी सामूहिक बलात्कारमा ?

५ महिनाको फरकमा दुई किशोरी करिब एउटै ठाउँमा सामूहिक बलात्कारमा पर्नु बाँकेको सुरक्षा व्यवस्थामाथि प्रश्न गर्ने ठाउँ प्रशस्त भेटिन्छ। माघमा भएको सामूहिक बलात्कार र २१ गते भएको बलात्कार खजुरा गाउँपालिका नै हो। जुन घटना भएको स्थान धेरै टाढा नगरेहेको बाँके प्रहरी प्रहरी नायव उपरीक्षक न्योपानले बताए।

‘दुई घटना भएको गाउँपालिका एउटै हो। ठाउँ मात्र फरक हो। तर, धेरै टाढा छैन,’ उनले भने, ‘करिब ४–५ किलोमिटरको फरकमा छ होला।’ यसरी करिब एउटै ठाउँमा किन किशोरी बलात्कृत भइरहेका छन् ? यो बाँकेको सुरक्षा व्यवस्था माथिको प्रश्न हो।

बाँकेको बालअधिकार क्षेत्रमा काम गर्दै आइरहेका सहिल अन्सारीले बाँकेको सुरक्षा व्यवस्था राम्रै रहेको भए पनि यसरी एकै ठाउँमा घटेको घटनाले केही प्रश्न उठेको बताए।

उनका नजरमा कोशोरीहरु सामूहिक बलात्कारमा पर्नुमा लागूपदार्थ दुव्र्यनी एक हो। जहाँ सामूहिक रुपमा पहिले लागूपदार्थ सेवन गर्ने र लठिएको बेलामा यस्ता घटनाहरु घट्न सक्ने उनको बुझाई छ।

साथै आजभोलिको सामाजिक सञ्जालको दुरुपयोग, जनचेतनाको कमी आदिका कारण यी घटनाहरु घटेको अन्सारीले बताए।

यस्ता घटना रोक्नका लागि विशेष गरेर घर परिवारले आफ्नो सन्ततिहरु कहाँ–के गरिरहेका छन् भन्ने निगरानी गर्नु पर्ने उनको भनाइ छ। बालअधिकार क्षेत्रमा आफूहरुले धेरै काम गरेको र जनचेतना फैलाउने काम अहिले पनि जारी गरेहेको भन्दै यस्ता कार्यक्रमहरु थप सशक्त रुपमा गर्न सकियो भने बालात्कारजन्य घटना न्यूनिकरण गर्न सकिने उनले जिकिर गरे।

प्रकाशित मिति: : 2022-06-06 17:17:00

प्रतिकृया दिनुहोस्