प्रदेश १ सरकारले संसदीय समितिका निर्देशनहरू पालना नगरेको आरोप

विराटनगर प्रदेशसभाको समयावधि सकिनै लाग्दा संसदहरुले आ–आफ्नो अनुभव सुनाएका छन्। संसदीय पत्रकार मञ्च प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रमा सरकारले संसदीय समितिका निर्देशनहरू पालना नगरेको सभापतिहरूले गुनासो गरेका छन्।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सुरुवाती दिनमा आफूले मैनवत्ती बालेर पदभार ग्रहण गरेको अनुभव सुनाए।

उनले केही पनि संरचना विना सुरु गरिएको प्रदेशको अभ्यास विस्तारै लयमा आएको बताए। उनले भने,‘विस्तारै अघि बढ्दै छ, अब केही अगाडि बढ्छ।’

संसदीय पत्रकार मञ्चले प्रदेशमा संसदीय पत्रकारिता चुनौती र सहकार्य विषयमा गरेको कार्यक्रममा संसदको अभ्यास र संसदीय समितिका भोगाइको विषयमा पनि चर्चा गरिएको थियो।

नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशमा सबै केन्द्रले आफ्नो नीति लागु गरको बताए। उनले अहिलेको प्रदेशलाई केन्द्रले पार्टीको भातृ संगठन जस्तो बनाएको बताए। ‘यस्तो भएको छ कि नेपाली कांग्रेसले नेविसंघ चलाए जस्तो प्रदेशलाई केन्द्रले चलाएको छ,’ उनले भने।

प्रशिक्षण अनुभव र केही नहुँदा साथै दलहरुको किचलोबीच पनि प्रदेश सफल भएको र यसलाई अझै पछिल्ला दिनमा अगाडी बढाउन अहिलेको अनुभव प्रभावकारी हुने उनले बताए।

नेकपा (एमाले)की उपनेता यशोधा अधिकारीले विविध समस्याबीच प्रदेश अगाडि बढीरहेको बताइन्। पहिलेभन्दा अहिले प्रदेशमा धेरै सुधार हुँदै गएको उनको अनुभव छ।

प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवाले सुरुवाती समयमा नयाँ संरचना भएकाले आफूहरु अलमलमा परेको बताए। साँवाले प्रदेश १ सरकारमा निर्माण भएका समितिहरु जुन ढंगले सक्रिय हुनुपर्ने थियो, त्यो अनुसार हुन नसकेको पनि बताए।

संसदीय समितिले दिएको निर्देशन प्रदेश सरकारले पालना नगरेका कारण समितिहरु प्रभावकारी बन्न नसकेको उनीहरुले बताएका छन्।

पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले संसदीय पत्रकार मञ्चको औचित्यमाथि कार्यक्रममा प्रकाश पारेका थिए।

कार्यक्रममा नेकपा (एमाले)का सचेतक विमल कार्की, पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, पत्रकार महासंघ प्रदेश १ का निवर्तमान अध्यक्ष विक्रम लुइटेल, वरिष्ठ पत्रकार अनन्तराज न्यौपाने लगायतले मन्तव्य राखेका थिए।

प्रकाशित मिति: : 2022-07-03 17:00:00

प्रतिकृया दिनुहोस्