एमालेसँग एक्लै लड्न नसकेपछि गठबन्धनको वैशाखी टेके : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनाव लड्न कुनै दलले आट नगरेको बताएका छन्। एक्लै लड्ने आँट नभएपछि गठबन्धनको वैसाखी टेकेको पनि पौडेलले बताए।

प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले दलहरूले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रूपमै स्वीकार गरेको दाबी पनि गरे।

'एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट देखिएन,' उनले भने। पौडेलले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको जिकिर गरे।

उनले जस्तोसुकै गठबन्धनलाई पनि जनताले परास्त गर्ने दाबी गर्दै आगामी निर्वाचनमा एमालेले नै बहुमत सिटमा विजयी हासिल गर्ने बताए। 'एमालेले आगामी चुनावमा बहुमत सिट जित्छ, त्यसो हुन नसके ठूलो दलको रूपमा स्थापित हुन्छ,' उपाध्यक्ष पौडेलले भने।

उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको दाबी गर्दै प्रचारलाई व्यवस्थित गर्न आग्रह गरे।

एमालेले गरेका राम्रा काम जनतामा नजाने तर गठबन्धनले आफूले गर्दै नगरिकान कामलाई समेत श्रेय लिने गरी जनतामा भ्रम फैलाउने काम गरेको भन्दै उनले त्यसलाई मिडियाले चिर्नुपर्ने बताए।

'सत्य कुरा जनताले थाहा पाउनुपर्छ, तर गठबन्धनले जनतामा भ्रम छर्ने मात्रै काम गरेको छ, एमालेले साढे तीन वर्ष सरकार चलाउँदा भएका राम्रा कामबारे जनतालाई बुझाउनु जरुरी छ,' पौडेलले भने।

उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृ संगठनहरूलाई आग्रह समेत गरे। निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी परिणाम निस्कने गरी आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे।

बुटवलमा निर्माणाधीन तिनाउ दानव कोरिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न उनले आग्रह गरे। कोरिडोरमा पर्ने घरपरिवारलाई उनीहरूको इच्छाअनुसार चित्तबुझ्दो स्थानमा स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे।

एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाई थियो। उनले भने, 'देशमा १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देही–२ विकासका हिसाबले सबैभन्दा अग्रभागमा छ। तर, हामीले ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिरेका छैनौँ। हामीले अब प्रचारमा पनि बढी ध्यान दिनुपर्ने अवस्था आएको,' उनले भने।

एसपीपीमा एमालेको विरोधकै कारण सरकार पछि हट्न बाध्य भएको पौडेलले बताए। एमसीसी एमालेको विरोधकाबीच कांग्रेस माओवादीले पास गरेको उनको भनाई थियो।

'नागरिकता विधेयक एमालेको विरोधकाबीच संसदबाट पास भयो', उपाध्यक्ष पौडेलले भने, 'तर यसको जस एमालेले होइन गठबन्धनले लिइरहेको छ। हामीले सहज रूपमा बुझाउन सकेका छैनौँ।'

प्रकाशित मिति: : 2022-09-03 19:46:00

प्रतिकृया दिनुहोस्