पुल नहुँदा जोखिम मोल्न बाध्य छन् रतुवामाईका विद्यार्थीहरू

Breaknlinks
Breaknlinks

पुल नभएकै कारण रतुवामाईका बालबालिका विद्यालय जाँदा जोखिम मोल्न बाध्य भएका छन्। 

रतुवामाई ५ र ६ जोड्ने कट्नु खोलामा पुल नहुँदा बर्खायाममा राइजिङ स्कुल पढ्ने बालबालिका जोखिम मोलेर उनीहरु वारपार गरिरहेका छन्। खोला वारपारलाई सहज बनाउन उनीहरूलाई विद्यालयका शिक्षकहरुले हात समातेर तारिदिने गरेका छन्। 

खोलामा निर्माणधिन पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदा यस क्षेत्रका स्थानीय सास्ती भोग्न बाध्य भएका छन्। निर्माणधिन पक्की पुलको सुरुआती सम्झौता अवधि सकिदासम्म पुल सम्पन्न हुन ढिलाई हुँदा सर्वसाधारण र विद्यार्थीहरुले सास्ती खेप्न बाध्य परेको हो।

दैनिक रूपमा जोखिम मोलेर विद्यालय जानुपर्ने अवस्था रहेको राइजिङ नेपालको कक्षा १० मा अध्ययनरत विद्यार्थी  गौरब कार्कीले बताए । ‘विद्यालय आउन सधैँ यही बाटो ओहोरदोहोर गर्नुपर्छ,’ उनले भने, ‘पुल नभएकै कारण खोलामा पानीको मात्रा बढ्दा ५ मिनेटको बाटोमा ३–४ किलोमिटर घुमेर जानुपर्छ। ’ खोलाकै कारण कैयौं पटक कक्षामा उपस्थित हुन नसकेको उनले बताएका छन्। 

समयमै पुल निर्माण नहुँदा कति पटक बाढीले चप्पल बगाउने गरेको विद्यार्थीहरुको गुनासो छ। कहिँलेकाही त उनीहरुको कपडा र झोलासमेत भिजेका हुन्छन्।

राइजिङ नेपालमा पढ्नेमध्ये करिब ५० प्रतिशत विद्यार्थी खोला पार गरेर विद्यालय आउने गरेका छन्। उनीहरूलाई दैनिक विद्यालय जान र फर्किने क्रममा खोला तर्न समस्या हुने गरेको छ । विद्यालयका शिक्षक सुधिर दासले कट्नुमा पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको बताए । ‘पुल नहुँदा विद्यार्थीहरुले जोखिम मोलेर खोला पार गर्छन्, कहिलेकाहीं पढाइ शुरु भइसकेपछि मात्रै विद्यालयमा पुग्छन्’, उनले भने। 

खोलाकै कारण बर्खामा बालबालिकालाई विद्यालय पठाउन पनि समस्या हुने गरेको अभिभावकहरुले बताएका छन्। 

‘विद्यार्थीहरु मात्रै होइन्, यहाँका स्थानीयहरुले पनि बजार जाँदा, खेतिपाति गर्दा खोला तर्नुपर्ने बाध्यता छ,’ स्थानीय मनिस रायले भने ‘पुल नहुँदा दैनिक ओहोरदोहोर गर्न समस्या भइरहेको छ।’

रतुवामाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सोम कार्कीले केही दिन भित्रै अस्थायी बाँसको पुल निर्माण गरेर आवतजावतलाई सहज बनाउने बताए। होम पाइप राखेर अस्थायीरुपमा हामीले बाटो बनाइएको थियो। पानीको बहाव बढेर होम पाइप बगाएपछि समस्या उत्पन्न भएको अध्यक्ष कार्कीले बताएका छन्। 

सो पुल निर्माण गर्न सडक विभागबाट २०७५ सालमा स्काई वाइ मा जानकी कन्ट्रक्सन जनकपुरले ठेक्का लिएको थियो। २०७७ असारमा सक्ने गरी ३ करोड ३७ लाखमा ठेक्का लिइएको पुलको निर्माण समय सकिँदा समेत अझै सम्पन्न हुन सकेको छैन्।

प्रकाशित मिति: : 2022-06-28 18:49:00

प्रतिकृया दिनुहोस्