रेसुङ्गा विमानस्थल : निर्माण सकियो, आएन विमान

गुल्मीको रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन।

विमानस्थल सञ्चालनमा नआउँदा वर्षौँदेखि विमान चढेर भैरहवा, काठमाडौं, पोखरालगायतका ठुला सहरमा यात्रा गर्ने गुल्मीवासीको सपना अधुरै भएको छ।

नियमित उडानको लागि विमानस्थल तयार भएपनि विमान उडानको अन्योल हुँदा निर्माण गरिएका संरचना भत्किएका छन्। पछिल्लो समय विमानस्थल टिकटक र पर्यटन गन्तव्यमा सीमित भएको छ।

गुल्मी जिल्लाको गौरवको आयोजनामध्ये एक हो, रेसुङ्गा विमानस्थल। निर्माण सुरु गरिएको १५ वर्षमा विमानस्थल निर्माणको काम सकिएपनि विमान उड्ने छाँटकाँट नहुँदा विमान चढ्ने सपना सपनामै सीमित भएको रेसुङ्गा नगरपालिका-१० की रमिता अर्यालले बताइन्।

उनी भन्छिन्, ‘विमानस्थल बन्यो, अब जहाज उड्ला भनेको त उल्टो भवन तथा संरचना तोडफोड हुन थाले।’

विमानस्थल सञ्चालनमा नआएपछि विमानस्थलमा नाचगान गर्ने, सवारी सिक्ने, टिकटक बनाउने, फोटा खिच्नेलगायतका गतिविधि हुन थालेका छन्।

निर्माण सुरुभएसँगै पटकपटक विमानस्थलबाट नियमित उडान आशा देखिएपनि निर्माण सकिएको महिनौँ बितिसक्दा समेत उडान हुन नसकेको गुल्मी रेसुङ्गा नगरपालिका-१० का शेरबहादुर पुनले बताए।

‘जिल्लाका नेताले प्रत्येक नयाँ वर्ष र दसैँमा नियमित विमान उडाउने भन्दै भाषण र सपना बाँडे तर अहिले आएर त्यो भ्रम मात्रै भयो’, पुनले भने।

जिल्लामा स्वास्थ्य सेवा र पहाडका सडक भरपर्दो नहुँदा हवाई यात्रा छिटो र भरपर्दो मानिन्छ। राज्यले विमानस्थल निर्माणको लागि करोडौं लगानी गरेपनि बालुवामा पानी जस्तै भएको स्थानीयको आरोप छ। विमानस्थललाई देखाएर विभिन्न राजनीतिक दलका नेताले चुनाव जितेका छन्।

रेसुङ्गा विमानस्थल धावनमार्गको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ। विमानस्थलको पार्किङ्ग ६० मिटर लम्बाइ ३० मिटर चौडाइ रहेको छ। हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको छ।

विमानस्थलको सुरक्षाका लागि नगरपालिकाबाट एकजना नगरप्रहरी खटाइएको छ। राजनीतिक नेतृत्वले विमानस्थलको नियमित सञ्चालनमाबारे धेरै पटक प्रतिवद्धता जनाए पनि त्यस्ता प्रतिवद्धता कार्यान्वयन हुन सकेका छैनन्।

रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी  १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरी विमानस्थल निर्माणको काम थालिएको थियो। नवनिर्वाचित रेसुङ्गा नगरपालिकामा मेयर खिलध्वज पन्थी स्वयम् विमानस्थल निर्माण समितिमा बसेर काम गरेका थिए। प्राधिकरण विभाग र मन्त्रालयसँग सहकार्य गरेर छिटो उडान भर्ने रेसुङ्गा नगरपालिकाका मेयर पन्थीले बताए।

हाल विमानस्थलमा वरिपरि टेवा पर्खाल, धावनमार्गको कालोपत्रे, बाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किनलगायतका काम सकिएको छ। धावनमार्ग निर्माण गर्दा स्थानान्तरण गरिएका परिवारका कम्तिमा एकजना सदस्यलाई रोजगारी दिने भने पनि विमानस्थल नै सञ्चालनमा नआएपछि स्थानीय पनि निराश देखिएका छन्।

प्रकाशित मिति: : 2022-09-11 12:58:00

प्रतिकृया दिनुहोस्