‘सम्झना बिर्सना’ पनि भारतमा प्रदर्शन हुने

फाइल तस्वीर
फाइल तस्वीर

नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका सहरमा प्रदर्शन हुने भएको छ। गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट भारतका दर्शकमाझ पुग्न लागेको हो। 

निर्माता अद्धितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए। 

‘हामी चरण चरणमा गरेर फिल्म रिलिज गर्दैछौँ,’ दार्जिलिङबाट उनले भने, ‘दोस्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुदैछ भने तेश्रो चरणमा २१ अक्टोबरमा बाँकी सहरहरूमा प्रदर्शन गर्दैछौ।’

उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए। ‘भारतमा नेपाली फिल्मको मार्केट एकदम राम्रो छ। तर, हामीले सही बजार खोज्न सकेका छैनौँ,’ उनले आफू नेपाली फिल्मको बजार विस्तारका लागि दीर्घकालीन सोचका साथ ‘सम्झना–बिर्सना’मार्फत अघि बढेको सुनाए।

निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदै छ। ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छाैँ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हाैँ। नेपाली नबुझ्नेहरूका लागि भने अंग्रेजी सबटाइटल राखेका छौं।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन्। 

दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत छ। प्रेम गीत–३ पनि २३ सेप्टेम्बरमा भारतका हलमा प्रदर्शन हुँदै छ।
 

प्रकाशित मिति: : 2022-08-05 13:11:00

प्रतिकृया दिनुहोस्