मोरङ कारागारमा फैलियो कोरोना : एकको मृत्यु, १८ जना अस्पताल भर्ना

जिल्ला कारागार मोरङमा ज्वरोको प्रकोप देखिएका एक कैदीको मृत्यु भएको छ। ज्वरोका कारण मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको मृत्यु भएको हो।

मृतकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। अत्यधिक ज्वरो आएर उपचारका लागि भर्ना गरिएका कैदीबन्दीहरुको एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको हो। बिरामी परेका कैदीहरुको कोसी अस्पतालमा शुक्रबार बिहान एन्टिजेन परीक्षण गरिएको थियो।

विराटनगर-८ मा रहेको कारागार प्रशासनले अत्यधिक ज्वरो आएपछि १८ जना कैदीबन्दीलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेको थियो। बिरामी भएर भर्ना गरेकामध्ये १६ जनाको एन्टिजेन पोजिटिभ र २ जनाको नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए।

ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि नेपाले कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए।अचानक १०४ डिग्री ज्वरो आएपछि उनलाई उपचारका लागि बिहीबार नै अस्पताल भर्ना गरिएको थियो।

आईसीयूमा राखेर उपचार भइरहेकोमा दिउँसो साढे १ बजेतिर मृत्यु भएको प्रहरी जनाएको छ। प्रहरीका अनुसार शव परिवारका सदस्यले बुझेर लगिसकेका छन्।

प्रकाशित मिति: : 2022-07-15 11:58:00

प्रतिकृया दिनुहोस्