झापा घटना : छोरी फर्किने आशमा रहेकाे परिवार शोकमा डुब्याे

झापाको कचनकवल गाउँपालिका यतिबेला शोकमा डुबेको छ। तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि गाउँपालिका नै शोकमा डुबेको हो।

कचनकवल-५ की १६ वर्षीया करिना, १७ वर्षीया अञ्जली र १६ वर्षीया कल्पना गणेश साथीसाथी हुन्। उनीहरु सबैको घर चियाबारी नजिक छ।

तीनै जना घर नजिकै रहेको चिया बगानमा काम गर्दै आइरहेका थिए। शनिबार दिउँसो खाना खाएर घरबाट निस्किएका उनीहरु बेपत्ता भए। शनिबार विदाको दिन भएकाले कतै घुम्न गए होला भनेर परिवारले पनि खोजी गरेनन्। त्यही पनि परिवार पीडामै थियो।

छोरीहरु बेपत्ता भएको पीडामा रहेको परिवारलाई आइतबार बिहानै आएको खबरले स्तब्ध बनायो। बेपत्ता भएका तीन जना घर नजिकैको एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएको खबरले परिवार मर्माहत भयो।

आफन्तको घरमा बसे होलाल् भनेर धेरै खोजी नगरेको तीनवटै परिवार छोरी आउने आशामा थियो। उनीहरुको आफन्तहरु घर नजिकै रहेछन्। तर, घर आउने आशमा रहेका परिवारको सपना अधुरै रह्यो। तीनै जना आइतबार बिहान झुन्डिएको अवस्थामा भेटिए।

झुन्डिएको अवस्थामा उनीहरु बिहान घरबाट पूर्वमा रहेको झिङ खोलाको डिलमा रहेको बयरको रुखमा फेला परे। उनीहरुलाई चिया बगानमा चिया टिप्न जानेहरुले रुखमा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ।

उनीहरुमध्ये दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुन्डिएका थिए। एउटै बयरको रुखका दुई वटा हाँगामा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन्। दुई जना एउटा हाँगामा र अर्की एक जना अर्को हाँगामा फेला परेका हुन्। घटनास्थलमा आइपुगेका स्थानीय र गाउँ शोकमा छ।

उक्त घटना हत्या हो कि आत्महत्या भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले तीनै जनाको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

करिना गणेशको घर घटनास्थलबाट करिब चार सय मिटर पर पर्छ। कल्पनाको घर घटनास्थलबाट करिब २ सय मिटर टाढा छ। अञ्जली गणेशको घर भने घटनास्थलबाट करिब दुई किलोमिटर टाढा पर्छ।

झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलसँगको कुराकानीमा आधारित।

प्रकाशित मिति: : 2022-07-24 16:28:00

प्रतिकृया दिनुहोस्