कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० जना चिकित्सकद्वारा सामूहिक राजीनामा घोषणा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा घोषणा गरेका छन्।

स्वास्थ्यकर्मीकाे सुरक्षा नभएको भन्दै चिकित्सकहरुले सामूहिक राजीनामाको घाषणा गरेका हुन्।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्थानीय प्रशासनलाई समेत बोधार्थ पत्र पठाएका छन्।

उपकुलपति डा. रावललाई बुझाएको सामूहिक राजीनामा पत्रमा भनिएको छ, 'इमरजेन्सी विभागमा कार्यरत मेडिकल अधिकृत डा. साहमाथि भएको सांघातिक हमला र त्यसपछि उब्जिएको परिस्थिति निकै भयावह छ। जसकारण हामी सामूहिक राजीनामा दिन बाध्य छौं।'

विज्ञप्तिमा थपिएकाे छ, 'यसै घटनालाई निहुँ बनाएर अतिरञ्जित एवं हास्यास्पद तरिकाले डा. करणमाथि नै झुट्टो मुद्दा दायर गरी पक्राउ पुर्जी जारी गर्नु, शान्तिपूर्णरुपमा आन्दोलनरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि स्थानीय केही अराजक व्यक्तिहरुले नाबालकलाई प्रयोग गरी मुठभेटको अवस्था सिर्जना गर्ने प्रयास गरिएकाे प्रति दु:ख व्यक्त गर्दछाैं।'

डाक्टरहरुले शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा सेवा दिनलाई असमर्थ भएकाे, कानुनी राज्यको आभाष नभएको आदि कारण देखाउँदै सामूहिक राजीनामा दिएकाे बताएका छन्। उनीहरुले डा. साहमाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गर्दै आएका छन्।

एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक तथा डाक्टर कुट्ने शाहीका छाेरा पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्। जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा। साहलाई पक्राउ पुर्जी जारी गरेको छ।

यसअघि चिकित्सकहरुले डा. साह कुट्ने कर्मचारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ अनुसार कारबाही गर्न माग गरेका थिए। ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुर्व्यवहार गरेमा वा हातपात गरेको खण्डमा तीन वर्षसम्म कैद सजाया वा तीन लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ।

डा. साहलाई लात र हातले कुटेको फुटेजमा स्पष्टसँग देखिँदादेखिँदै पनि कुटाइ खाने डक्टरलाई नै पक्राउ पुर्जी जारी गर्नु बिडम्बना भएको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले बताए।

प्रकाशित मिति: : 2022-09-07 18:35:00

प्रतिकृया दिनुहोस्