बंगलादेश युद्धदेखि गोर्खाल्याण्ड आन्दोलनसम्म

असमको विदेशी हटाओ आन्दोलनकी पहिलो शहीद नेपाली मूलकी वैजयन्तीदेवी

मैले भाग-३ मा सन् १९७१ बंगलादेश युद्धसम्बन्धी सानो झलक लेखको माध्यमबाट दिएको थिएँ- के कारण भारतले पाकिस्तानसँग युद्ध गर्नु पऱ्यो? मूलभूत कारण हो- त्यस बेला बंगलादेशबाट असंख्य बङ्गाली मुसलमान शरणार्थीको रूपमा निर्बाध गति लिएर भारतमा प्रवेश गर्नु। विशेष भारतका तीनवटा राज्य त्रिपुरा, पश्चिम बंगाल अनि असममा।

हुन त बंगालादेशको युद्ध २६ मार्च १९७१ बाट थालिएको थियो, जब बंगाली मुसलमानहरूले पाकि़स्तानबाट मुक्ति पाउन भनेर उक्त दिनाङ्कमा 'मुक्ति बाहिनी' अर्थात् 'मुक्ति फौज' खडा गरेका थिए। यो मुक्ति बाहिनीले गोरिल्ला युद्ध तरिकाले पाकिस्तानी सेनासँग युद्ध गरेको पनि थियो तर यस युद्धलाई 'बंगलादेशको युद्ध' नभनेर  'बंगलादेश मुक्तिको युद्ध' अर्थात् Bangladesh Liberation War भन्न समीचीन ठहरिन्छ।

३ डिसम्बरदेखि १६ डिसम्बर १९७१ सम्म पूर्वपाकिस्तानको भूमिमा भारतीय सेनाले  पाकिस्तानी सेनासँग लडेको युद्धलाई विश्वले 'बंगलादेशको युद्ध' भनेर जान्दछ। यसै कारण यस युद्धलाई नै 'बंगलादेशको युद्ध-१९७१' भन्न उचित हुन्छ। यही युद्धमा पंक्तिकारले पनि भाग लिएको थियो, जुन कुरो मैले यही लेखको भाग-३ मा वर्णन गरिदिइसकेको छु। 

अब भाग-४ को कुरा-

सन् १९७९- बंगलादेश युद्ध भएको ८ वर्षपछि सन् १९७९ मा 'असम आन्दोलन' को श्रीगणेश भयो। श्रीगणेश गराउने संघ थियो- 'अखिल असम छात्र संघ'। छोटकरी नाम- 'आसु'..। अङ्ग्रेजीमा 'अल असम स्टुडेन्ट यूनियन' (AASU)।

श्रीगणेश गराउने कारण थियो– सन् १९७१ को बंगलादेशको युद्धले गर्दा बंगलादेशबाट शरणार्थी भएर आएका धेरै बंगालीहरूलाई असमबाट बंगलादेश भगाउनु, जो बंगलादेश बनिएपछि पनि धेरै बंगाली मुसनमानहरू असमबाट बंगलादेशमा फर्केका थिएनन्। 

'आसु' को आँखामा ती बंगाली मुसलमानहरू 'विदेशी' थिए। स्पष्ट छ- भारतको पूर्वाञ्चलमा 'असम आन्दोलन' ले गर्दा नै 'विदेशी हटाओ' भन्ने घटनाहरू रोपण हुन थाल्यो जो आजको तारिखसम्म पनि 'विदेशी हटाओ' भन्ने घटनादि बढिरहेका छन्। असममा त एनआरसीले मुख 'आँ' गरिरहेकै छ।

जतिबेला सन् १९७९ मा असममा बंगलादेशीहरूलाई हटाउन भनेर 'विदेशी हटाओ' को नाममा  'असम आन्दोलन' थालियो। त्यसबेला यस आन्दोलनलाई सफलीभूत पार्न भनेर असमका भारतीय नेपालीले पनि 'आसु'लाई सघाऊ पुराएको थियो। आन्दोलनमा भाग लिएका थिए।

भाग लिने हुँदा पुलिसको गोली लागेर यस आन्दोलनमा शहीद हुने प्रथम भारतीय नेपाली चेली नै थिइन्। असमिया थिइनँ। तिनको नाम हो- बैजयन्तीदेवी। तिनको नाम असमको इतिहासमा 'असम आन्दोलन' अन्तर्गत प्रथम शहीद भएकी भारतीय नेपाली भनेर लिखित छ, जो अमिट छ। कसैले मेटाएर मेटिँदैन।

सन् १९७९ को ७ अप्रिलमा नै असममा उग्रवादी संगठन 'अल असम लिबरेसन फ्रन्ट' जन्म भयो। छोटकरी नाम ALFA को जन्मदाता हुन्। परेश बरुवा अनि अरविन्द राजखोवा। यस संगठन जन्मनुको मूलभूत उद्देश्य थियो/ छ- असम राज्यलाई भारतबाट अलग्याएर स्वतन्त्र राष्ट्र बनाउनु तर जन्मेको बेला यस संगठनले आफ्नो गतिविधि त्यति देखाएन यसै कारण भारतका अधिकांश मानिसहरूलाई त्यसबेला थाहै हुन सकेन– असमको भूमिमा 'अल्फा' नामको उग्रवादी संगठन जन्मेको छ भनेर।

'असम आन्दोलन' ले भने आफ्नो गतिविधि देखाएको हुँदा 'विदेशी हटाओ' भन्ने 'असम आन्दोलन' को रोग मेघाल़यको राजधानी शिलोङमा पनि संक्रमित भयो सन् १९७९ मै। संक्रमित हुने घटना यो-हो!

विजयी दशमी सकिएर तिहारको बेला बंगाली समाजले काली माताको मूर्ति लाइटउमुखराको मूल बाटोमा ल्याइरहेको थियो। त्यसै बेलामा दुई जना खासी केटाले काली माताको मूर्तिको एउटा भाग टोडिदिए। टोडिदिनु हिन्दू धर्ममाथि कुठाराघात भएको सम्झी शिलोङका बंगाली समुदायले यसको विरोध गर्दा खासी समुदाय र बंगाली समुदायबीच वाद-विवाद भयो तर त्यसबेला त केही भएन।

त्यसको केही दिनपछि यो वादविवादले साम्प्रदायिक दङ्गाको रूप लियो। यसको परिणति केही बंगालीहरू मारिए। शिलोङमै शरणार्थी पनि भए। यो साम्प्रदायिक दङ्गा निकै महिनासम्म चल्यो। खासीहरूले यो साम्प्रदायिक दङ्गालाई पेट्रोल अनि आफूलाई देशलाई अर्थात् माचिस बनाए। फलस्वरूप शिलोङमा कर्फ्यू लाग्यो। शिलोङमा भएका  सेनाहरूको फ्लेग मार्च पनि शिलोङ शहरभरि हुन लाग्यो।

म त्यसबेला ५८ गोर्खा ट्रेनिङ सेन्टरको ड्यूटी कम्पनी, शिलोङमा थिएँ। यस कारण अरू गोर्खे सिपाहीहरूसँग यो दंगालाई नियन्त्रण गर्न भनेर उक्त सेन्टरको तर्फबाट म पनि खट्नुपर्ने स्थितिमा राखियो हवल्दार मेजरद्वारा। आफ्नो देशभित्र कुनै पनि दंगा हुन्छ। यस्तो दङ्गालाई नियन्त्रण गर्ने ड्यूटीलाई 'आईएस ड्युटी' भनिन्छ।

पूरा अर्थ 'इन्टर्नल सेक्युरिटी ड्युटी...' तर मलाई ड्यूटी गर्न जानु परेन। कारण म त्यस बेला क्याटेगोरी–सी  थिएँ।यो क्याटोगिरी सी हुने सिपाहीलाई यस्तो डियूटीमा जान दिइन्न। युद्धमा पनि पठाइन्न। 

म क्याटेगोरी–सी हुनुभन्दा अघि सन् १९७९ मा त्यस बेला टाउको दुखेकोले रोगोपचारका लागि पूर्वी कमान्ड अस्पताल, कोलकातामा पुगेर आफ्नो सेन्टर शिलोङ फर्केको थिएँ तर ६ महिनाका लागि उक्त क्याटोगिरी लिएर। जो मलाई उक्त अस्पतालको फौजी डाक्टरले प्रदान गरेको थियो।

त्यस अस्पतालमा पुगेर उपचार गर्दा राम्रो उपचार गर्नको साटो जीवनभरि पिठ्यूँ दुख्ने पीडा त्यहाँका फौजी डाक्टरले बरु मलाई दिएका थिए, जुन पीडा अद्यपर्यन्त मसँग मेरो साथी भएर बसेको  छ। यसबारे मैले आफ्नो आत्मजीवनी 'कारगिल युद्ध-१९९९' मा प्रकाश पारिदिएको छु।

मलाई हवल्दार मेजरले खट्नुपर्ने स्थितिमा  राखेको कारण के थियो भने। कतै रहल सिपाहीको आवश्यकता परे उक्त दङ्गालाई नियन्त्रण गर्न अरू सिपाहीसँग मलाई पनि पठाउनुपर्छ कि नपुगेको खण्डमा भनेर। केही महिनापछि उक्त दङ्गा नियन्त्रणमा आयो।

सन् १९८० -  सुवास घिसिङले यही वर्ष जीएनएलएफ अर्थात् 'गोर्खा नेशनल लिवरेसन फ्रन्ट' जन्माए।

उता असममा  'असम आन्दोलन' ले भने उग्र रूप लिइरहेको थियो। रोकिने नाम लिइरहेको थिएन तर पनि यो आन्दोलनको बेला घिसिङले जन्माएर पनि 'गोर्खाल्याण्डको आन्दोलन' गरेनन्। कारण उनले आन्दोलन गर्ने सूत्र नभेटेकाले। नभेटिनुको कारण थियो- असममा त्यस बेला नेपालीभाषीहरू त्यति उत्पीडित भएर असमबाट 'विदेशी' को नाममा उच्छेद गरिएको संख्या कम्ति देखिएकोले यद्यपि असम आन्दोलनले अपरोक्ष रूपमा असमका नेपालीभाषीहरूलाई नतर्साएको चाहिँ होइन !

१८ फरवरी १९८३ - यही दिनाङ्कमा असमको नेली भन्ने ठाउँमा डरलाग्दो मानव-संहार भयो, जसले गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीले असम आन्दोलनलाई दमन गर्न भनेर अहम् भूमिका खेलिन्। अन्तत़: यस आन्दोलनलाई सन् १९८४ को पहिलो चरणमा आइपुग्दा फेरि नउठ्ने गरी दमन गरिदिइसकेकी थिइन् तर यो तिनको दुर्भाग्य थियो- सन् १९८४ को ३१ अक्टुबरमा तिनको हत्या भयो।

यदि, इन्दिरा गान्धीको हत्या नभएको भए 'असम आन्दोलन' बीचैमा तुहिन्थ्यो। 'गोर्खाल्याण्डको आन्दोलन' हुने थिएन।

प्रकाशित मिति: : 2021-02-23 08:48:00

प्रतिकृया दिनुहोस्