सोलुखुम्बुमा कांग्रेसबाट प्रत्यक्षतर्फ आङगेलु शेर्पा, केसी समानुपातिकमा

नेपाली कांग्रेस सोलुखुम्बुले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा कांग्रेसले प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो।

सोलुखुम्बुबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आङगेलु शेर्पाको नाम सर्वसम्मत सिफारिस गरेको छ। उनले तीन कार्यकाल कांग्रेस सोलुखुम्बुको नेतृत्व गरिसकेका छन्।

उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन्। २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका शेर्पा एमालेका बुद्धिकुमार राजभण्डारीसँग पराजित भएका थिए।

२०४८ सालदेखि चुनाव लड्दै आएका बलबहादुर केसीलाई यसपटक समानुपातिकमा सिफारिस गरिएको छ। बहुदल यताको सबै संसदीय निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसी २०४८, ०५१, ०५६ र ०७० सालको निर्वाचनमा विजयी भएका थिए। उनी ०६४ र ०७४ सालको निर्वाचनमा भने पराजित भएका थिए।

समानुपातिकमा केसीसहित आठ जनाको नाम सिफारिस गरिएको छ। उनीसहित समानुपातिकतर्फ पुरुषोत्तम बस्नेत, गोकर्ण राई, प्रभुराम बस्नेत, प्रकाशसिंह कार्की, आङछिरिङ शेर्पा, धर्म नेपाली र राधिका श्रेष्ठको नाम सिफारिस गरिएको छ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) को प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिस भएको छ। प्रदेशसभा सदस्यका लागि पार्टीका पूर्व सभापति विनोद बस्नेतसहित भलाकाजी कुलुङ, गणेश बस्नेत, कुसराज राई, रोसन थुलुङ, भेषकुमार बास्तोला र थिरबहादुर बस्नेतको नाम सिफारिस भएको छ।

समानुपातिकतर्फ प्रदेश (क) बाट पूर्व पार्टी सभापति छत्रध्वज बस्नेतसहित १३ जनाको नाम सिफारिस भएको छ। बस्नेतसहित नातिकाजी गुरुङ, सरला नाछिरिङ, गिता गुरुङ, रिना उप्रेति केसी, जिवन गुरुङ, एकाकुमारी कार्की, अशोक झा, जयप्रसाद राई, भक्त गुरुङ, फुर्तिमान तामाङ, विमला गुरुङ र हरिदेवी भुजेलको नाम सिफारिस भएको हो।

क्षेत्र (ख) बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस भएको छ। कांग्रेसका प्रदेश सभापति कर्मा शेर्पासहित प्रेमबहादुर थापा मगर र साङगा बहादुर राईको नाम सिफारिस गरिएको छ।

यस क्षेत्रबाट समानुपातिकमा ९ जना सिफारिस गरिएको छ। डोल्मा तामाङ, फुदोर्जी शेर्पा, पासाङ शेर्पा, मनोज खड्का, टंकीमाया बस्नेत, मंलसिंह तामाङ, सानुमाया राजभण्डारी, राजन बस्नेत र लाक्पा नुरु शेर्पाको नाम प्रदेशसभा सदस्यका लागि समानुपातिकमा सिफारिस भएको छ।

२०७४ को अवस्था

वि.स. २०७४ को निर्वाचनको प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई एमाले माओवादीको वाम गठबन्धनका माओवादी उम्मेदवार हेमकुमार राईले पराजित गरेका थिए। राईले २० हजार ४७४ मत ल्याउँदा केसीले १७ हजार २९४ मत मात्र पाएका थिए।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट सम्बन्ध रहेका केसीले विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेका छन्।

प्रदेश ‘क’ मा अघिल्लो निर्वाचनमा उत्तमकुमार बस्नेत विजयी भएका थिए। बस्नेतले कांग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका थिए। बस्नेतले १० हजार ६६७ मत ल्याउँदा कार्कीले ८ हजार ८४६ मत ल्याएका थिए।

यस्तै सोलुखुम्बु प्रदेश ‘ख’ बाट २०७४ सालमा बुद्धिकुमार राजभण्डारी विजयी भएका थिए। एमाले माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका राजभण्डारीले कांग्रेसका आङ्गेलु शेर्पालाई पराजित गरेका थिए। उनले १० हजार ३८७ मत ल्याउँदा शेर्पाले ७ हजार ९२९ मत मात्र पाएका थिए।

प्रकाशित मिति: : 2022-09-07 15:44:00

प्रतिकृया दिनुहोस्