किशोरसिंह राठौरकाे बाँके यात्रा

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर बाँके–३ बाट संघीय संसद पदका लागि प्रत्यासी हुने सम्भावना बढेर गएको छ।

पुर्ख्यौली थलो सल्यानबाट उनको परिवार बाँके र बर्दिया बसाइँ सर्‍याे। उनको निर्वाचन क्षेत्र भने बर्दिया नै रहिआएको छ। पछिल्लो पटक उनी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका छन्।

२०७० सालमा बर्दिया–४ बाट संसद लडेका थिए। तर पराजित भए। त्यसयता उनी बाँके केन्द्रित भएर राजनीतिक गतिविधि अघि बढाइरहेका छन्।

सत्तारूढ गठबन्धनका तर्फबाट बर्दिया–२ सत्ता साझेदार माओवादीलाई सिट छाड्नु पर्ने अवस्था आएकाले राठौर बाध्यात्मक अवस्थामा बाँकेबाट लड्नुपर्ने परिस्थिति सृजना भएको उनी निकट बाँके कांग्रेस स्राेत बताउँछ। समानुपातिकमा अघिल्लो पटक सासंद रहेकाहरूलाई नदोहोर्याउने पार्टीको नीतिले उनलाई पनि अप्ठ्यारो परेको छ।

यतिबेला संस्थापन पक्षका सशक्त पदाधिकारी रहेका राठौरको जन्म १९६९ अप्रिल २७ मा सल्यानमा भएको हो। सन् १९८४ देखि नेपाल विद्यार्थी संघमा जोडिएसँगै उनको राजनीतिक यात्रा अनवरत अघि बढेको हो।

हक्की र खरो स्वभावका राठौर त्रिचन्द्र कलेजबाट जुरमुराएका नेता हुन्। नेपाली कांग्रेस विभाजन भएपछि नेपाली कांग्रेस प्रजातन्त्रिकको भातृ संगठन नेविसंघका अध्यक्ष भए।

१२औँ महाधिवेशनमा भेरी अञ्चल कोटामा केन्द्रिय सदस्य निर्वाचित भएपछि पार्टीको केन्द्रिय स्तरको राजनीतिमा छन्। १३औँ महाधिवेशनपछि फेरि केन्द्रिय सदस्य भएका राठौर १४औँ महाधिवेशनमा खसआर्य तर्फबाट सह–महामन्त्री निर्वाचित भए।

पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको निधनपछि राठौर बाँकेमा बढी केन्द्रित हुन थाले। उनको पुर्ख्यौली घर नेपालगन्जको फुलटेक्रामा छ। उच्च तहको नेतृत्वबाट बाँकेलाई विमुख हुन नदिनु उनको राजनीतिक प्रयास हो भन्नेहरू कांग्रेसीहरू पनि छन् बाँकेमा।

पछिल्लो पटकको पार्टीको प्रदेश स्तरीय संरचना बनेपछि राठौर बाँके र बर्दिया मात्र नभइ सिंगो लुम्बिनी प्रदेशमा आफ्नो भूमिका विस्तारमा लागे। उसो त उनी केन्द्रिय सह–महामन्त्री पनि हुन्। उनीसँग नेविसंघको पुरानो लिगेसी यथावत नै छ।

बर्दियाको कुनै बेलाको ११ गाविसको टापु क्षेत्रमा उनको बर्चश्व मजवुत ठानिन्छ। गएको पार्टी जिल्ला अधिवेशनमा उनको भूमिका छरलङ्ग भएको थियो। तर बाँकेमा भने उनले चाहेको समूह जिल्ला नेतृत्वमा पुग्न सकेन।

बाँकेमा–३ उनको अनुकूलको क्षेत्र हो। त्यसो त १ र २ मा पनि उनको भूमिका अर्थपूर्ण रहन्छ। तर बाँकेमा रणेन्द्रबहादुर हमाल 'भाइराजा'को बर्चश्व पनि छ। आंशिक रूपमा कोइराला परिवारको लिगेसी पनि देखिन्छ।

राठौरले बाँके कांग्रेसको त्रिकोणीय समिकरणलाई संयोजन गर्ने प्रयास गरिरहेका छन्। यदि उनले प्रदेश सभासद 'म्यानेज' गर्न केन्द्रसँग साँघुको भूमिका निर्वाह गर्न सके भने बाँके–३ मा उनी आसन्न चुनावका बलिया उम्मेदवारका रूपमा उदाउने एकथरिको अनुमान छ। तर राठौरको प्रयासले रङ्ग ल्याउन सक्छ सक्दैन हेर्न बाँकी नै छ।

बाँके–३ मा उनी अनुकूलको क्षेत्रीय कार्य समिति छ। तर उनलाई आफ्नै समूहका बादशाह कुर्मीलाई व्यवस्थापन गर्ने चुनौती पनि छ। साथै प्रदेश र संघीय सासंसदका अन्य आकाङ्क्षीहरूलाई थमथम्याउनुपर्ने समस्या पनि छन्।

कुर्मी गएको पार्टी जिल्ला अधिवेशनमा राठौरको समर्थनमा जिल्ला सभापति पदमा चुनाव लडेका थिए। तर कुर्मी हमाल–कोइराला समिकरणका नारायण प्रसाद गौडेलसँग पराजित भए। गौंडेल शुरूवता ताका कोइराला नजिक थिए। पछि कृष्ण सिटौला समूहमा लागे। सभापति निर्वाचित हुँदा हमाल–कोइरालाको वैशाखी समाए।

बाँकेमा कुनैबेला खुमबहादुर खड्काको सिक्का पनि चल्थ्यो। हमाल परिवारको 'संगठन–शान' पनि चल्थ्यो। स्व. सुशील कोइरालाले तत्कालीन जिल्ला सभापति गजेन्द्र हमालमाथि 'ब्राण्ड फायर' गरेपछि परिस्थिति बदलिएको थियो। त्यही लिगेसीको निरन्तरता अझैसम्म पनि केही हदसम्म कायम छ। बाँकेमा मतदाताको मुड बदलिइरहन्छ। स्व.सुशील कोइरालाले पटक पटक हार बेहोरे।

कम्युनिष्ठहरूको हाली मुहाली हुने खजुरा आसपासबाट कुनैबेला मधेशी अनुहार कैलाशनाथ गुप्ताले चुनाव जिते। मधेश आन्दोलनको रापमा सर्वदेव ओझाले संविधान सभामा बाजी मारेका थिए। पञ्चहरू रजगज हुँदै बाँकेका सबै संसदीय सिट राप्रपाले समेत जितेको थियो। उतिबेलाका जुझारू युवराज शर्मा जस्ता साइकल लिएर चुनावमा होमिएका थिए। अहिले उनै कांग्रेसबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्दैछन्।

यसरी संसदीय क्षेत्र बदल्ने सह–महामन्त्री किशोरसिंह राठौरको बाँके यात्रा अनुकूलता र प्रतिकूलताबीच अघि बढिरहेको देखिन्छ। तर राजनीति सम्भावनाको खेल पनि हो, त्यसैले अवस्था फेरवदल भइरहन्छन् भन्न सकिन्छ।

प्रकाशित मिति: : 2022-09-16 17:02:00

प्रतिकृया दिनुहोस्