आइतबार, ०३ अगस्ट २०२५

मेरा ती असल साथीहरु

News Image
• • •

जिन्दगीको मोडमा धेरै मान्छेसँग भेट हुन्छ,.ती मध्ये केही मान्छे यस्ता हुन्छन्, जसको कुरा गरेर वा भेटेर मन थाक्दैन। सँधै सम्झना आइरहन्छ। उनीहरुसँग कुरा गर्दा मन हलुका हुन्छ। अर्कै किसिमको भाव पैदा हुनेगर्छ। त्यस्तो अनुभव किन र कसरी हुन्छ, त्यो मलाई थाहा छैन तर उनीहरुसँगको सम्पर्क र सम्बन्ध छुट्ला कि भन्ने डर पनि मनभित्र कताकता पैदा भइरहेको हुन्छ।

मलाई लाग्छ, यी सम्बन्ध र सम्पर्क इश्वरीय बरदान हो र कमसेकम मेरा लागि जीवनको अमुल्य निधि हुन्। यस्तै केही मान्यवरसँगको भेट वा अन्तरक्रिया मलाई अहिले पनि याद आउँछ।

सबैभन्दा पहिले म अष्ट्रेलिया निवासी शिव सापकोटा र अमेरिकाको टेक्सास निवासी अनुपमराज घिमिरेको यहाँ कुरा गर्न चाहन्छु। सापकोटा र घिमिरे जी दुवैलाई मैले सामाजिक सञ्जालमा भेटेको हुँ। तपाईहरु विश्वास गर्न सक्नुहुन्न होला, दुवैसँग अहिलेसम्म मेरो भौतिक भेट भएको छैन। 

उच्च शिक्षित, भलाद्मी र सुसंस्कृत दुवै मित्रसँग कुरा गर्दा मैले हरेक पटक केही न केही सिकेको छु। आफ्नो बिषयसहित समसामयिक घटनासँग पनि जानकार दुवैसँग सम्पर्क हुनु शौभाग्यको कुरा पनि हो, मेरो बुझाइमा। 

अन्यमा दुई बैनीहरु सन्ध्या भण्डारी र रिमा केसीसँग कुरा गर्दा पनि मलाई यस्तै अनुभव हुन्छ। दुवैको बोल्ने तरिका र केही हदसम्म अनुहार पनि उस्तै लाग्छ। सन्ध्यासँग मेरो भेट नेशनल टेलिभिजनमा काम गर्दा भएको हो। उनी भिडियो पत्रकार र म न्युज डेस्कमा काम गर्ने कारण पहिले खासै बोलिचाली थिएन। किनकी हाम्रो कुनै काम नै पर्दैन्थ्यो। 

त्यसै बकबक गर्ने स्वभाव सबैको हुदैन। केही समयपछि उनी न्युज एंकरिङका लागि न्युज रुममै आइपुगिन्। यसपछि भने मेरो र उनको कामको कुरा हुन् थाल्यो। 

समय बित्दै गयो र हामी दुवैले त्यो संस्था छोड्यौ।  त्यसयता आजपर्यन्त उनीसँग मेरो सम्बन्ध यथावत छ। सरल स्वभाव र बौद्धिक व्यक्तित्वकी धनि सन्ध्या दुई बिषयमा स्नातकोत्तर हुन्। सङ्गीत,साहित्य र अध्यात्ममा गहिरो दखल राख्ने उनीसँग कुरा गर्दा अर्कै कल्पनामा हराउने गर्थे म। 

त्यस्तै रिमासँग मेरो पहिलो भेट उनकै विषयमा रिपोर्टिङ गर्ने क्रममा भएको हो। त्यसयता भौतिक रुपमा आजसम्म उनीसँग मेरो भेट भएको छैन। लामो समय उनीसँग भेट नभए पनि मलाई अहिले पनि उनी म नजिकै यताकता बसोबास गर्छिन र कुराकानी हिजोमात्र भएजस्तो लाग्छ।

चिकित्सा क्षेत्रमा कार्यरत भए पनि उनको व्यक्तित्व बहुआयामिक छ। ब्यबसायी, समाजसेवी र शौखिन कलाकार र मोडलको रुपमा उनले आफुलाई स्थापित गरेकी छिन्। रिमाले यत्रो काम र यति धेरै क्षेत्रमा कसरी हात हालेकी होलिन भनेर अहिले पनि मलाई आश्चर्य लाग्छ। सुन्दर अनुहार र दयालु स्वभावका यी दुई बैनीहरु पनि मेरा लागि भगवानले दिएका उपहार हुन्।

त्यसगरी सम्झना गर्दैमा मनमा आनन्द आउने मेरा हितैषी हुन्, निलेश मानन्धर, इन्द्र गुरुङ र प्रभात खत्री. निलेश र इन्द्र मेरा साथी, भाई र सहयोगी सबै हुन्। मलाई सहयोग चाहिएको समय सदा उपलब्ध हुने यी दुई भाइसँगको मेरो सम्बन्ध निकै लामो समयदेखि यथावत छ। मानवीय कमिकमजोरी भए पनि मेरो विचारमा यी दुवै उत्कृष्ट मान्छे हुन्।

त्यस्तै मेरो साथी किरणका दाजु प्रभात दाई पनि सम्झनामा आइरहने व्यक्ति हुन्। उमेरले दाई भए पनि हाम्रो सम्बन्ध साथी जस्तै छ। दिनमा एकपटक १५ मिनेट मात्र भए पनि फोनमा कुरा हुने प्रभात दाई र मबीच लगभग हरेक कुरामा बहस र छलफल हुन्छ। अर्थात् हामीबीच कुनै प्रकारको ‘लिमिटेसन’ छैन। प्रभात दाईले मलाई खुब माया गर्नुहुन्छ।

मेरो बारेमा एक घण्टा मात्र भए पनि  दिनमा सोचिरहेकै हुन्छन्। आजको स्वार्थी संसारमा यस्तो हितैषी सबैले होइन, कसैकसैको भाग्यमा मात्र हुन्छ। यस मामिलामा म आफूलाई भाग्यमानी ठान्छु। 

जिन्दगी बाच्ने क्रममा जीवनमा धेरै महानुभावसँग संगत हुन्छ तर सबैको नाम उल्लेख गर्न सकिन्न।  प्राय: धेरै भेट्ने वा कुरा हुने कारणले मात्र यी माथीका नाम मेरो मस्तिष्कमा आएका हुन् वा एउटा असल मान्छेसँग सङ्गत हुन् पाउनु भाग्यको कुरा हो? यो भने सोधको विषय हो। 

मंगलबार, पौष १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)