तस्करको नयाँ शैली : तरकारीकाे बोराभित्र राखेर लागुऔषध कारोबार (भिडियोसहित)

नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले उपत्यकाको विभिन्न ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ। 

ब्युरोले २०७९ असार ३२ देखि साउन १८ गतेसम्म पक्राउ गरेका चार महिला र १८ पुरुषलाई बुधबार सार्वजनिक गरेको छ। 

प्रहरीले लागुऔषधसहित पक्राउ परेकाहरुको अनुसन्धानबाट सोही अवैध कारोबारमा सहयोग गर्ने र लागुऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको हो।

प्रहरीले यही साउन ८ मा ताप्लेजुङ मेरिङदेन स्थायी घर भई ललितपुर इमाडोल बस्दै आएकी तुलसा खड्काको साथबाट एक हजार २६० थान नाइट्राभेट ट्याब्लेट, १५० थान प्रोक्सिभन क्याप्सुल, छ बोलत ‘डायलेक्स डिसी’ र तीन सय मिलिलिटर कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ बरामद भएको थियो। जसका आधारमा प्रहरीले उक्त लागुऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिलाई समेत पक्राउ गर्‍यो।

प्रहरीले साउन ८ गते नै तुलसा खड्कालाई लागुऔषध ओसारपसारमा सहयोग गर्ने युवराज खड्कालाई पक्राउ गर्‍यो र खड्कालाई लागुऔषध उपलब्ध गराउने किशोर चौलागाईं, किशोर चौलागाईंलाई लागुऔषध उपलब्ध गराउने मानबहादुर तामाङ, मान बाहादुरलाई लागुऔषध उपलब्ध गराउने बुद्द बहादुर बोमजन लाई साउन १० गते पक्राउ गरेको थियो।

सोहीका आधारमा घटनामा संमलग्न विपिन कुशुवाह, सुभाष राय यादव, मोहमद आसफाक आलमलाई पक्राउ गरेको थियो भने सो लागुऔषध तरकारीको बोरामा लुकाएर सर्लाहीबाट ल्याउँदै गर्दा नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जडीबुटीबाट बरामद गरेको थियो।  

यस्तौ प्रहरीले असार ३२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-१ का २७ वर्षका राजकुमार तामाङ, ताप्लेजुङकै मौवाखोला गाउँपालिका–१ की ३५ वर्षकी सुशीला तामाङलाई ८ ग्राम खैरो हिरोइनसहित भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट पक्राउ गर्‍यो।

सोही आधारमा सुसिलालाई सहयोग गर्ने संचमाया तामाङ र मनिराज लिम्बुलाई ४६ ग्रामसहित पक्राउ गरेको थियो। त्यस्तै ब्युरोले यही साउन १३ गते ३८४ ग्राम हिरोइनसहित रामेछाप नगरपालिका–९ घर भई गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो।

ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरुको साथबाट ४५९ ग्राम हिरोइन, एक हजार १८० बोतल ‘डायलेक्स डिसी’ नाइट्राभेट ट्याब्लेट एक हजार २६० थान र प्रोक्सिभन क्याप्सुल १५० थान बरामद गरिएको छ।

‘यो हामीले बरामद गरेको लागुऔषधको सबैभन्दा धेरै परिणम रहेको छ। यसभन्दा पहिलो पटक २०७७ मा ६६० बोतल बरामद भएको थियो। यसले यो प्रस्टाउँछ कि नेपालीहरु दैनिक रुपमा लागुपदार्थ ओसारपसारमा संलग्न छन्। बरामद गरिएको लागुऔषधको कुल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको छ’, उनले भने। 

 

प्रकाशित मिति: : 2022-08-03 17:56:00

प्रतिकृया दिनुहोस्