मेरो प्रिय नाटक जो हरायो

शिलापत्र

खगेन्द्र संग्राैला

मेरो लेखकीय परिचय दिँदा अन्य बहुविध कारहरूका फुँदा त गाँसिन्छन् नै, यदाकदा ‘नाटककार’को फुँदा पनि गाँसिन्छ ।

अर्धबेरोजगार अल्छेहरूको यो फुर्सदिलो मुलुकका मनकारीजनको मप्रति यो कत्रो उदारता ! बिडम्बनावश, यो अविचारित उदारता अर्थवाहक विशेषणको सरासर दुरुपयोग हो । र, हो यो जीवनका मूल्यवान् भावहरू सम्प्रेषण गर्ने खुबी भएको शब्दको फुर्मासी खर्च पनि । लेखिने एकएक शब्दलाई दुर्लभ पैसो पर्दो हो त उदारताको यस्तो प्रदर्शन वा शब्दको यो फुर्मासी खर्च किमार्थ नगरिँदो हो ।

जे होस्, म नाटककार भनिइनु बेकारको कार हो । हुनलाई लाल विद्यार्थीकालमा मैले पनि नाटक लेखिनटोपलेको होइन । तर, ती कथित् नाटक गम्भीर साधनाका गम्भीर उपज होइनन् । उष्ण आवेगी वाम विद्यार्थीहरू खासखास अवसरमा देखाउन मसँग नाटक लेखिमाग्थे । वचन हार्न नसक्दा म केवल तिनको गर्जो टारिदिन यसो ख्यासख्यास केही कोरिटोपल्थेँ । ती रचनागर्भमा चिन्तन, कथ्य र शिल्पको मनग्य परिपाक नपाएका कोरा मौसमी नाटक थिए । आजको आजै हत्तपत्त लेखिमाग्यो, ख्यालख्यालमै भोलि देखायो, पर्सि फुस्स बिर्सियो ।

 

प्रकाशित मिति: : 2022-07-01 14:43:00

प्रतिकृया दिनुहोस्