कर्णाली प्रतिष्ठानमा डाक्टर कुटिएपछि विराेधमा उत्रिएका डाक्टरहरुले राेकेनन् आन्दोलन

दाेषी उक्किन नदिने भन्दै हरेक दिन रचनात्मक आन्दोलन

भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ईमर्जेन्सीमा प्रतिष्ठानमै कार्यरत चाैथाे तहका कर्मचारी धनबहादुर शाहीले ड्युटीमा रहेका डाक्टर करण साहलाई कुटेका थिए।

घटनालगत्तै सार्वजनिक भएकाे सीसीटिभी फुटेजकाे दृश्यमा आराेपित शाहीले डा. साहलाई हात र लात दुबैले कुटेकाे दृश्यमा देखिन्छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले आफ्नो छोराको टाँका नकाटिदिएको भन्दै ईमर्जेन्सीमा खटिएका डा. साहलाई कुटेका थिए।

ड्युटीमा रहेका चिकित्सक वा स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुर्व्यवहार गरेमा 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाकाे सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९' अनुसार कारबाही हुने कानुनी प्रावधान छ।

उक्त ऐनले ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारकाे दुर्व्यवहार गरेमा वा हातपात गरेकाे खण्डमा तीन वर्षसम्म कैद सजाया वा तीन लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान गरेकाे छ।

कुटपिट भएलगत्तै आराेपी धनबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

'हामीले दिएकाे एक हप्ताको म्याद सकिएकाे हुनाले फेरि एक हप्ता म्याद थप गरी अनुसन्धान जारी राखिएकाे छ,' उनले भनिन्, 'प्रहरीले घटनाकाे प्रकृतिअनुसार मुद्दा प्रशासन कार्यालय वा अदालतमा पठाउन सक्छ।'

यता डाक्टर कुटिएकाे विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आन्दोलन जारी राखेका छन्। उनीहरुले डाक्टर कुट्ने कर्मचारी शाहीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन्।

'जेल विथआउट बेल' भन्दै यसअघि हातमा कालोपट्टी बाँधेर काम गर्ने, ईमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हाल दैनिक कुनै न कुनै आन्दोलनका कार्यक्रम गर्दै आएका छन्।

बिहीबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बजारमा प्रदर्शन गरेका थिए। उनीहरुले गरेकाे शान्तिपूर्ण प्रदर्शन प्रतिष्ठानबाट सुरु भइ जिल्ला प्रशासन, प्रहरी कार्यालय हुँदै पुन: प्रतिष्ठान पुगी समापन भएकाे थियो।

प्रदर्शनका क्रममा उनीहरुले जिल्ला प्रशासन कार्यालयमा गइ डाक्टर करण साह घटनाको विरोधमा निकालिएका देशैभरका प्रेस विज्ञप्ति निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाललाई बुझाएर गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पठाइदिन आग्रह गरेका थिए।

निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले यसअघि निकालिएका ज्ञापनपत्र गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको जानकारी दिएकी थिइन्।

यसअघि नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्षसहितको टोली जुम्ला आएर घटनाबारे बुझेर फर्किएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएकाे थियाे।

तर, पछिल्लो समयमा प्रहरीको अनुसन्धान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गठन गरेकाे छानबिन समितिलाई सघाउन र दाेषीलाई उम्कन नदिन दबाब दिने गरी आन्दोलनका कार्यक्रम जारी राख्नुपर्ने अवस्था आएकाे नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थालीने बताए।

'दाेषी उम्कन नपाउन भनी हामीले आन्दोलन जारी राख्नुपरेकाे छ,' उनले भने, 'कर्णाली जस्ताे विकट क्षेत्रमा काम गर्न आउने चिकित्सक कुटिनु पर्ने र कुनै प्रकारकाे कानुनी उपचार नपाउने हाे भने यस्ताे ठाउँमा किन आउनु? त्यसैले डाक्टरहरुकाे मनाेबल उच्च राख्न पनि आन्दोलन जारी राखिएकाे हाे।'

चिकित्सकले गर्ने प्रदर्शनीमा 'कानुन छ, यस कानुनको आभास गराउ, डा. करण साहलाई न्याय देउ' आफ्नै घाउ सम्हाल्ने कि बिरामीको?', 'स्वास्थ्यकर्मीमाथि हातपात गर्न बन्द गरौं', 'ज्यान जोगाउनेको ज्यान नै जोखिममा,' जस्ता नारा लेखेका प्लेकार्ड प्रदर्शन गर्दै उनीहरु सडकमा निस्किएका थिए।

आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दलाई समेत भेटेका थिए। उनीहरुले अनुसन्धान प्रक्रियामा आफूहरुले सघाउने बताउँदै कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न आग्रह गरेका थिए।

'विभिन्न बहानामा दोषीहरुलाई उन्मुक्ति दिने कार्यहरुले दूरदराजमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने भएकोले निष्पक्ष छानबिन र अनुसन्धान हुनुपर्ने हाम्राे माग हाे,' उपाध्यक्ष डा. थानीले भने।

प्रतिष्ठानमा डाक्टर कुटिएकाे विरोधमा नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिन, कालिकोट जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, विपिकेएचएस धरान, नेपाल चिकित्सक संघ जनकपुर शाखा, सरकारी चिकित्सक संघ नेपाल भरतपुर शाखा, जिल्ला अस्पताल दार्चुला, नेपाल डेन्टल एसोसिएसन, नेपाल चिकित्सक संघ, जिल्ला अस्पताल बझाङ, वीर अस्पताललगायतका चिकित्सक संघ, संगठन तथा स्वास्थ्य संस्थाहरुले विज्ञप्ति निकालेका छन्।

प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जबसम्म न्यायको अनुभूति हुँदैन तबसम्म स्वास्थ्यकर्मी तथा चिकित्सकको आन्दोलन जारी रहने बताएका छन्।

'ड्युटीमा खटिएको एप्रोन लगाएको चिकित्सक असुरक्षित हुनुले सिंगो स्वास्थ्य क्षेत्र तरंगीत बनिरहेको छ,' प्रतिष्ठानकाे सर्जरी विभागका विशेषज्ञ डा. सूर्यमान लिम्बूले भने, 'अब दोषीलाई कारबाही र पीडितलाई न्यायको अनुभूति नहुँदासम्म रचनात्मक ढंगबाट आन्दोलन गरिरहन्छाैं।'

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्‌ले उक्त घटनाकाे समिति बनाई छानबिन कार्यलाई अघि बढाएकाे छ भने डाक्टर कुट्ने शाहीलाई ४५ दिनकाे लागि निलम्बन गरेको छ।

प्रकाशित मिति: : 2022-08-26 11:11:00

प्रतिकृया दिनुहोस्