अनुदानको मल किसानलाई नदिएर व्यापारीलाई बिक्री !

किसानलाई अनुदानमा वितरण गर्न दिएको मल व्यापारीलाई बिक्री गरेको पाइएपछि रोल्पाको एउटा एग्रोभेटमा प्रशासनले छापा मारेको छ।

साल्ट ट्रेडिङ कर्पाेरेसन र कृषि सामाग्री केन्द्रबाट रोल्पाका किसानलाई वितरण गर्ने ल्याएको मल दाङको व्यापारीलाई बिक्री गरेको पाइएपछि प्रशासनले सदरमुकाम लिबाङस्थित स्वर्गद्वारी एग्रोभेट सेन्टरमा छापा मारेको हो।

साल्ट ट्रेडिङबाट केही दिनअघि लिएको १०० बोरा मल रोल्पामा वितरण नगरी दाङ लैजाँदै गर्दा प्रशासनले नियन्त्रण लिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन्।

‘रोल्पा नगरपालिकाका किसानलाई वितरण गर्ने भनी ल्याइएको मल किसानलाई वितरण नगरेको पाइएको छ’, प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘गोदाममा ४ बोरा मात्र मल छ, किसानलाई बेचेको बिल पनि राखेको पाइएन।’

दाङ लैजाँदै गरेको मल प्रशासनले सात्दोबाटोबाट नियन्त्रणमा लिई छानविन सुरु गरेको छ।

अनुदानमा लिएको मल गोदाममा नभेटिएपछि एग्रोभेटलाई कारबाही गर्ने समेत प्रशासनले जनाएको छ।

उक्त एग्रोभेटले रोल्पा नगरपालिकाको सिफारिसमा किसानलाई अनुदानको मल उपलब्ध गराउने जिम्मा पाएको थियो।

प्रकाशित मिति: : 2022-06-30 21:31:00

प्रतिकृया दिनुहोस्