रोल्पा बन्यो ६४औं पूर्ण खोप सुनिश्चित जिल्ला

रोल्पाका ४ हजार ४ सय ९९ बालबालिकाले पूर्ण खोप लगाएसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।

राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएको सुनिश्चित भएसँगै बुधबार लुम्बिनी प्रदेश सांसद् दिपेन्द्रकुमार पुनले पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन्।

जिल्लालाई पूर्ण खोप सुनिश्चित गराउन दातृ निकायको महत्वपूर्ण भूमिका रहेको सांसद् पुनले बताए। मापदण्ड पूरा गरेसँगै रोल्पालाई नेपालको ६४ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा भएको घोषणा समारोहमा सापकोटाले नेपालको संविधानले नै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गरेकाले खोप सेवा पनि त्यसमा पर्ने उल्लेख गरे।

हालसम्म राष्ट्रिय खोप तालिकामा समावेश १३ वटा खोप जन्मेदेखि १५ महिना भित्रका सबै बालबालिकाले पूर्ण रुपमा लगाएकाका छन्।

यदि छुटेको भए स्थानीय सरकारसँगको समन्वयमा तत्काल खोप लगाउने सुनिश्चितता गरिएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलले प्रस्तुत गरेको पूर्ण खोप सुनिश्चितता पत्रमा उल्लेख छ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये खोप पाउने बालबालिकाहरु सबैभन्दा धेरै सुनिलस्मृति गाउँपालिकामा ६ सय २३ र सबैभन्दा कम थबाङ गाउँपालिकामा १ सय ९५ रहेका छन्।

पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी, स्वयम्सेविका, आमा समूहहरु र सहयोग गर्ने दातृ निकायलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: : 2022-07-14 11:08:00

प्रतिकृया दिनुहोस्