साहित्यकार घनेन्द्र ओझालाई 'गजल सारथि' सम्मान प्रदान गरिएको छ। सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी नगर वाङ्मय परिषद्ले शनिबार ओझालाई उक्त सम्मान प्रदान गरेको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय 'प्रेक्षित'ले दोसल्ला र सम्मानपत्रले ओझालाई सम्मान गरेका हुन्। ओझा दुई दशकदेखि नेपाली गजलको विकास, विस्तार र परिष्कार अभियानमा निरन्तर सक्रिय छन्।
परिषद्का कोषाध्यक्ष विवश पौडेलले घनेन्द्र ओझाको नेपाली गजल क्षेत्रमा योगदानको चर्चा गरेका थिए। पौडेलले घनेन्द्रका हालसम्म विभिन्न विधा र सिद्दान्त/समालोचनाका कृतिहरू प्रकाशन भएका बताए।
ओझाका हालसम्म प्रकाशित साहित्यिक कृतिहरूमा 'आफ्नै चिहानमा टेकेर', २०६२, 'बल्झेर याद तिम्रो', २०६२, 'बाटो अझै छ बाँकी', २०६५ (राधा कणेलसँग संयुक्त) गजलसङ्ग्रहहरू तथा 'दुल्हा राजा आउनुभो', २०६९ बालगजलकृति प्रकाशित छन्। उनका 'एउटा अर्को सङ्ग्रामको घोषणा', २०६५ र 'असमान पहाडहरू', २०७८ कविताकृति पनि प्रकाशित छन्।
'नेपाली गजल: विगत र वर्तमान', २०६४ (संयुक्त), 'गजल कसरी लेख्ने ?', २०६६ (संयुक्त), 'नेपाली गजल: सिद्दान्त र विवेचना', २०६७ र 'गजलज्ञान', २०७१ जस्ता गजलका सैद्दान्तिक/समालोचनात्मक पुस्तकहरू समेत लेखिसकेका ओझाले नेपाली गजललाई परिष्कार गर्ने र छिरलिएको नेपाली गजललाई सैद्दान्तिक मार्गमा ल्याउने प्रयत्न विगत डेढ दशकदेखि गर्दै आएका छन्।
ओझाले 'बहरमाला', २०६३, 'गजलमाला', २०६६ संयुक्त छन्द/बहरबद्ध गजलकृतिहरू, १९ वटा भाषाको 'राष्ट्रिय भाषाका गजलहरू', २०६९, समस्यापूर्ति संयुक्त गजलकृति 'छातीभरी दुख्छ देश', २०७२, 'गजल बहस', २०७१, गजलप्रधान पत्रिका 'अनाम' तथा 'अनाममण्डली' स्मारिकाको सम्पादनसमेत गरिसकेका पौडेलले जानकारी दिए।
ओझाको भर्खरै शास्त्रीय बहरमा मात्र लेखिएका गजलहरूको एल्बम 'शुभेच्छा' बजारमा आएको छ। सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त एल्बममा ज्ञानु राणा, आनन्द कार्की, शिव परियार, सन्तोष श्रेष्ठ, निशा देशार र अस्मिता अधिकारी गरी नेपाली गायनका ४ पुस्ता समेटिएको छ।
अनाममण्डलीका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष, यसरी नै अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च, संस्थापक महासचिव तथा हाल अध्यक्ष रहेका ओझा नेपाली लेखक सङ्घका पूर्वसचिव हुन्।
नेपाली गजलमा पहिलो छन्द/बहरबद्ध गजलकृति 'बल्झेर याद तिम्रो', २०६२ प्रकाशन, नेपाली गजलमा पहिलो छन्द/बहरबद्ध संयुक्त गजलकृति 'बहरमाला', २०६३ र दोस्रो छन्द/बहरबद्ध संयुक्त गजलकृति 'गजलमाला', २०६६ सम्पादन तथा नेपाली गजलमा पहिलो बहरबद्ध गजल एल्बम 'शुभेच्छा' प्रकाशन गर्ने घनेन्द्र ओझालाई 'गजल सारथि' सम्मान प्रदान गर्दा परिषद् र लालबन्दी नगर खुसी भएको आयोजकले बताए।