मोरङमा चुनावी चर्चा : अधिकांश पुरानै अनुहार दोहोरिने

प्रवेश बिष्ट

विराटनगर  

प्रदेश १ मा सबैभन्दा बढी राजनीतिक चर्चा हुने जिल्ला हो, मोरङ। प्रदेशको राजधानी र शीर्ष नेताहरुको जिल्ला पनि हो।

सबैभन्दा बढी मतादता भएको जिल्ला मोरङमा राजनीतिक दलका नेताहरुले आउँदो मंसिरमा हुने संघीय निर्वाचनका लागि आकांक्षा देखाउन थालेका छन्।

सरकारले आगामी ४ मंसिरका लागि प्रदेशसभा र संघको निर्वाचन मिति घोषणा गरेसँगै नेतैनेता भएको जिल्लामा चुनावी सरगर्मी विस्तारै बढ्न थालेको छ।

यही ठाउँमा गिरिजाप्रसाद कोइरालादेखि मनमोहन अधिकारीसम्मले लामाे समय राजनीति गरेका छन्। कांग्रेस नेता एंव १४औं महाधिवेशनमा पार्टी सभापतिको दाबेदार रहेका डा. शेखर कोइराला, कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, सुजता कोइराला, एमालेका प्रभावशाली नेता गुरु बराल, नेता लालबाबु पण्डित, भानुभक्त ढकाल मोरङकै नेता हुन्।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा एकीकृत समाजवादीमा पनि पूर्वसांसद र प्रभावशाली नेताहरू छन्। प्रतिनिधिसभा ६ र प्रदेशसभा १२ निर्वाचन क्षेत्र रहेको मोरङमा दलहरूले उम्मेदवारीको आन्तरिक तयारी सुरु गरेका छन्।

२०७४ को निर्वाचनमा मोरङमा एमालेले ३ वटा क्षेत्र, माओवादीले २ र कांग्रेसले एउटा निर्वाचन क्षेत्र जितेको थियो। यसपटको निर्वाचनमा अधिकांश ठाउँमा पुरानै अनुहार उम्मेदवार बन्ने सम्भावना देखिन्छ।

एमालेले क्षेत्र नम्बर १, ३ र ६ मा र माओवादीले क्षेत्र नम्बर ४ र ५ जितेको थियो। त्यसैगरी कांग्रेसले क्षेत्र नम्बर दुईमा मात्रै जितेको थियो।

मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले जितेका थिए। उनले नेपाली कांग्रेसका डिकबहादुर लिम्बूलाई ६ हजार ८८ मतको अन्तरले पराजित गरेका थिए। खतिवडाले ३७ हजार ५२४ र लिम्बूले ३१ हजार ४३६ मत ल्याएका थिए।

अघिल्लो निर्वाचनमा एमालेले जितेको यो क्षेत्रमा एमालेभित्र आकांक्षीहरुको संख्या धेरै छ। हालका संसद खतिवडा, पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फेमध्ये एकले टिकट पाउने सम्भावना रहेको छ।

कांग्रेसमा लिम्बू र उर्लावारी नगरपालिकाका पूर्व मेयर खड्ग फागोले आकांक्षा देखाएका छन्। लिम्बू कांग्रेसको मोरङ जिल्ला सभापतिसमेत हुन्।

यसअघि ०७४ को निर्वाचनमा एक मात्र क्षेत्र जितेको कांग्रेसले क्षेत्र नम्बर २ मा यस पटक भने नयाँ उम्मेदवार उठाउने दाउमा छ। त्यतिबेला नेकपा एमालेका ऋषिकेश पोखरेल कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए। रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गर्दा पोखरेलले ३४ हजार १४ मत पाए।

एमालेबाट पोखरेल क्षेत्र २ को निर्विकल्प उम्मेदवार हुन्। तर, कांग्रेसमा यसपटक यो क्षेत्रमा रिजाललाई नेतृ सुजता कोइरालाको चुनाैती छ। कोइरालाले गएको स्थानीय निर्वाचनदेखि नै आफू क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गर्दै आएकी हुन्।

आउँदो निर्वाचनमा ३ नम्बर क्षेत्रबाट कांग्रेसका सुनिल शर्मा उम्मेदवार बन्ने दौडमा छन्। उनी मेडिकल व्यवसायी पनि हुन्। अघिल्लो निर्वाचनमा शर्मा एमालेका भानुभक्त ढकालसँग पराजित भए।

ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा पुरानै अनुहार दोहोरिने सम्भावना छ।

तर, एमालेका स्थायी समिति सदस्य गुरु बराल पनि टिकट हत्याउने दाउमा छन्। त्यस्तै कांग्रेसमा पनि दिलिप गच्छदारले दाबी गर्दै आएका छन्।

वाम गठबन्धनबाट २०७४ मा माओवादीका अमनलाल मोदीले जितेको ४ नम्बरमा गठबन्धन भए चुनौती छ। मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। मोदीले ३३ हजार ४२९ मत ल्याउँदा आचार्यले २६ हजार ८०० मत मात्रै पाएका थिए। त्यसैले गठबन्धन भए माओवादीले दावी गर्ने बताएको छ।

एमालेले यस पटक विनोद ढकाललाई अघि सार्ने बताएको छ। गठबन्धान भए यो क्षेत्रमा एमालेलाई जित्न सहज छैन। कांग्रेसमा भने आकांक्षी धेरै छन्। कांग्रेसभित्र आकांक्षीको व्यवस्थापन गर्न चुनौती छ।

नेविसंघका पूर्व सभापतिसमेत रहेका गुरुराज घिमिरे र केन्द्रीय सदस्य महेश आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्। विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीले पनि दाबी गरेका छन्। एमालेका जीवन घिमिरे पनि टिकट ल्याउने दौडमा छन्।

मोरङ-५ मा अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार शिवकुमार मण्डल विजयी भएका थिए। उनले २२ हजार ९४५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अमृतकुमार अर्यालले १९ हजार १ सय ५३ मत ल्याएका थिए। गठबन्धनका लागि यो क्षेत्र पनि भागबण्डाका लागि सकसपूर्ण छ। आफूले जितेका कारण आफ्नो भागमा पाउनुपर्ने माओवादीको अडान छ।

अर्यालले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। गठबन्धन भइ माओवादीको भागमा परे अर्याललाई समानुपातिकतर्फ लैजाने पनि चर्चा हुन थालेको छ।

एमालेले यसपटक जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डललाई अघि सार्ने चर्चा छ। स्थानीय स्तरमा राम्रो छवि बनाएका मण्डलले जित्ने सम्भावना रहेको एमालेको भनाइ छ। जीवन विकासमार्फत गरेको कामबाट त्यस क्षेत्रका जनताले पाएको लाभका कारण पनि मण्डलले जित्ने एमालेले दावी गरिरहेको छ।

हाइ प्रोफाइका नेताहरुको क्षेत्र नम्बर ६ मा पनि पुरानै अनुहार दोहोरिने सम्भावना छ।  अघिल्लोपटक वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग कोइराला झिनो मतले पराजित भएका थिए। लालबाबुले ३३ हजार ९४१ मत प्राप्त गर्दा शेखरले ३३ हजार २६६ मत ल्याएका थिए।

शेखरलाई राष्ट्रियसभाका पूर्व सदस्य रमेशजंग रायमाझीले काउन्टर दिने खतरा छ। रायमाझीले टिकटको दाबी गरिरहेका छन्। एमालेबाट पण्डित र कांग्रेसबाट कोइरालाले नै टिकट पाएको खण्डमा यस क्षेत्रमा रोचक भिडन्त हुने देखिन्छ।

माओवादीले पनि यस क्षेत्रमा प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई अघि सार्ने सम्भावना रहेको बताइएको छ।

यस्तो छ स्थानीय निर्वाचनको परिणाम

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामअनुसार गठबन्धनविरुद्ध एमाले बलियो सावित भएको छ। १७ स्थानीय तह रहेको मोरङमा एमालेले ९ पालिकामा प्रमुख र १२ पालिकामा उपप्रमुख जितेको छ।

कांग्रेसले ८ पालिका प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ। गठबन्धनबाट माओवादीले उपप्रमुख मात्र जितेको छ।

एमालेले उर्लाबारी, रंगेली, सुनवर्षी, पथरी, सुन्दरहरैँचा, लेटाङ, कानेपोखरी र केराबारीमा प्रमुख उपप्रमुख दुवै जितेको छ। बेलबारीमा प्रमुख जितेको एमालेले उपप्रमुख गुमाएको छ। यस्तै, प्रमुख हारेर पनि एमालेले विराटनगर महानगरपालिका, रतुवामाई, कटहरी, ग्रामथानमा उपप्रमुख जितेको छ।

कांग्रेसले विराटनगर महानगरपालिकासहित रतुवामाई, कटहरी, ग्रामथान, मिक्लाजुङमा प्रमुख र बुढीगंगा, धनपालथान र जहदामा प्रमुख उपप्रमुख दुवैमा जित निकालेको छ। कांग्रेसले बेलबारीमा उपप्रमुख जित्दा माओवादीले भने मिक्लाजुङमा उपप्रमुख मात्र जितेको छ।

प्रकाशित मिति: : 2022-08-09 19:44:00

प्रतिकृया दिनुहोस्