'सरकार उत्सव मनाउन खेतमा, किसान मल माग्दै सडकमा'

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस। १९औँ राष्ट्रिय धान दिवसको नारा छ, ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग।’ तर सरकारले तय गरेको यस नाराले किसानलाई भने छुन सकेको छैन। 

नाराले धान उत्पादन बढाएर बाहिरी देशबाट हुने आयातलाई रोक्नु पर्ने भन्ने सन्देश दिन्छ। तर यस सन्देशसँग किसानको दैनिकीमा भने कतै पनि मेल खाँदैन। राष्ट्रिय धान दिवस सरकारले अनुसन्धान परिषद् (नार्क) को खेतमा रोपाइँ गरेर मनाउँदै छ। 

सरकार खेतमा गएर रोपाईँ गरिरहँदा किसान भने खेतमा पुग्न सकेका छैनन्। सरकार दिवसलाई उत्सवका रुपमा मनाइँरहँदा किसान निराश हुँदै मल पाउनकै लागि संघर्ष गरिरहेका छन्। तर पनि मल पाउन सकिरहेका छैनन्। 

सरकारका मन्त्रीले कुरा एउटा, काम अर्को गर्ने गरेको गुनासो दाङ तुलसीपुर–६ का प्रेमबहादुर महतराको छ। तुलसीपुर स्थित एक सहकारीमा मल किन्नका लागि लाइनमा बसेका महतराले जग्गा बाँझो नराख्ने नीति ल्याउने सरकारले मल दिन भने नसकेको बताएका छन्। 

‘सरकारको जग्गा बाँझो नराख्ने नीति छ, तर काम भने अर्कै छ,’ उनले भने, ‘धान रोप्ने समय भयो मल छैन, यसरी कसरी जग्गा बाँझो हुँदैन?’ महतराले सरकारले किसानको मर्का बुझ्नु पर्नेमा उल्टै सास्ती दिइरहेको आरोप लगाएका छन्। 

यस्तै, घोराही–१४ का अर्का किसान कालु चौधरीले मल पाउन किनै सास्ती भइरहेको भन्दै धान उत्पादन घट्ने होकि भन्ने चिन्ता ब्यक्त गरेका छन्। घोराही स्थित साल्ट ट्रेडिङमा मल किन्नका लागि लाइनमा बसेका उनले भने, ‘यहाँ डिएपी मल आएको छ, त्यहि पनि अपुग छ। एक बोरा तीन÷चार जानले बाड्नु पर्छ रे। युरिया मल आएकै छैन। यस पटक मौसम राम्रो भए पनि धान उत्पादन घट्ने चिन्ता छ।’

यस्तै, घोराही–७ की हस्त कुमारी चौधरीले मल किन्नकै लागि दुई दिनसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताइन्। उनले रोप्नका लागि धानको ब्याड भइसकेको तर मल अभावमा रोपाइन गर्न नसकिएको जनाइन्। 

मल अभावमा माथिका तीन पात्र मात्र होइन। दाङ जिल्लाभरका किसान मर्कामा परेका छन्। हरेक सहकारीमा मल पाउनकै लागि किसानले हानथाप गर्नुपर्ने अवस्था छ। तर पनि आफूहले भनेको जति मल पाउन सकिरहेका छैनन्, किसान। 

दाङमा तीन दिन अघि डिएपी मल भित्रिएको थियो। त्यहि मल पनि पुग्ने अवस्थामा नरहेको साल्ट ट्रेडिङ घोराहीका प्रमुख रामबाबु गुप्ताले बताएका छन्। युरिया मल अझै आइनसकेको भन्दै उनले एक हप्ता भित्रैमा मल आउने जानकारी दिएका छन्। 

दाङमा १० प्रतिशत रोपाई

दाङमा असार १५ सम्म पनि १० प्रतिशत मात्रै रोपाई सकिएको छ। मल अभाव र कतिपय ठाउँमा सिंचाईको अभावका कारण १० प्रतिशत बढी रोपाई हुन नसकेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। 

यसवर्ष जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान  छ। जसमध्ये अहिले सम्म ३९ सय ४० हेक्टरमा मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ  पृथ्वीराज  लामिछानेले जानकारी दिएका छन्। उनका अनुसार बबई नदी किनारमा थोरै मात्र रोपाई भएपनि देउखुरी बाहेकका क्षेत्रमा रोपाई हुन नसकेको बताएका छन्। 

कुल क्षेत्रफलमध्ये रोपाई सकिएको १० प्रतिशत ३९ सय ४० हेक्टर सबै देउखुरी क्षेत्रको हो। दाङमा खेती हुने जमिन मध्ये ३० प्रतिशत क्षेत्रमा बाह्रै महिना प्रयाप्त सिँचाई हुने भएपनि अधिकांश क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ।

प्रकाशित मिति: : 2022-06-29 08:08:00

प्रतिकृया दिनुहोस्