सांस्कृतिक समन्वयकाे प्रतिक बडीमालिका तिर्थयात्रा

मस्टाे परम्परामा पुजा लाग्ने चारवटा पुर्णिमा मध्ये साउन पुर्णिमा महत्त्वपूर्ण मानिन्छ। देउताका पालीहरू(भक्तजन) लामाे तिर्थयात्रामा निस्कने भएकाले ठूलो जमघट सहित ठाउँठाउँमा मेला लाग्ने गर्छ।

जुम्लाबाट गरिने लामाे तिर्थायात्रामा छायाँनाथ, ऋणमाेक्ष, गरुडनहानी, माहाबु लगायत स्थानहरु पर्दछन्। जसमध्ये सबैभन्दा लामाे तिर्थयात्रा बडीमालिकामा हुन्छ। जुन सरकारी तवरबाटै हुँदै आएकाे छ।

त्यसैले, मंगलबार सरकारी टाेली औपचारिक रुपमा बडा बसाली, हजारौं भक्तजनकाे उपस्थितिमा बाजागाजा सहि बाजुरा जिल्लामा पर्ने बडीमालिका प्रस्थान गरेको छ। 

हरेक वर्ष सरकारी तवरबाटै समुद्री सतहबाट ४ हजार २१६ मिटर उचाइमा रहेका बडीमालिका जाने गरिएकाे छ। 

याे वर्ष जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौं भक्तजनको टोली बडीमालिका प्रस्थान गरेकाे हाे।

हरेक वर्ष साउन शुक्लपुर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा बडीमालिकामा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टाेली उता जाने रित बसेकाे संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्यले बताए।

'नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँच वटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डाेली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गर्ने गरिएकाे छ,' उनले भने।

बाइसी राज्य हुने बेलादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडीमालिका जाने चलन बसेकाे हाे। 

डोटी र बाजुराबाट बडीमालिका आउने र जुम्लाबाट समेत त्यहाँ पुगेर संयुक्त पूजा गर्ने प्रचलन अनुसार नै सरकारी टाेलीलाई बिदाई गरि पठाइएकाे प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताइन्। 

'बडीमालिका जाने टोली सुरक्षार्थ सीमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको छ,' उनले भनिन्, 'गत वर्ष कोरोनाका कारण सीमित टोली बडीमालिका गएको थियो। यस वर्ष नागरिकको उत्साह बढेकाे छ।' 

बाडीमालिका गएकाे  टोली आगामी भदौ १ गते अर्थात् १६ दिनपछि जुम्ला फर्किनेछ।

संस्कृति सम्बन्धका जानकार आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरु (पेटारो) नामक झोलीमा राखेर बडीमालिका मन्दिरमा पूजाका लागि पठाउने चलन छ। त्यसैगरी उताबाट पनि मन्दिरका लागि उपहार आउने गरेकाे छ।

सरकारी तवरबाटै बडीमालिका गएर दुईवटा राज्यले सांस्कृतिक समन्वय गरेर दुनियाँलाई देखाए अनुरुप नै याे लामाे तिर्थयात्राकाे संस्कृति विकास भएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरिन्द आचार्यले बताए।

'यस्ताे दुर्लभ संस्कृति संरक्षणमा राज्यले जोड दिनुपर्छ,' उनले भने, 'बडीमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिष्णुताको विकाससँगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको छ।'

औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरु अछाम, डोटी, जुम्ला र कालिकोट लगायत जिल्लाबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्रा बडीमालिकामा हुने गरकाे छ।

पछिल्लो समय बडीमालिका विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे स्थानकाे रुपमा परिचित हुँदै गएकाे छ। 

स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अंग पतन भएको थियो। यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो। 

मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ। त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन्। 

२२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन्। 

समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलको रमणीयताले बडीमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने त्यहाँ पुगेकाहरू बताउँछन्। 

बारम्बार बडीमालिका यात्रा गरिसकेका पुजारी विष्णुप्रसाद उपाध्याय भन्छन्, 'बडीमालिका प्रकृतिको दुर्लभ उपहार हो । त्यहाँ पुगेपछि जीवनका सारा कष्ट हराएको अनुभूति हुन्छ।'

प्रकाशित मिति: : 2022-08-03 09:13:00

प्रतिकृया दिनुहोस्