घोराहीमा सुरू भयाे सरसफाई अभियान, फोहोर गरे ठाउँका ठाउँ कारबाही हुने (तस्बिरसहित)

‘हामी कारबाही गर्ने पक्षमा छैनौँ। घोराही नगर, स्वच्छ नगरको रुपमा विकास गर्न सबै सचेत छौँ र बुझेका छौँ। हाम्रा नागरिक पनि सचेत हुनुहुन्छ। फोहोर गर्नु हुँदैन भन्ने कुरा बुझ्नु भएको छ। त्यसैले फोहोर नै नगरे कारबाही गर्नु पर्ने छैन,’ घोराही उपमानगरपालिकाका नगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको भनाइ हो यो।

सोमबार घोराहीमा उपमहानगरपालिकामा सरसफाई अभियानको उद्घाटन गर्दै नगरप्रमुख चौधरीले घोराहीलाई सफा र स्वच्छ सहरको रुपमा विकास गर्नु पर्ने बताए। घोराही नगर स्वच्छ र सफा राख्नका लागि आफूहरुले फोहोरलाई किन्ने कामसमेत गरेको उनले बताए।

‘घोराहीलाई स्वच्छ र सफा राख्नका लागि हामीले फोहोरसमेत किन्ने गरेका छौँ। कुहिनेबाट ग्यास निकालेका छौँ। नकुहिने फोहोर घर–घर गएर पैसा दिएर लिएका छौँ,’ उनले भने, ‘नागरिकको काम भनेको कुहिने र नकुहिने फोहोर छुट्याने हो। नगरको गाडी आएको समयमा दिने हो।’

यति गरियो भने घोराहीलाई सफा राख्नका लागि कुनै कठिनाई नभएको बताए। तर, अटेरी गरेर फोहोर गरेमा अब ठाउँका ठाउँ कारबाही गरिनेसमेत उनको चेतावनी छ। ‘फोहोर गरेको भन्दै कारबाही गर्न नपरोस्, सकभर हामी कारबाही गर्ने पक्षमा छैनौँ,’ नगरप्रमुख चौधरीले भने, ‘तर अटेरी गरे, के गर्ने अन्तिम उपाय त अपनाउनु पर्‍यो। त्यसो भयो भने ठाउँका ठाउँ कारबाही गर्नेसम्म हामी पुग्ने छौँ।’

घोराही बजार सरसफाइ गरेर सचेतना

घोराही उपमानगरपालिकाले घोराहीको बजार सरसफाई गरेर नागरिकहरुलाई फोहोर नगर्न सचेत गराएको छ। नगरप्रमुख चौधरी, उपप्रमुख हुमा डिसीसहित जनपथ प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र गोर्खा तथा लोटस ट्रेनिङ सेन्टरका विद्यार्थीहरु सहभागि भएर सोमबार घोराही बजार सरसफाई गर्दै फोहोर नगर्न सचेत गराइएको थियो।

जसक्रममा घोराहीको न्यूरोड, मेनरोड, हस्पिटल रोड, भिंग्रेली चोक लगायत ठाउँमा सरसफाई गरिएको थियो। सरसफाई कार्यक्रममा भाग लिंदै नागरिकहरुलाई फोहोर नगर्न आग्रह गरे। पसल अगाडि फोहोर देखिएमा उनीहरुलाई सम्झाउँदै फोहोर नगर्न र फोहोर बेच्नका लागि आग्रह गरे।

फोहोर गरे ५० हजारसम्म जरिवाना

घोराही उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्नका लागि फोहोरमैला व्यवस्थापन कार्यविधि ऐन २०७४ नै पास गरेको छ। यस कार्यविधिमा फोहोर गर्नेलाई ५० हजार जरिवानासम्मको तोकिएको छ।

कार्यविधिमा फोहोर गर्नेलाई ३ हजार रुपैयाँदेखि ५० हजारसम्म र अन्य क्षेतिपूर्तीसमेत तोकिएको छ। जसअनुसार महिलो पटक फोहोर गर्नेलाई ३ हजार रुपैयाँ, फेरि दोस्रो पटक फोहोर गरेको देखिएमा ३ हजारदेखि ७ हजार रुपैयाँसम्म र तेस्रो पटक वा सो भन्दा बढी फोहोर गरेमा १० हजार रुपैयाँका दरले जरिवाना गरिने र फोहोर उठाउँदा लाग्ने खर्चसमेत सोहि व्यक्तिबाट उठाइने उल्लेख छ।

यस्तै कार्यविधिको नियम १० को खण्ड (ख) र (झ) बामोजिम फोहोर गरेमा नगरपालिका वा सम्बन्धीत वडाले नै ५ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको जरिवाना गर्न सक्ने व्यवस्था छ। यसरी घोराहीले अब फोहोर गर्नेलाई कारबाही गर्ने भएको छ।

घोराही उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रममा समेत फोहोर गर्नेलाई ठाउँका ठाउँ कारबाही गर्ने उल्लेख गरिएको थियो।

प्रकाशित मिति: : 2022-06-28 06:50:00

प्रतिकृया दिनुहोस्