अनिल सिंहले ल्याए देउडा गीत ‘रेलिमोई’

आइ लभ यु, प्रेमपत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेलगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याएका छन्। आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उनले गीत ल्याएका हुन्।  

विशेष गरी पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका छन्। उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयं फिचर्ड पनि छन्।

सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ। यो देउडा गीत हो। उनी सप्तरंग नामक सांगीतिक टुरमा रहँदा उनलाई देउडा गीत गाउनुपर्यो भन्दै प्रस्ताव आएको थियो। त्यहाँ रिदमसँग यशराजमार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन्। गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन्।

गीतको भिडियोमा सिजिआइ, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो। 

झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए। अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमी छैन। तत्कालीन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए।

आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुट्टै फ्यान फ्लोअर्स छन्। यिनै अनिल केही समयको तयारीपश्चात गीतसंगीतमा फर्किँदैछन्। केही समय संगीतबाट विश्रामाझैँ लिएर कन्सर्टमा केन्द्रित भएका अनिलले ‘रेलिमोई’ सँगै आफ्नो सक्रियता बढाएका छन्। उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिट्टै दर्शकसमक्ष ल्याउदै छन्। उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन्। 

यसपटक उनले आफ्नै हित एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन्। ‘गीतसंगीतसँगै अन्य काम पनि छन्। सबै योजनाअनुसार नै अगाडि आउने छन्,’ अनिलले भने। उनले गीतसंगीतको बदलिँदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेकोसमेत बताए। 

उनले आफ्नो हिट गीत इञ्जिन गाडीमा र आइ लभ युलाई कन्सर्टमा मात्र प्रस्तुत गर्ने भएका छन्। कन्सर्टमा गीत सुनिएपछि मात्र भिडियोमार्फत गीत सार्वजनिक गरिने छ। ‘इञ्जिन गाडीमा पार्ट २ टुर’ मा उनीसँगै ब्यान्डसमेत रहनेछन्। उनीहरुले उपत्यकाको भिडभाड हुने क्लबहरुमा कन्सर्ट गर्नेछन्। उनको ब्यान्डमा भोकलिस्ट अनिल स्वयं छन् भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ, ड्रमरमा प्रज्वल निर्वाण छन्। 

गीत सुन्न आइपुगेका दर्शक तथा श्रोतालाई रियालिटी फिल्म होस् भनेर उनले ब्यान्डसँग कन्सर्ट गर्न लागेका हुन्। उनी युरोप र दुबईमा छिट्टै कन्सर्ट गर्दैछन् भने क्यानडा र अस्ट्रेलियाका लागि पनि तयारी छ। केही समय स्टेजमा मात्र सीमित भएका अनिल अब गीतसंगीतसँगै स्टेजमा व्यस्त हुने योजनाअनुसार अगाडि बढिरहेका छन्। 

प्रकाशित मिति: : 2022-07-20 16:36:00

प्रतिकृया दिनुहोस्