ओखलढुंगा : यज्ञराजको ह्याट्रिक रोक्ने दाउमा रामहरी

निर्वाचनको मिति नजिकिँदै जाँदा गाउँघरमा चुनावको गतिविधि बढ्न थालेको छ। मुकाम केन्द्रीत राजनीति गर्ने नेताहरु आफ्नो क्षेत्रमा धाउन थालेका छन्। नेताहरु आ-आफ्नो दलबाट उम्मेदवार बन्ने दौडधुपमा छन्।

प्रदेश १ को पहाडी जिल्ला ओखलढुंगामा पनि नेताहरुको दौडधुप सुरु भएको छ। नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादीलगायतका पार्टीका नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न सुरु गरिसकेका छन्।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको ओखलढुंगालाई दलहरुले चासोका रुपमा हेरेका छन्। अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भएका यज्ञराज सुनुवार पुनः मैदानमा उत्रिने तयारीमा छन्।

२०७४ को निर्वाचनमा एमाले-माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका सुनुवारले नेपाली कांग्रेसका रामहरी खतिवडलाई पराजित गरेका थिए।

एमाले-माओवादीको वाम गठबन्धनबाट सुनुवारले ३२ हजार ५८० मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडाले २७ हजार ३२७ मत ल्याएका थिए।

दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन ओखलढुंगा क्षेत्र नं १ बाट सुनुवार विजयी हुँदा क्षेत्र नं २ बाट रामहरी खतिवडा विजयी भएका थिए। तर, मुलुक संघीय संरचनामा गएपछि एउटा मात्र निर्वाचन क्षेत्र बनेको ओखलढुंगामा सुनुवार र खतिवडाबीच प्रतिस्पर्धा भएको थियो।

त्यस्तै ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा वाम गठबन्धनका एमाले उम्मेदवार अम्बिरबाबु गुरुङ विजयी भएका थिए। एमाले-माओवादीको वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गुरुङले १८ हजार ९ सय ८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९ सय ६ मत पाएका थिए।

प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका मोहन खड्काले कांग्रेसका प्रदीप सुनुवारलाई पराजित गरेका थिए। खड्काले १७ हजार २ सय १९ मत पाउँदा कांग्रेसका सुनुवारले १५ हजार ४४५ मत पाएका थिए।

नेपाली कांग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिट जितेर २०७४ को निर्वाचनमा वाम गठबन्धनले क्लिनस्वीप गरेको थियो।

एमालेबाट बहालवाला सांसद यज्ञराज सुनुवार पुनः उम्मेदवार बन्ने दौडमा छन्। उनले प्रतिनिधिसभामा आफ्नो दावी रहेको बताउँदै आएका छन्। नेकपा विभाजनताका माधव-प्रचण्ड समूहमा लागेका सुनुवार पार्टी फुटेपछि एमालेमै बसेका थिए।

एमालेबाट ०७४ को निर्वाचनमा प्रदेशसभामा विजयी भएका अम्बिरबाबु गुरुङ पनि प्रतिनिधिसभाका आकांक्षी हुन्। गुरुङ प्रदेश १ सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन्। तर, गुरुङभन्दा सुनुवार नै बलियो भएको एमाले वृत्तमा चर्चा छ।

गठबन्धनका तर्फबाट रामहरी खतिवडा प्रमुख दावेदार हुन्। सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका रामहरी खतिवडाले टिकट पाउने लगभग पक्काजस्तै छ।

उनले निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट र स्थानीयसँगको परामर्शलाई तीव्रता दिएका छन्। उनले आफ्नो उम्मेदवारी घोषणासमेत गरिसकेका छन्। प्रदीप सुनुवारलगायतका नेताले आकांक्षा व्यक्त गर्दै आइरहे पनि खतिवडाले नै टिकट पाउने कांग्रेसका एक नेताले बताए।

माओवादीका मोहन खड्का पनि प्रतिनिधिसभाका आकांक्षी हुन्। तर गठबन्धन हुँदा ओखलढुंगा कांग्रेसले पाउने पक्का भएकाे कारण उनी पुनः प्रदेशमै दोहोरिने चर्चा छ।

स्थानीय तहको मत परिणाममा कांग्रेस बलियो

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा ओखलढुंगामा नेपाली कांग्रेस पहिलो बनेको छ। वडाध्यक्षले पाएको मतकाे आधारमा ओखलढुंगामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो भएका छन्।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले ३२ हजार २८८ मत ल्याएको छ। एमालेले २९ हजार ६ सय ल्याउँदा माओवादी र जसपाले क्रमशः ६ हजार ८६६ र दुई हजार १०४ मत पाएको छ। अधिकांश वडामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए।

यस्तै ७५ वडा रहेको ओखलढुंगामा कांग्रेसले ४५ वडामा वडाध्यक्ष जितेको छ। एमालेले २०, माओवादीले ८ र जसपाले २ वडामा वडाध्यक्ष जितेका छन्।

८ पालिका रहेको ओखलढुंगामा कांग्रेसले ४ प्रमुख र ४ उपप्रमुख जितेको छ। सुनकोसी गाउँपालिकामा प्रमुख र उपप्रमुख, सिद्धिचरण नगरपालिका, लिखु गाउँपालिका र चम्पादेवी गाउँपालिकामा प्रमुख जितेको कांग्रेसले खिम्जीदेम्वा गाउँपालिका, चिशंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकामा उपप्रमुख जितेको छ।

एमालेले एउटा पालिकामा मात्रै प्रमुख जितेको छ। मोलुङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जितेको एमालेले चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकामा उपप्रमुख जितेको छ।

ओखलढुंगामा नेकपा माओवादी, जनता समाजवादी र स्वतन्त्रले एक/एक पालिकामा प्रमुख जितेका छन्। माओवादीले चिशंखुगढी गाउँपालिका, जसपाले खिम्जीदेम्वा गाउँपालिका र स्वतन्त्रले मानेभञ्ज्याङ गाउँपालिकामा प्रमुख जितेको छ। 

प्रकाशित मिति: : 2022-08-26 21:30:00

प्रतिकृया दिनुहोस्