निष्कर्षविहीन टुंगियो प्रदेशको नाम राख्ने सर्वदलीय बैठक, दलहरुको आ-आफ्नै धारणा

प्रदेश १ को नामाकरणका विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ।

शुक्रबार सभामुख प्रदिपकुमार भण्डारीले आह्वान गरेको दलहरुको बैठकले नाम के राख्ने भन्ने विषयको टुंगो नलगाई सकिएको हो।

आज बसेको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि अर्को बैठकमा थप छलफल गर्ने सहमति भएको सभामुख भण्डारीले जानकारी दिए।

नेकपा एमालेका नेता हिक्मत कार्कीले नामाकरणमा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल भए पनि कुनै निचोड ननिस्किएको बताए।

उनले अर्को बैठकबाट सबैको सहमतिमा नाम टुंगो लगाउने दलहरुबिचमा सहमति भएको बताए।

यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक राजिव कोइरालाले सबैको साझा सहमतिमा नामाकरण हुनुपर्ने बताए।

‘नेपाली कांग्रेसको धारण प्रक्रियामा गएर नामाकरण हुनुपर्छ भन्नेमा छ’ उनले भने, ‘नेपाली कांग्रेस साझा पहिचानको पक्षमा छ।’ साझा सहमति नै मिलन विन्दु भएको कोइरालाको भनाइ छ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रक्रियामा जानुपूर्व दलहरुबीच बाक्लो छलफल गरेर सहमति निकाल्ने प्रयास गर्ने बताए। उनले सबैले लचकता अपनाए नामाकरण गर्न कुनै समस्या नरहेको दाबी गरे।

नामाकरण सन्दर्भमा बोल्दै मुख्यमन्त्री राईले अहिले चर्चामा रहेका प्रस्तावित नामहरुमा सहमति जुट्न नसके भाषा संस्कृतिबाट नाम आउन सक्ने संकेत गरे। अर्को बैठकका लागि पार्टीको बैठक बसेर वैकल्पिक नामहरु लिएर आउने पनि उनले बताए।

राईले आफू सधैँ बहुपहिचानको पक्षमा रहेको बताए। ‘खराब नाम हुनुभन्दा नभएकै राम्रो, जनताले चाहेको नाम हुनुपर्छ’, राईले भने, ‘मैले बहुपहिचानको पक्षमा भोट मागेर चुनाव जितेको हो। त्यसैले म बहुपहिचानको पक्षमा छु।’

राईले प्रदेशसभाको समय कम भएकाले यो कार्यकालमा नाम आउन सक्ने सम्भावना कम रहेको पनि बताए।

‘समय कम भएकाले नामाकरण गर्न सक्ने सम्भावना कम छ, तर आजको बैठकले एउटा सकारात्मक बाटो पनि सृजना गरेको छ’, मुख्यमन्त्री राईले भने, दलहरुले छलफल बाक्लो बनाएर लागि पर्ने हो भने त्यति गाह्रो पनि छैन। केही दिनमै नाम टुंगो लाग्न सक्छ।’

प्रकाशित मिति: : 2022-07-22 17:58:00

प्रतिकृया दिनुहोस्