खोटाङमा गायन, नृत्य र सांस्कृतिक प्रतिभा प्रतियोगिताको तयारी 

खोटाङ कलाकार समाज, काठमाडाैंले एकैसाथ गायन, नृत्य र साँस्कृतिक प्रतिभा प्रतियोगीताको तयारी गरेको छ।

समाजले शुक्रबार दिक्तेल बजारमा पत्रकार सम्मलेन गर्दै आगामी माघ-फागुनमा खोटाङ गायन प्रतिभा, खोटाङ नृत्य प्रतिभा र खोटाङ प्रतिभा २०७९ प्रतियोगीताको तयारी गरेको जानकारी दिएको हो।

खोटाङको गाउँ बस्ती, टोलटोलमा लुकेर रहेका गायन, नृत्य र स्थानीय सांस्कृतिक प्रतिभाहरूलाई मध्यनजर गर्दै गायन, नृत्य र सांस्कृतिक प्रतिभा प्रतियोगिताको तयारी गरिएको खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए। 

प्रथम चरणमा खोटाङका १० वटै स्थानीय तहमा पालिकास्तरीय र पालिकास्तरीय प्रतियागिताबाट छानिएका तीन विद्याका उत्कृष्ट ३० प्रतियोगीबिचमा अन्तरपालिकास्तरीय प्रतिस्पर्धा गराएर जिल्लास्तरीय प्रतिभा घोषणाको तयारी गरिएको समाजले जनाएको छ। उत्कृष्ट घोषित प्रतिभालाई आफ्नो कलालाई व्यावसायिकता दिनुका साथै समाज र जिल्लाप्रति उत्तरदायी र प्रभावकारी भूमिका निर्वाहका लागि प्रोत्साहित गरिने अध्यक्ष राईले जानकारी दिए। समाजले जिल्लाका स्थानीय तहसँग हातेमालो गर्दै गायन, नृत्य र प्रतिभा प्रतियोगीता गर्न लागेको हो। 

पालिकास्तरिय गायन र नृत्य प्रतियोगीताका प्रथम, दोस्राे र तेस्राे हुने प्रतियोगीलाई क्रमशः ३० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने छ। एकजनालाई ३० हजारको प्रतिभा पुरस्कार प्रदान गरिने समाजले जनाएको छ।

यस्तै, जिल्लास्तरीय गायन र नृत्य प्रतियोगीताका प्रथम, दोस्राे र तेस्राे र सान्त्वना स्थान प्राप्त गर्ने प्रतिभालाई क्रमशः दुई लाख, एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिने समाजका महासचिव धर्मराज पोखरेलले बताए। यस्तै एक लाख राशिको खोटाङ प्रतिभा पुरस्कार एकजनालाई प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

खोटाङको प्रत्येक गाउँ, नगर र बस्तीमा लुकेर रहेको उत्कृष्ट प्रतिभालाई खोजेर उनीहरुको कलालाई जिल्ला र देशव्यपी रूपमा चिनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितालाई कम्तीमा दुई वर्षको अवधिमा निरन्तरता दिइने जनाइएको छ। 

यस्तै, समाजले आगामी १८ भदौमा काठमाडाैंमा खोटाङ विशेष सांगीतिक कार्यक्रमको तयारी गरेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा गायीका कला राई, बिक्रम राई, मीना राई, अनिल राई, गीतकार भुवन पारुहाङलगायतको उपस्थिति थियो। जिल्लाका स्थापितदेखि संघर्षरत कलाकारलाई एउटै छानामुनि गोलबद्ध गरेर संस्थागत रूपमा योगदान दिन र लक्ष्य प्राप्ति गर्ने उद्देश्य बोकेर २०७७ असोजमा कलाकार समाजको स्थापना गरिएको हो। 

प्रकाशित मिति: : 2022-07-01 15:01:00

प्रतिकृया दिनुहोस्