सिस्नेकाे काखमा टाेलाइरहेकाे भर्जिन कमल दह (भिडियाे रिपाेर्ट)

चारैतिर हरिया पहाड, छेउमा कलकल बगिरहेकाे सानीभेरी र मुस्कुराइरहेकाे सिस्ने हिमालकाे आँगनीमा मस्त छ, कमल दह। रुकुम (पूर्व)काे अस्थायी सदरमुकाम रुकुमकाेटकाे माथिल्लाे भागमा अवस्थित कमल दह पुग्दा प्रकृतिकाे वास्तविक आनन्द भेटिन्छ। आजभोलि कमल फुल्ने मौसम हाे, कमलतालको चारैकुना ढकमक्क फुलेका फूलहरुले तालको सुन्दरता बढाएको छन्। तालमा तालचरीहरु, आगन्तुक चराहरु पनि आउने गर्छन्, जसले तालकाे सुनमा सुगन्ध बढाइरहेका छन्।

१६ सय मिटरकाे क्षेत्रफलमा फैलिएको कमल दहकाे चारैतिर कमल फूल फुलेका छन। यसै समयमा यहाँको मनोरम दृश्यहरु हेर्न पर्यटकहरु आउने गर्दछन्। यसपटक पनि कमल दहमा कमल फूलसँग रमाउन धेरै पर्यटकहरू आइरहेका छन्। यो एउटा राम्रो गन्तव्य बन्न सक्छ प्रकृति प्रेमीहरूकाे लागि।

कमल दह जति अनाैठाे छ, यसकाे इतिहास झनै राेचक छ। किम्बदन्तीअनुसार भगवान शिवले रुप परिवर्तन गरेर रुकुमकोट उपत्याकामा आएका थिए। उनी सानीभेरीको तिरबाट बास माग्दै माथितिर आए। कसैले बास नदिएका उनी गैरीगाउँ अर्थात् अहिलेकाे कमल दह आइपुग्दासम्म धेरै रात परिसकेको हुन्छ।

त्यहाँ पनि कसैले बास नदिएपछि भगवान शिव निरास भए। तर, उनले त्यहाँकाे एउटा घरमा बास पाउँछन्। जुन घर थियो, कुटुम्बुरी बज्यैको। एक्लै बस्दै आएकी ती बज्यैले भगवान् शिवलाई बास दिन तयार भइन्। उनी आफूले खान पकाएका दुई वटा रोटी मध्ये एउटा शिवलाई दिइन र अर्काे आफूले  खाइन्।

शिव भगवानले उक्त रोटी आधी खाएर आधी सिरानीमुनि राख्छन् र एकलोटा पानीमध्ये आधा पिउछन् र आधा झ्यालबाट बाहिर फ्याँक्छन्। बिहान जब शिव भगवान जान्छ त्यसपछि अचम्म हुन्छ। उनले सिरानीमुनि राखेकाे राेटी सुन बन्छ, अनि झ्यालबाट फ्याँकेकाे पानीले पूरै गाउँ डुबाउँछ। जुन अहिलेकाे कमल दह हाे।

यसरी राेचक कथा बाेकेकाे कमलदह अहिले पर्यटनकाे मुख्य आकर्षण बनेकाे छ। कमल फूल फुल्ने समयमा यहाँ आन्तरिक पर्यटकहरू आउने गर्छन्। तर, पर्यटनकाे ठूलाे सम्भावना बाेकेकाे कमल दह प्रचारप्रचारकाे कमीका कारण सिस्ने हिमालकाे काखमा भर्जिन अवस्थामा टाेलाइरहेकाे छ। त्यसैले यहाँकाे पर्यटन विकासकाे लागि सरकारीस्तर बाटै प्रबर्धन गर्न जरूरी।

सिस्नेकाे आँगनमा मुस्कुरायाे कमल ! (फाेटाे फिचर)

प्रकाशित मिति: : 2022-07-29 05:53:00

प्रतिकृया दिनुहोस्