...त्यसपछि मन थाम्न सकिनँ अङ्गालाे हालेँ

कमल प्रभात

काठमाडाैं
Breaknlinks
Breaknlinks

मेरा केही प्रेमिकामध्ये किताब पनि एक हो। जसलाई मैलै अत्याधिक प्रेम गर्छु, सँगै राख्छु, हरेक पटक अङ्गाल्छु। किताबसँगको मेरो साइनाे बच्चैदेखिको हो, जस्तो तपाईंको थियो। तर, किताबसँग तपाईंकाे जसरी प्रेम गाँसियो मेरो भने त्योभन्दा बिल्कुल फरक छ। आज म मेरो जीवनमा किताबसँग गाँसिएका केही घटना सुनाउँछु:

पहिलाे प्रेमिका

म स्कुल जान सुरु गरेकाे जमानामा सरकारले नि:शुल्क किताब बाँढ्न सुरु गरेकाे थियाे। स्कुल भर्ना भयाे कि हातमा किताब आइहल्थ्याे। सायद मैले पनि त्यसरी नै हात पारेँ। बाल्यकामा पढाइमा त्यस्ताे रूचि राख्ने विद्यार्थी हाेइन म, स्कुल जानुपर्छ भनेर घरमा कति बहाना बनाइयाे–बनाइयाे।यदि घरबाट स्कुल जानै पर्‍याे भने पनि बाटाेबाटै कति हराइयाे–हराइयाे। तर, स्कुल जना मन नलागे पनि मेराे किताबसँग खुब प्रेम थियाे, जाद्रै पढ्थेँ।

सरकारी स्कुलका हामीले पढ्ने किताब सादा हुन्थे। त्यसमाथि चित्र कम। तर, बाेर्डिङ पढ्ने साथीहरूका किताब भने रङ्गिन हुन्थे, धेरै चित्र हुन्थे। मलाई पनि त्यस्तै किताब मन पर्थ्याे। तर, हामीले बाेर्डिङकाे किताब छुन पाउने भनेकाे बालीघरेका छाेराेछाेरी पढेर सकेपछि मात्रै हाे। उनीहरूले फालेका किताब मैले धेरै पटक अङ्गालेकाे छु।

त्यसबाहेक माओवादी जनयुद्धमा लागेका गाउँका दाइहरूले घरमा ल्याएर राखेका किताबप्रति पनि मेराे प्रेम थियाे। बाल्यकामै मैले क्रान्तिकारी किताबहरू धेरै पढेँ। त्यही भएर हाेला मलाई किताब पढ्न र बुझ्न जान्ने भएदेखि स्कुलका किताब मनै परेन। मेराे हजुरबाले जीवनमा कहिल्यै पनि स्कुलकाे आंगनमा पाइला टेक्नुभएन, तर लाग्छ गाउँमा सबैभन्दा बढी किताब पढ्ने मेराे हजुरबा हाे। हजुरबामा धेरै ज्ञान थियाे, नजानेका कुरा साेध्न गाउँलेहरू आइरन्थे।

बाल्यकालमा हामीले उचाल्न नसक्ने किताब हजुरबाले पढ्नुहुन्थ्याे। हजुरबाका रूचिका किताब धार्मिक र सांस्कृतिक हुन्। साँझकाे खानापछि मध्यरातसम्म किताब पढ्ने बानी पुरानै हाे। हजुरबाले मध्यरातसम्म बसेर किताब पढ्दा हामी पनि छेउमा बसेर सुन्थ्याैँ। त्यसकै प्रभाव हाेला स्कुल नगए पनि मलाई पढ्न अल्छी कहिल्यै लागेन। त्यसमाथि बुबा पनि हजुरबाकै लाइनमा हुनुहुन्थ्याे। स्कुल जानबाट बञ्चित हुनुभयाे, घरमै पढ्नुभयाे।

याे त अलिकति बाल्यकालकाे स्मरण मात्रै गरेकाे हाे। सुनाउनुपर्ने घटना अब सुनाउँछु।

म त्यतिबेला त्यस्तै कक्षा सातमा पढ्थेँ, जतिबेला हामीलाई पढाउने एक जना मिसले किताब निकाल्नुभयाे। आहा! हामीलाई पढाउने मिसले किताब निकाल्नु भयाे रे! त्याेभन्दा ठूलाे खुसी अरू के हुन सक्छ। काठमाडाैँ बसेर पिएचडी गरिरहनु भएकी मिसले किताब लिएर हाम्राे स्कुलमा आउनुभयाे।

उहाँले आफ्नाे किताब हाम्राे कक्षाकाे सबैभन्दा धेरै पढ्ने र जान्ने विद्यार्थीलाई दिनुभयाे। मैले पाउने कुरै भएन, म पढाइमा कमजाेर विद्यार्थी थिएँ। तर, मलाई त्याे किताब पढ्ने यति चाहना थियाे कि त्यसकाे तुलना गर्न सकिने कुनै चिज छैन। त्यतिबेला त्याे किताबप्रति मेराे प्रेम र आकर्षण यति धेरै थियाे कि सायद मैले पहिलाे प्रेमिकालाई पनि त्यति धेरै चाहेकाे थिइनँ। त्यसपछि मैले किताबहरूलाई यति धेरै प्रेम गर्न थालेँकी केही प्रेमिकामध्ये किताब पनि एउटी हाे।

किताबका हजाराैँ अक्षर चिन्ने ती मिसले आफ्नै कक्षाका विद्यार्थीकाे मन चिन्न सक्नुभएन। क्षमता चिन्न सक्नुभएन। त्यतिबेला औधी चाहेर पनि त्याे किताब पढ्न नपाएकाे म मलाई पछुताे छ। तर, किताबप्रतिकाे मेराे चाहना त्यहीँबाट प्रकट भएकाे हाे। म पनि किताबलाई त्यति धेरै माया गर्ने रहिछु भन्ने मैले त्यही घटनाबाट थाहा पाएकाे हुँ।

चाहेकाे छुन नपाएकाे

हुन त संसारमा कति धेरै किताब छन्, जुन मैले चाहेर पनि पढ्न सकेकाे छैन। कति समय नमिलेर, कति किन्न नसकेर र कति नबुझेर पढ्न नपाएकाे हाे।

यहाँ मैले चाहेर पनि छुन नपाएकाे किताबकाे घटना सुनाउँछु।

वि.सं.२०७५ काे मध्यतिरकाे कुरा हाे। काठमाडाैँकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा किताब विमाेचनकाे कार्यक्रम थियाे। त्यतिबेला जनयुद्धमा घाइते भएर कष्टकर जीवन बाँचिरहेका केही पात्रलाई समेटेर उक्त किताब लेखिएकाे थियाे। किताब विमाेचन कार्यक्रम जारी थियाे, प्रमुख अतिथि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए।

प्रचण्डले किताब विमाेचन गरे। त्यहाँ उपस्थितमध्ये केही विशिष्ठ अतिथिलाई आयाेजकले किताब बाँढ्याे। किताब पाएका एक जना विशिष्ठ अतिथि मेराे छेउमा आएर बसे। केही छिनमा ती अतिथि त्याे किताब मेराे छेउमा छाडेर बाहिरिए। म त्याे किताब पढ्न चाहन्थेँ तर किन्ने पैसा थिएन। ती अतिथिले भने पाएकाे किताब पनि पढ्न चाहेनन्, त्यहीँ छाेडेर गए।

सुरुमा विशिष्ठ अतिथिलाई किताब बाँढ्दा मलाई पनि दिए हुथ्याे भन्ने लागेकाे थियाे तर असम्भव साेच थियाे। त्यसपछि जब ती अतिथिले किताबलाई बेवास्ता गरेर मेराे छेउमा छाेडेकाे त्याे किताब आफूले नै राख्ने साेच मेराे दिमागमा पलायाे। तर, आँट भने आएन। त्याे किताब पछि आयाेजकले नै राख्याे। त्याे किताब पढ्ने यति धेरै चाहना थियाे तर पाइएन। घटना र चाहना पनि कस्ताे हाे, अहिले सम्झँदा आफैँलाई हाँसाे लाग्छ।

रिसकाे ओखती

मैले कक्षा १२ काे परीक्षा दिएपछि हाे, विद्यालयकाे काेर्सभन्दा बाहिरका किताब अलिक बढी पढ्न थालेकाे। मैले पहिलाे पटक पढेकाे उपन्यास ‘कराेडाैँ कस्तुरी’ हाे। पहिलाे पटक नै गतिलाे किताब हात परेछ, त्यसपछि किताब पढ्ने बानी पर्‍याे। मानिसका किताब पढ्ने समय, तरिका, परिस्थिति र मूड अनेकाैँ हुन्छन्। मेराे भने किताब पढ्ने, मूड चल्ने परिस्थिति अलि भिन्न छ।

जब मेराे घरमा श्रीमतीसँग वा अरू सदस्यसँग झगडा हुन्छ, तब ममा किताब पढ्ने चाहना निक्कै बढ्छ। अब त मेराे बानी नै भइसक्याे काेहीसँग झगडा भयाे भने किताब बाेकेर एकान्तामा जाने, मज्जाले पढ्ने। त्यसरी किताब पढ्दा मेराे दिमाग जति धेरै तातेकाे भएपनि सित्तल हुन्छ।

अब यस्ताे बानी कसरी बस्याे एउटा घटना सुनाउँछु।

एकपटक सामान्य विषयमा घर (अर्घाखाँची) मा भएकाे बेला श्रीमतीसँग झगडा भयाे। त्यसपछि म रिसकाे झाेँकमा घर छाडेर हिँडेँ। रिसले चुर भएकाे म केही नसाेची बुटवल पुगेँ। त्यतिबेलासम्म पनि मेराे रिस मरेकाे थिएन। त्यही पनि बसपार्क छेउकाे एउटा पुस्तक पसलमा गएर ‘एक सर्काे माया’ नामकाे किताब किनेँ, अनि त्यतै बसेर त्याे किताब पढेँ। त्यतिबेला त्याे किताब पढ्दा मलाई यति आनन्द लागेकाे थियाे कि त्यसकाे वर्णन अहिले गर्न सक्दिनँ। त्यसयता रिस उठ्याे भने किताब पढ्ने मेराे बानी स्थायी बन्याे।

त्यसाे त किताब पढ्न वा अध्ययन गर्न यस्ता कुनै कारण चाहिँदैनन्, हुनुपर्छ भन्ने पनि छैन। याे मानव जीवनकाे अनिर्वाय कुरा हाे। तर, यससँग गाँसिएका घटनाले धेरै कुराहरू सिकाइरहेकाे हुन्छ। नयाँ–नयाँ मूडहरू सिर्जना गरिरहेकाे हुन्छ। फरक कुराकाे अनुभूति दिइरहेकाे हुन्छ। जुन अनुभूति मैले गरेँ। यसरी आफूलाई राेचक र फरक लागेकाे भएर याे अनुभूति यहाँ प्रस्तुत गरेकाे हुँ। सायद, यसले तपाईंमा पनि त्यस्ता कुनै अनुभूतिलाई पुनर्जागृति गर्‍याे हाेला। यदि तपाईंसँग पनि यस्ता अनुभूति छन् भने बाँढ्नुहाेला। जसले आफैंलाई आनन्द दिन्छ।

प्रकाशित मिति: : 2022-07-02 23:10:00

प्रतिकृया दिनुहोस्