बाढीका कारण झापाका विद्यालयहरू बन्द

लगातारको वर्षाका कारण विद्यालय सञ्चालनमा कठिनाई भएपछि झापाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयहरुले पठनपाठन स्थागित गरेका छन्।

कतिपय पालिकामा रहेका सामुदायिक विद्यालयहरुमा आसपास क्षेत्रका बाढी विस्थापितहरुलाई अस्थाई बसोबासको बन्दोबस्ती मिलाइएको छ।

शिवसताक्षी नगरपालिकाले पालिकाअन्तर्गतका विद्यालयहरु बन्द गर्न सूचित गरेको छ भने दमक नगरपालिकाले अवस्था हेरि विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने निर्णय लिने अधिकार सम्बन्धित विद्यालय प्रशासनलाई नै दिएको छ।

दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले सबै विद्यालयको भौगोलिक अवस्था एकै किसिमको नभएकाले आवश्यकता र परिस्थितिअनुसार निर्णय लिनु भनिएको जानकारी दिए।

अविरल वर्षाका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या र सबै ठाउँमा विद्यालयको बस जान नसक्ने भएकाले शिवसताक्षी नगरले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

विद्यायलसम्म पनि वर्षाका कारण आउन विद्यार्थीहरुलाई कठिनाई भएकाले १५ गतेबाट १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। विभिन्न विद्यालयहरुमा परीक्षा चलिरहेकाले आज हुने परीक्षा आइतबार हुनेछ।

शिवसताक्षीका दक्षिणी क्षेत्र शिवगञ्ज, पाँचगाछी, जनतालागयतका क्षेत्रहरु डुवानमा परेका छन्। केही विद्यालयहरुमा बाढीपडितलाई सुरक्षित गरी राखिएको छ।

गौरीगञ्जका कतिपय सामुदायिक विद्यालयहरुको पठनपाठन रोकिएको छ भने वडा नं १ स्थित रामजानकी आधारभूत विद्यालय र वडा नं २ स्थित शिशुकल्याण आधारभूत विद्यालयमा बाढी पीडितहरुलाई मंगलबार रातीदेखिनै बसोबासको स्थान तोकिएको छ।

गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले गाउँपालिकाबाट घोषित रुपमै कुनै पनि विद्यालय अहिलेसम्म बन्द नगरिएको बताइन्।

‘विस्थापितहरुलाई राखिएका स्कूलको पठनपाठन यसैपनि प्रभावित हुने नै भयो’, उपाध्यक्ष न्यौपानेले भनिन्। गौरादहको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले मंगलबार नै अविरल बर्षाका कारण पठनपाठन प्रभावित हुन पुगेको सूचना गरिसकेको छ।

प्रकाशित मिति: : 2022-06-29 11:35:00

प्रतिकृया दिनुहोस्