गठबन्धन सरकारका कारण देश भयावह स्थितिमा पुग्यो : ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिपक्षलाई विभिन्न झुठा आरोप लगाएर जनतामा भ्रम फैलाइरहेको बताएका छन्। शनिबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा पूर्व प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण देश भयावह स्थितिमा पुगेको बताएका हुन्।

आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचन जनताको भाग्य र भविष्य फैसला गर्ने निर्वाचन भएको बताउँदै ओलीले देश विकासका लागि जनताले एमालेलाई विजय गराउनुपर्ने बताए।

गठबन्धनका नाममा केही नेताहरु आफ्नो स्वार्थ पुरा गर्न र नातागोताको भरणपोषणका लागि लागेको उनको आरोप छ। ‘गठबन्धनका चार ठुला नेता मिलेर देशमा लुटतन्त्र मच्चाइरहेका छन्,’ उनले भने, ‘यस्ता नेताबाट जोगाउन आगामी मंसिर ४ मा जनताले एमालेमा मतदान गर्नुपर्छ।’

राष्ट्रपतिले नागरिकता विधेयक स्वीकृत नगरे राजिनामा दिनुपर्छ भन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति प्रति कटाक्ष गर्दै ओलीले भने, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजिनामा दिनुपर्ने हो? वाहियात कुरा, मसल्स देखाउने ?

नागरिकता विधेयक संसोधन गरे मात्रै पास हुन सक्ने ओलीले बताएका छन्। जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता पाउने कुरा खुलाए तीन दिनमै पास गर्ने उनले बताए।

अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय राजनीतिलाई द्वन्दतिर धकेल्न खोजेको आरोप लगाएका छन्। ‘राष्ट्रिय राजनीतिलाई द्वन्द र तनावतिर लाने, लोकतन्त्र होइन भिडन्ततिर लैजान गठबन्धन सरकार लागि परेको छ,’ ओलीले भने, ‘यो सरकार काम गर्नभन्दा पनि तमासा देखाउन लागेको छ।’

अघिल्लो निर्वाचनमा प्रशासन कमजोर देखिएको ओलीले बताए। प्रशासन सञ्चालनको जिम्मा निर्वाचन आयोगले लिएर न्यायधिसमार्फत स्वच्छ र निष्पक्ष बनाउन ध्यान दिनुपर्ने अध्यक्ष ओलीको भनाई छ।

बुद्धिजिवी परिषद् प्रदेश १ को पहिलो अधिवेशन र जितिया कार्यक्रमका लागि ओली विराटनगर आएका हुन्।

प्रकाशित मिति: : 2022-09-10 19:11:00

प्रतिकृया दिनुहोस्