आहा ! सुन्दर रामारोशन (फाेटाे फिचर)

Breaknlinks
Breaknlinks

१२ बंड १८ खण्ड अर्थात् १२ ताल १८ मैदानको उपनामले चिनिने सुन्दर सुदूरपश्चिमका थुप्रै सुन्दर स्थानहरु मध्यको एक सुन्दर स्थान हो, सुन्दर रामारोशन। भूगोलले देशको राजधानीबाट कोसौँ दुर अनि समुन्द्री सतहबाट २४०० मिटरमाथि रहेको यो स्थानको सुन्दरताको वर्णन गर्न, सायदै मसँग कुनै शब्द छ।

हुन नेपालकाे हरेक भूगोल, आफ्नै किसिमको प्राकृतिक गहनाले सजिएर उत्तिकै सुन्दर छन्। त्यस्तै प्रकृतिले दिएको अनेकन सुन्दर उपहार मध्यको एक हो, सुन्दर रामारोशन।

स्थानीय व्यक्तिहरुकाअनुसार रामारोशन पुरै घुम्ने हो भने कम्तिमा पनि तीन दिन लाग्दछ। रामारोशन नाम हुनुमा पनि आफ्नै छुट्टै कहानीहरु सुनिन्छन। रामा र रोशन करिब आधा घण्टाको दूरीमा रहेको दुई भिन्न मैदानको नाम भएको र यही दुई मैदानको नाम जोडेर रामारोशन नाम हुन गएको भन्ने एकथरिको भनाइ छ। भने, उहीँलेको समयमा रामा नाम गरेका एक राजा प्राय: रोशन मैदानमा आएर आफ्नो समय बिताउने गर्दथे र  त्यही राजा र मैदानको नाम जोडिएर रामा रोशन नाम भएको भन्ने अर्को भनाइ पनि रहेको छ।

रामारोशनका १२ तालमध्ये जिन्गले ताल सबैभन्दा ठुलो ताल र १८ मैदानमध्ये किनेमिने मैदान सबैभन्दा ठुलो हो। यहाँ आएर प्राकृतिक सौन्दर्यताको अनुभव थुप्रै गर्न सकिन्छ भने पछिल्लो समयमा पर्यटकहरुलाई थप आनन्द र रमाइलोको लागि जिन्गले तालमा डुंगाको पनि व्यवस्था गरिएको छ। त्यहाँको व्यवस्थापन समितिले तोकेअनुसारको केही शुल्क तिरेपछि डुंगाको मजा पनि लिन सकिन्छ।

घना जंगल भएकोले विभिन्न बन्यजन्तु र चराचुरुङ्गी यहाँ पाइन्छन्। यो क्षेत्र अवलोकन गर्दै गर्दा खोलानाला र चराचुरुङ्गीको आवाजले मन साह्रै आनन्दित बनाएको अनुभव त गरियो तर हामीले वन्यजन्तु हेर्न धेरै मेहेनत गरेनौँ।

यहाँ तीन तरिकाबाट पुग्न सकिने रहेछ। एउटा बाटो काठमाडौँबाट धनगढी हुँदै डोटी एकदिन र डोटीको दिपायलदेखि अछामको साँफेबगर हुँदै ठ्याक्कै एक दिनको गाडी अथवा मोटरसाइकलको यात्रामा ठ्याक्कै रामारोशन क्षत्रको मुखैमा। अर्को बाटो काठमाडौँबाट सुर्खेत हुँदै अछामको सदरमुकाम मंगलसेन हुँदै गाडी अथवा मोटरसाइकलको यात्रामा यो ठ्याक्कै रामारोशन क्षेत्रको मुखैमा पुगिन्छ। र, अर्को बाटो काठमाडौँदेखि कालिकोट हुँदै त्यहाँबाट ट्रेक गर्दै रामारोशन। यो बाटो चाहिँ अलिक अप्ठ्यारो हो।

सुदूरपश्चिमको सुन्दर बढीमालिका पनि यो क्षत्रेबाट पुग्न सकिन्छ। हिँड्न सक्ने मान्छे हो भने यही रामारोशनबाट पैदल यात्रा गर्दै पनि सिंधै बढीमालिका पुग्न सकिन्छ भने नत्र केही मात्रामा पैदल यात्राको समय घटाउने हो भने यहाँबाट साँफेबगर र त्यहाँबाट बाजुराको मार्तडी जाने बाटोबाट केही समय अझैं गाडीको यात्रापछि पैदल यात्रा गरेर पनि पुग्न सकिन्छ बडिमालिका।

प्रकाशित मिति: : 2022-10-15 07:50:00

प्रतिकृया दिनुहोस्