मानव बेचविखन सभ्य समाजका लागि कलङ्क हो: प्रधानमन्त्री देउवा

file photo
file photo

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचविखन सभ्य समाजका लागि कलङ्क भएको बताएका छन्।

मानव बेचविखनले अन्तर्राष्ट्रियस्तरमा मुलुकको छवि धमिल्याउने र यो मानवताविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले मानव बेचविखनविरुद्धको अभियानमा सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।

माइती नेपालद्वारा आज यहाँ आयोजित ‘मानव बेचविखनविरूद्ध मेरो दलको प्रतिबद्धता’ कार्यक्रममा प्रधानमन्त्री देउवाले विभिन्न सरकारी एवं गैरसरकारी संयन्त्रको क्रियाशीलता, नीतिगत एवं कानूनी व्यवस्थामा गरिएको सुधार, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राष्ट्रले व्यक्त गरेका प्रतिबद्धता र सो कार्यान्वयनका क्रममा अघि बढाइएका कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मानव बेचविखनविरुद्धको १६औँ राष्ट्रिय दिवसका अवसरमा माइती नेपालले विभिन्न राजनीतिक दलका नेतालाई एउटै मञ्चमा सहभागी गराएर मानव बेचविखनविरुद्ध साझा प्रतिबद्धता जुटाउने प्रयास गरेकामा उनले आयोजकलाई धन्यवाद दिए।

नेपालको संविधानले कुनै पनि किसिमको शोषणविरुद्धको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको अवगत गराउँदै उनले यसका बाबजुद पनि विभिन्न कारण र बहानामा निर्दोष चेली बेचविखनको मारमा परिरहेको बताए। 

'चेलीबेटी बेचविखनको समस्या प्रभावकारीरुपमा समाधानका लागि सरकार, गैरसरकारी क्षेत्र, सामाजिक सङ्घसंस्था र मानव अधिकारकर्मी सबै मिलेर समन्वयात्मकरुपमा कार्य गर्न आवश्यक छ', प्रधानमन्त्री देउवाले भने।

सबैको साझा प्रयासबाट मात्र यस्ता बहुपक्षीय सामाजिक अपराध नियन्त्रण गर्न सकिने बताउँदै उहाँले यो अपराध नियन्त्रणका लागि गम्भीर भएर काम गर्न कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला निकायलाई सरकारले बारम्बार निर्देशन दिँदै आएको जानकारी गराए। 

वर्तमान सरकार देशभित्र नै विभिन्न आयमूलक रोजगारीका अवसरको सिर्जनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी रोजीरोटीका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नसमेत सक्रियतासाथ लागिपरेको उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले मानव बेचविखनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म तीनै तहका सरकारले एकआपसमा समन्वय गरी कार्य गर्न आवश्यक रहेकामा जोड दिँदै  विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन गरेर मानव बेचविखनलाई रोकथाम गर्न अदालत तथा प्रहरी प्रशासनबीच उचित समन्वय हुन आवश्यक छ, भने। 

उनले मानव बेचविखनसम्बन्धी विद्यमान कानूनलाई अपराधको बदलिँदोस्वरूपसँगै परिमार्जन गरी थप प्रभावकारी बनाउन तथा आवश्यकतानुसार नयाँ कानुन निर्माण गर्नसमेत सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री देउवाले मानव बेचविखनको मुख्य कारणको विश्लेषण गरी यसको रोकथामदेखि बेचविखनमा परेकाको तत्काल उद्धार, पुनःस्थापना र सामाजिक पुनर्मिलनसम्मका सबै पक्षलाई प्रभावकारी बनाउन तीनवटै तहको सरकारको समन्वयमा एकीकृत कार्ययोजनासहितका कार्यक्रम सञ्चालन गर्न सरकारको प्रतिबद्धता दोहोर्याए।

मानव बेचविखनविरुद्ध माइती नेपालले विगत लामो समयदेखि गरेको कार्य साँच्चिकै प्रशंसनीय रहेको उल्लेख गर्दै उनले भने, 'मानव बेचविखन जस्तो जघन्य अपराधको प्रभावकारी सम्बोधन गर्न, बेचविखनमा परी उद्धार गरिएका तथा प्रभावितलाई संरक्षण र आश्रय प्रदान गर्न, उनीहरूलाई आत्मनिर्भर बनाउन रोजगारमूलक, आयआर्जनमूलक तालिम, सीप सञ्चालन गर्न तथा यस जघन्य अपराधविरुद्ध व्यापक जनचेतना अभिवृद्धि गर्न माइती नेपाल जस्ता गैरसरकारी सङ्घसंस्थाले गरेको प्रयासको प्रशंसा गर्दछु।'

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मानव बेचविखनविरुद्ध आफ्नो दल कांग्रेस र नेपाल सरकार सदैव पूर्ण प्रतिबद्ध रहेको बताउँदै मानव बेचविखनविरुद्धको प्रत्येक लडाइँमा आफू व्यक्तिगत तथा नेपाल सरकारको कार्यकारी प्रमुखको हैसियतले सदैव गम्भीर रहेको जानकारी गराए।

प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनसहित विभिन्न दलका प्रतिनिधि तथा सांसदको सहभागिता थियो।

प्रकाशित मिति: : 2022-09-01 22:07:00

प्रतिकृया दिनुहोस्