प्रदेश १ : एक वर्षमा एक हजार ४ सय बढीले गरे आत्महत्या, पुरुषको संख्या धेरै

प्रदेश १ मा आर्थिक वर्ष २०७८/०७९ मा एक हजार चार सय ८९ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमध्ये पुरुषको संख्या धेरै छ।

गत आर्थिक वर्षमा प्रदेश १ मा नौ सय २२ जना पुरुषले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा चार सय ४३ जना महिला र एक सय १७ जना बालबालिका रहेका छन्।

आत्महत्या गर्नेमा २६ देखि ३५ वर्ष उमेर समूहका धेरै छन्। प्रदेश १ प्रहरीका अनुसार यो उमेर समूहका चार सय जनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्ने अधिकांश झापाका छन्। एक वर्षमा झापामा दुई सय ८९ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। झुण्डिएर आत्महत्या गर्नेमा २ सय ३ जना पुरुष, ६५ महिला र २१ बालकबालिका रहेका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार मोरङमा २ सय ८२ जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ।  जसमा १ सय ७४ जना पुरुष, ९७ जना महिला, ७११ जना बालबालिका रहेका छन्।

प्रदेश प्रहरीको तथ्यांक अनुसार  सुनसरीमा दुई सय १२, इलाममा एक सय २८, उदयपुरमा ९४, खोटाङमा ६७, पाँचथरमा ५७, ओखलढुंगामा ५४, भोजपुरमा ५१, धनकुटामा ४९, सोलुखुम्बुमा ४७, संखुवासभामा ४४, ताप्लेजुङमा ३५ र तेह्रथुममा २३ जानले आत्महत्या गरेका छन्।

प्रवक्ता राईले अधिकांशले पारिवारिक घटनाका कारण झुण्डिएर आत्महत्या गरेको जानकारी दिए। उनले पारिवारिक कारणले ७ सय ३८ जना र नैराश्यता तथा मानसिक रोगका कारण २ सय ३१ जनाले आत्महत्या गरेको जानकारी दिए।

असफलता, पारिवारिक सम्बन्धमा खटपट, गरिबी, बरोजगारी, पारिवारिक माया ममताको कमी महसुस, गरिबी, नैराश्यता, दीर्घ रोग, आर्थिक लेनदेनका कारण झुण्डिएर, विष सेवन गरेर, हामफालेर, औजार एवं हतियार प्रहार गरेरलगायत हुने आत्महत्याका घटना बढेर गएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: : 2022-08-04 13:14:00

प्रतिकृया दिनुहोस्