भूमिहीन सुकुम्बासीको पीडा: नेताको आश्वसन पाए, पाएनन् जमिन

BreaknLinks
BreaknLinks

दाङ घोराही उपमहानगरपालिका–९ का अलि भुषाल (३१) सुकुम्बासी हुन्। उनको न पुस्ताको नाममा जग्गा थियो, न अहिले उनको नाममा नै छ। बस्नका लागि एउटा घर मात्र छ। यही घर पनि ऐलानी जमिनमा छ। चार जना परिवारको लालनपालन गर्न भुषालले ज्याला मजदुरी गर्नुपर्छ।

जीवन चलाउन ज्याला मजदुरी गर्नु परेपनि भुषालको मनमा भने घर भएको जति जमिन छ, त्यो आफ्नो नाममा भए सन्तोष हुन्छ कि भन्ने लागेको छ। पुगनपुग एक कट्ठा जमिनको जग्गाधनी पुर्जा (लालपुर्जा) पाउन सके जीवनमा अप्ठ्यारो परेको समयमा कतै काम लागिहाल्छ कि भन्ने उनीमा छ।

तर जग्गाधनी पुर्जा पाउन उनलाई निकै सास्ती भइरहेको छ। यसअघि २०७४ को निर्वाचनमा अब छिट्टै लालपुर्जा पाउँछौ भन्दै नेताहरुले भनेको कुरा भुषालको मनमा अहिले पनि ताजै छ। तर नेताहरुले भनेकै ५ वर्ष पुग्यो, जग्गा नापजाँचसमेत हुन सकेको छैन।

उनलाई अहिले नेताहरुले आश्वसन दिने मात्र हो कि जस्तो लाग्ने गरेको छ। ‘नेताहरु घर–घर आएर लालपुर्जा छिट्टै पाइन्छ भने, हो कि भन्ने पनि लाग्यो,’ उनले भने, ‘पछि कता लालपुर्जा दिन काम सुरु भयो भनियो तर त्यो कता हरायो, हामीले पाएनौँ। नेताहरु त आश्वसन मात्र दिन्छन् कि लागेको छ।’

लालपुर्जा पाउनका लागि वडा कार्यालयमा फारम भरेको दुई वर्ष बढी भइसकेको भन्दै उनले अहिले के भइरहेको छ भन्नेमा अनविज्ञता प्रकट गर्छन्। ‘दुई वर्ष पहिले नै हो वडा कार्यालयमा फारम भरेको। त्यो के भएको छ केही थाहा छैन’, भुषालले भने।

०००

राप्ती गाउँपालिका वडा नम्बर–७ का भीमबहादुर चौधरी ऐलानी जमिनमा बस्न थालेको वर्षौं भइसकेको छ। उनको नाममा एकधुर पनि जमिन छैन। घरबास भएको जमिन ऐलानी हुँदा उनले विजुली जोड्नदेखि लिएर अन्य थुप्रै समस्या भोग्नु परेको छ। उनलाई लाग्छ, ‘अझै अरु थुप्रै वर्ष ऐलानी जमिनमा नै समस्या भागेर बस्नुपर्छ।’

भीमबहादुरलाई पनि नेताहरुले आश्वसन नदिएको होइन। नेताहरु घरमा आए थुप्रै पटक नेताहरुले तिम्रो जमिनको लालपुर्जा बन्छ भनिसकेका छन्। तर उनीहरुको त्यो आश्वसन वर्षौंदेखि पुरा हुन सकेको छैन। चौधरीले भने, ‘नेताहरु त बोल्ने हुन्। उहिल्यै लालपुर्जा दिने कुरा थियो। अझै पनि पाउन सकेको छैन।’

०००

गढवा गाउँपालिका वडा नम्बर ५ की शान्ति चौधरी तरकारी खेती गर्छिन्। उनको पनि आफ्नो जमिन छैन। उनले आफ्नो जमिन नहुँदा ८ कट्ठा जमिन ठेक्कामा लिएर तरकारी खेती गरेर घरपरिवार धानिरहेकी छन्।

उनलाई अहिले आफ्नो जमिन नहुँदा तरकारी खेती गर्न गाह्रो भइरहेको छ। ठेक्कामा जमिन लिन पनि भनेको जस्तो उनले जमिन पाउन सकेकी छैनन्। जसले गर्दा शान्तिको अझ धेरै तरकारी खेती गर्ने सपनामा तुषारापात परेको छ।

उनले सरकारले दिने अनुदानका कार्यक्रम पनि पाउन सकेकी छैनन्। किनभने सरकारको अनुदान पाउन १ विघा बढी जमिनमा तरकारी खेती गरेको हुनुपर्छ।

‘सरकारले एक विघा बढी जमिनमा खेती गर्नेलाई मात्र अनुदान दिने रहेछ। मेरो छैन,’ उनले भनिन्, ‘यो निमय संसोधन हुनुपर्छ र कम जमिनमा खेती गर्नेहरुले पनि अनुदान पाउनुपर्छ।’

उनले सरकारले नै खेती गर्ने कृषकलाई जमिन दिनुपर्ने माग गरिन्। अहिले प्लटिङ गरेर जमिन घटिरहेको भन्दै उनले सरकारले साना कृषकहरुका लागि सोच्नुपर्ने बताइन्। ‘आफैँ सुकम्बासी हौँ। आफ्नो जमिन छैन,’ उनले भनिन्, ‘थोरै जमिनमा खेती गर्नेलाई पनि सरकारले अनुदान दिनुपर्छ।’

यी माथिका उदाहरणबाट भूमिहीन सुकुम्बासी कति पीडामा छन् भन्ने कुरा प्रष्टै देखिन्छ। जसको आफ्नो जमिन छैन, उसले सरकारी कामकाजदेखि लिएर दैनिकी चलाउन सास्ती खेप्नु परेको छ।

सरकारले भने भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न बनाइएका आयोग खारेज गर्दै आफ्नो अनुकूल फेरि आयोग बनाउँदै कर्मचारी भर्ती केन्द्र बनाउँदै आएको छ।

जसले गर्दा पटक–पटक भूमिहीन सुकुम्बासीमाथि सरकारले खेलवाड गर्दै आएको घोराही–१४ की सुकुम्बासी रचना कुमाल बताउँछिन्। वडा सदस्यसमेत रहकी कुमालले जनप्रतिनिधि हुनुअघि अरुका लागि आवाज उठाउँदै आएको बताउँदै आवाज सुन्ने ठाउँमा पुगेर पनि काम गर्ने सक्ने अवस्था नरहेको बताइन्।

उनले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिने नाममा सरकारले समुदायलाई तर्साउने काम गरिहेको बताइन्। ‘लामो समयदेखिको यो काम छिटो सक्नुपर्छ। म सुकुम्बासी मात्र होइन जनप्रतिनिधि पनि हुँ,’ उनले भनिन्, ‘तर लालपुर्जा दिन ठोस पहल हुन सकेको छैन। छिटो पहल गरेर पटक–पटक लालपुर्जा दिने भन्दै समुदाय तर्साउने काम बन्द हुनुपर्छ।’

नेताहरु जनतालाई ठगी गरिरहेको छ : अध्यक्ष चौधरी

भूमिहिन सुकुम्बासी तथा मुक्त कमैयाका लागि आवाज उठाउँदै आएको सोसाइटी वेलफर एक्सन नेपाल (स्वान)का अध्यक्ष कृष्ण चौधरीले नेताहरुले जनतालाई ठगी गरिरहेको बताउँछन्।

उनले भूमिहीनलाई जग्गा दिने, सुकुम्बासीलाई लालपुर्जा दिने, मुक्त कमैयालाई व्यवस्थित बसोबास मिलाउने राजनीतिक दलका नेताहरुले पटक–पटक बाचा गरेको भएपनि उनीहरुले काम गर्न नसकेको बताए।

मात्र चुनावमा आउने र भोटका लागि राजनीतिक मुद्दा बनाइ जनता ठग्ने काम नेताहरुबाट भइरहेको उनको भनाइ छ। नेताहरुले चाहेमा कैयौं असम्भव कुराहरु सम्भव देखिने भन्दै उनले जनताका समस्यामा उनीहरु इमान्दार नदेखिनु विडम्बनापूर्ण रहेको बताए।

‘राजनीतिक परिवर्तन धेरै भयो तर आर्थिक र सामाजिक परिवर्तन नभएकै कारण हामी पछि परेका छौँ। यसका लागि राजनीतिक दलका नेताहरु इमान्दार भएर काम गरेका छैनन्,’ उनले भने, ‘कसरी आफू र आफ्नालाई अवसर दिने हो भन्नमै व्यस्त छन्।’

उनले अगाडि भने, ‘बहुदलअघि पञ्चायतले गर्दा केही भएन भनियो। बहुदल आएको पनि ३३ वर्ष हुँदासम्म नागरिकका समस्या भने अझै उस्तै छ। ०४५ सालमा दिएको पुर्जाले नै आजसम्म समाज चलिरहेको छ।’

चौधरीले राजनीतिक दलहरुलाई ओठे प्रतिबद्धता नगर्न आग्रह गरे। उनले भने, ‘अब ओठ प्रतिबद्धताले मात्र पुग्दैन। नयाँ नेपाल आएको भनिएको छ। अब नेताहरु पनि पुरानै मानसिकताबाट मुक्त भएर नयाँ सोचले काम गर्नुपर्छ र छिटो भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्छ।’

दुई वर्षमा भूमिसम्बन्धी समस्या समाधान हुन्छ : प्रमुख रेग्मी

राष्ट्रिय भूमि आयोग दाङका प्रमुख लेखराज रेग्मीले अबको दुई वर्षमा भूमिसम्बन्धी समस्या समाधान हुने बताए। उनले अहिले काम भइरहेको बताउँदै दुई वर्षभित्रमा भूमिसम्बन्धी समस्या सक्ने लक्ष्य रहेको जानकारी दिए।

‘नाप नक्सा, निस्सा दिने काम भइरहेको छ। योअनुसार काम भएमा लक्ष्यअनुसार काम हुन्छ,’ उनले भने, ‘छुट आवेदन कसरी लिने भन्नेमा छलफल भइरहेको छ।’

आयोगले विगतका आयोगले गरेका कामलाई निरन्तरता दिइरहेको उनले बताए। उनकाअनुसार जिल्लामा लालपुर्जा पाउनका लागि ६० हजार आवेदन परेका छन्।   

प्रकाशित मिति: : 2022-09-17 16:38:00

प्रतिकृया दिनुहोस्