केपी ओलीको ‘कंगारू कोर्ट’मा घनश्याम

स्थानीय तहमा नेकपा एमालेको स्वभाविक हार भयो। जे थियो, एमाले पछिल्लो समय एमाले ‘बा’माले भएको अर्थमा यो ओलीको एकल हार थियो। तर, उनले त्यसलाई स्वीकारेनन्। बरू, उल्टै आफ्ना जोजोम्यानमार्फत तीनथरि कुरा बोल्न लगाएर एक किसिमको मिडिया ट्रायल गरे।

पहिलो लटमा महासचिव शंकर पोखरेललाई विज्ञप्ति निकालेरै भन्न लगाए– गठबन्धनले सत्ताको दुरुपयोग गर्याे। यसोभन्दा न कसैको जीत भनियो, न कसैको हार।

दोस्रो लटमा आफैंले भने– अन्तर्घातका कारण हारियो। यसपटक प्रत्यक्षरूपमा हार स्वीकार नगरे पनि हार्नुपरेको कारण स्वीकारे। ओली त्यतिमा रोकिएनन्, तेस्रो लट उपमहासचिव विष्णु रिमाललाई बोल्न लगाए– सिट कम जिते पनि जनमत आफ्नो धेरै रह्यो।



ओलीको ‘फ्लो’मा ‘कन्ट्राफ्लो’, ‘मेक्लोमेन’मय मुलुक  

कांग्रेसको हातमा पासा: चित परे 'ओली' पोट परे 'देउवा'



हिन्दी सिरियलको जस्तो शृंखलाबद्धरूपमा आएका यी ‘बा’माले प्रतिक्रियाहरू कुनै कमिटी पद्धतिबाट आएका हैनन्, ‘बा’माले अध्यक्ष ओलीले आफ्ना जोजोम्यानमार्फत सार्वजनिक गरिएका ट्रायल बलुन मात्र हुन्।

चुनावअघि ओलीले एमाले जीतको यति ठूलो दाबी गरे कि साँच्चै भन्ने हो भने त्यो एक किसिमले दिउँसै रात पार्ने कुराजस्तै थियो। परिणाम जे आयो त्यो पनि एमालेले डिजर्ब गर्नेभन्दा ठूलो थियो। तर, ओली आफ्नो दाबीलाई सही सावित गर्ने असफल प्रयासमा लाग्दा त्यो ठूलो जीत पनि उनका लागि ठूलो हार बन्न पुग्यो।

यो हारलाई लिएर ओलीका जोजोम्यानहरूले जे–जस्तो मिडिया ट्रायल गरिरहेका थिए, त्यति नै बेला एमाले नेता घनश्याम भुसालले एमालेको हार ओलीको हारका रूपमा अथ्र्याए र उनले नैतिक जिम्मेवारी लिनुपर्ने बताए।

उनले सत्यलाई स्वीकार गर्दै पछिल्लो चरणमा गरेको कुकृत्यका लागि ओलीको एमाले योभन्दा खराब परिणामको भागिदार भए पनि इतिहासमा गरेको योगदानको ब्याज पाएको विश्लेषण सुनाए।

उनले ओलीले हारको नैतिक जिम्मेवारी लिएर राजीनामा दिए इतिहासले उनलाई अन्तिम पटक महान् बन्ने अवसर दिने कुरा पनि बताए। उनले ओली दोबाटोमा उभिएको बताउँदै ओलीसँग दुई विकल्प रहेको बताए, हारलाई स्वीकार गरेर सच्चाइको बाटोमा जाने कि हारका लागि अरूलाई जिम्मेवार ठहर्याएर कोतपर्वमार्फत सत्यानासको बाटो रोज्ने ?

भुसालको अन्तर्वार्ताले ओलीको कन्पारो तात्यो। त्यसपछि उनले अर्को जोजोम्यान केशव बडालमार्फत एमालेमा कोतपर्वको सुरूवात गराए। र, त्यसको पहिलो शिकार भुसाल स्वयंलाई बनाउन लागिएको छ।

भुसालकै शब्दमा भन्ने हो भने ‘यो एमालेका लागि सत्यानासको बाटो हो।’ अर्थात्, ओलीले यो हारबाट पनि शिक्षा लिएनन्, उल्टै विक्षिप्त बनेर अनुशासनको डण्डा बजाउने असमान्य गतिविधितर्फ अगाडि बढेका छन्।

एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले भुसालको नाम नलिइकन उनीमाथि अनुशासनको कारबाही सिफारिस गरिएको पुष्टि गरेका छन्। उनका अनुसार अन्तर्वार्तामा भुसालले व्यक्त गरेको धारणाले एमाले नेतृत्वको मानमर्दन गरेको छ र त्यो आफैंमा प्रमाणित अनुशासनहीन कार्य हो।



गोर्भाचोभ–पथमा ओली, घिस्रिदैछन् अरू पनि

देउवाको बेमौसमी बाजा र ओलीको रोइलो



यही निष्कर्षका साथ बडालको अनुशासन आयोगले भुसाललाई न स्पष्टीकरण सोध्न आवश्यक ठान्यो, न उनको आफ्नो भनाइ राख्ने अवसर नै दियो। सिधै अनुशासनहीन काम गरेको ठहर गर्दै एमाले सचिवालयलाई कारबाहीका लागि सिफारिस गर्यो।

कानूनको भाषामा एउटा शव्दावली छ– कंगारू कोर्ट। यसको अर्थ हो, आफैंले अदालत गठन गर्ने, न्यायाधीश नियुक्त गर्ने र आफैंले मुद्दा लाउने, आफैंले फैसला गर्ने पद्धति।

केशव बडालको अनुशासन आयोग ओलीको टीके आयोग हो। भुसालको सन्दर्भमा यसले जे गरेको छ, कंगारू कोर्टकै काम गरेको छ। बडाल ओलीले नियुक्त गरेको एमालेको कंगारू कोर्टका न्यायमूर्ति हुन्। उनी आफैं पनि ओलीप्रतिको अस्वभाविक भक्ति र मिडियामा असामान्य व्यवहारका कारण बदनाम छन्।

भुसालमाथि चलाइएको यो अनुशासनको डण्डालाई लिएर एमालेमा मिश्रित मत छ। बडालबाहेक कसैले पनि यसलाई उचित भनेका छैनन्। ओलीका भक्तहरूको समेत यस प्रकरणमा बोली फुटेको छैन। उनीहरू यसलाई सही कदम भन्न सकिरहेका छैनन्।

बरू, केही नेताहरूले यसलाई असान्दर्भिक भन्दै खारेज गरेका छन्। उनीहरूको तर्क छ– यसले एमालेको अन्तरपार्टी लोकतन्त्रलाई मात्र कमजोर बनाउँदैन, मूल नेतृत्वलाई सामाजिक फासीवादको बाटोमा पनि लैजान्छ।

हुन त यो एमालेको आन्तरिक विषय हो। तर, एमाले देशको दोस्रो ठूलो दल र पहिलो वामपन्थी घटक भएकाले यसका गतिविधिहरू समग्रताको कशीमा जाचिन्छन्। यसले केही हदसम्म मुलुकको लोकतान्त्रिक पद्धतिको छविकरण गर्छ। यस अर्थमा एमालेको यो भुसाल प्रकरण मुलुकको लोकतन्त्रको छवि उजागर गर्ने दिशामा योगदान गर्दैन।

हुन त यसलाई ओलीको अर्को ट्रायल बलुनको रूपमा हेर्नेहरूको कमी छैन। एकथरि राजनीतिक पण्डितहरू यो ओलीको अर्को रणनीतिक चालका रूपमा अर्थ्याउँने गर्छन्। उनीहरूको तर्क छ– ओली भुसाल प्रकरणको ढिस्को ठड्याएर आफ्नो हारलाई विषयान्तर गर्न चाहन्छन्। धेरैलाई लागेको छ– यसपटक भुसाल कारबाहीको दायराबाट बाहिर हुन्छन्। किनकि, यतिबेलासम्म यो भष्मासुर प्रवृतिका लागि ओलीले धेरै कुरीकुरी पाइसकेका छन्।

उनकै किचेन क्याविनेट पनि आफ्नो लाज जोगाउन त्राहीमाममा परेर रक्षात्मक बनेको छ। कतिपय, उनका जोजोम्यानतिरै स्थानीय निर्वाचनमा अन्तर्घात गरेको चोरऔली ठडिएको छ। उनकै किचेनक क्याविनेटका सदस्यहरू आपसमा साँढे जुधाइमा छन्। यसले पनि ओलीलाई कमजोर बनाएको छ।

जगजाहेर छ, ओली मेक्लोमेन भएका असामान्य मानिस हुन्। न उनले गल्ती स्वीकार्छन् , न त्यसबाट शिक्षा नै ग्रहण गर्छन्। स्थानीय निर्वाचनको शिक्षालाई पनि उनले ग्रहण गर्ने त कुरै छोडौं, ठाडै अस्वीकार गरे।

पछिल्लो समय ओलीमा सामाजिक फासीवादी चरित्रको भूत नराम्ररी सवार भैरहेको छ। उनी आफ्नो विरोधी मतको सम्मान गर्ने त कुरै छोडौं, आलोचक मतको पनि कत्लेआम गर्न उद्दत छन्। नेकपा एमाले हुँदै ‘बा’माले बन्दासम्म देखिएको मूल चरित्र यही हो।

धेरैलाई लाग्ला, ओली एक पात्र मात्र हुन्। तर, समयक्रमले त्यसो भनिरहेको छैन, अब यसले एक प्रवृत्तिकै रूप लिइसकेको पुष्टी भैसकेको छ। ओलीलाई जोडेर हेर्दा उनी सम्बन्धित रहेका एक हैन, अनेक घटनाक्रम फड्के किनारमा बसेर यही सत्यको साक्षी बसिरहेको पाइन्छ। अब त यस्तो लाग्छ कि, बामालेको मौलिक चरित्र नै यही हो।

प्रश्न ‘बा’मालेको मात्र हैन, नेपालका अन्य कुनै दलको मूल नेतृत्व पनि यो चरित्रबाट मुक्त छैन। फरक विचार राख्ने र अल्पमतलाई सुन्नेभन्दा पनि कुल्चेरै जाने प्रवृति हाबी हुदैछ। यो सामाजिक फासीवादी चरित्रले दलको आन्तरिक लोकतन्त्रलाई त खतम पार्छ नै, मुलुकको लोकतान्त्रिकरणको गतिलाई पनि उल्टो दिशातिर धकेल्छ।

घुम्दै फिर्दै रूम्जाटार भनेझै अब हेर्नु छ, ‘बा’मालेले भुसालमाथि कारबाही गरेर कोतपर्वको सुरूवात गर्छ कि यो हारका लागि ओलीलाई जिम्मेवार ठहराएर राजनीतिमा न्यूनतम जिम्मेवारी चाहिन्छ भन्ने कुराको सचेत शिक्षा लिन्छ।

भुसाल प्रकरणको पछिल्लो विकासक्रम हेर्दा यो एक किसिमको ट्रायल बलुनजस्तो मात्रै देखिँदैछ, जुन ओलीको पक्षमा होइन, विपक्षतिर जाँदैछ। ट्रायल बलुनको सिद्धान्तअनुसार यस्तो अवस्थामा यसका योजनाकारहरू रक्षात्मक स्थितिमा पुग्छन्।

ओली पनि त्यही अवस्थामा पुग्नुपर्ने हो। तर, असामान्य अवस्थाबाट गुज्रिसकेका ओलीका लागि कुनै पनि कुराको अनुमान लगाउनु असहज कार्य हो।

कामना गरौं, भुसाल कंगारू कोर्टको शिकार नबनुन्। त्यसो भयो भने चोरलाई चौतारो, साधुलाई सूली हुन्छ। अझ, अर्को शव्दमा भन्नु पर्दा नेपाली राजनीतिक वृतमा निष्ठाको दिनदहाडै हत्या हुन्छ र मानिसहरू सत्य बोल्ने जिब्रो बिनाका अनौठा प्राणी हुन्छन्।

(यो आलेख प्रिन्ट मिडिया दृष्टि र अनलाइन मिडिया ब्रेक एन लिंक्सका लागि लेखिएको हो– लेखक।) 

प्रकाशित मिति: : 2022-06-09 21:14:00

प्रतिकृया दिनुहोस्