निर्वाचनका लागि एमाले अध्यक्ष ओलीको संयोजकत्वमा परिचालन कमिटी

file photo
file photo

नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

एमालेको पार्टी कार्यालय च्यासलमा आज भएको ११औँ सचिवालयको बैठकले केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेगरी परिचालन कमिटी गठन गरेको हो। यस्तै परिचालन कमिटीमा जनसङ्गठनका अध्यक्ष र महासचिवका साथै केन्द्रीय विभागका सचिवसमेत सदस्य रहने छन्।

बैठकले अध्यक्ष ओलीको अध्यक्षतामा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ। कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।

निर्वाचनको तयारीका लागि बैठकले पार्टी स्थायी कमिटीको बैठक भदौ ७ गते, पोलिटब्युरो बैठक भदौ ९ गते र केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ। सचिवालयको बैठकले पार्टीमा प्रवेश गरेका जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (बारा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। 

त्यसैगरी नवराज पौडेल (बागलुङ) लाई सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरिएको एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रकाशित मिति: : 2022-08-11 23:34:00

प्रतिकृया दिनुहोस्