जुम्लाकाे पातारासी गाउँपालिकामा पूर्णखोप सुनिश्चिता

जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको छ। विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई सोमबार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चता पालिका घोषणा गरिएको हो।

पातारासी गाउँपालिकाका वडा नम्बर १ देखि ७ सम्मका जन्मकाे दिनदेखि १ वर्षसम्मकाे ३ सय ८९ बालबालिका र १ देखि २ वर्षसम्मका ३ सय ८३ जना बालबालिका गरी जम्मा ७ सय ७५ बालबालिकालाई बीसीजीदेखि टाईफाईडसम्मका १२ प्रकारका सबै खोप लगाइएपछि पूर्ण खोपको पालिका घोषित भएको हो।

कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा एकवर्षपछि धकेलिए पनि सबै सूचक पुरा गरेकाे हुनाले पातारासीले पूर्ण खोप सूनिश्चित पालिका घोषणा गर्न सफल भएको पातारासीका स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए।

'पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मीको विशेष भुमिका रहेको थियो,' उनले भने, 'जसअनुसार ७ वडा उत्कृष्ट ७ जना स्वयमसेविका, स्वास्थ्यकर्मीलाई नगद सहित सम्मान गरिएको छ।'

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्ण खोप पालिका घोषणा हुनु गौरबको विषय भएको बताए।

'यहाँका सबै बालबालिका रोग मुक्त र खोप युक्त भएको सन्देश फैलिएको छ,' उनले भने, 'अन्य पालिकाले पनि पूर्ण खोप अभियान चलाउन आवश्यक छ। स्वास्थ्यमा पातरासीले मारेको फड्को प्रशांसा योग्य ठानेकाे छु।'

दिगो विकासको मुख्य सूचक मानिने पूर्ण खोप अभियानमा पातारासी सफल भएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताइन्। उनले भनिन्, 'बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभई पोषणदेखि पूर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि उल्लेखीय विकास मानिन्छ।'

२०३० नेपालाई पुर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इट्टा थपेको छ गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए।

'दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ,' उनले भने, 'पोषणा स्थिती सुधारदेखि औषधी आपूर्ति, नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढंगमा अघि बढ्ने छ।'

घोषणा गर्नु ठूलो कुरा नभई प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले बताए। उनले थपे, 'विगत दुई वर्षको मेहनतले पूर्ण खोप पालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवाले साथ दिन जुरुरी छ।'

बालबालिकाको नैसर्गिक अधिकार भित्र रहेको पूर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटा बताउँछन्।

उनकाअनुसार पातारासी अझै शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको छ।

पालिकादेखि प्रदेश शिक्षा स्वास्थ्यको विकासमा जोड दिनुपर्ने नागरिक अगुवा तथा राजनीतिक दलको सुझाब छ।

प्रकाशित मिति: : 2022-06-30 06:44:00

प्रतिकृया दिनुहोस्