जुम्लामा राप्रपाले जित्नसक्ने 'सिंजा डाइनामिक्स' के हो ?

राजनीतिक पार्टीहरुले उम्मेदवार सिफारिस गरेसँगै चुनावी सगर्मी सुरु भइसकेकाे छ। वैकल्पिक उम्मेदवार सिफारिस गरेका पार्टीहरुमा कसले टिकट पाउला भन्ने अलमल छ। उम्मेदवारबीच रस्साकस्सी चलिरहेको छ।

टिकट पाउने आसमा जिल्ला स्तरका नेता, कार्यकर्ताले ठूला नेताकाे घर फटालिसके। ठूला पार्टीका लागि कठिन बनेकाे टिकटले वैकल्पिक उम्मेदवार खडा गराउन सक्ने सम्भावना पनि उत्तिकै छ। पार्टीहरुमा गुटगत राजनीति हाबी भएकाे हुनाले चुनावमा हराउने खेल पनि उत्तिकै हुनेछ।

जुम्ला इतिहासकाे त्याे काल खण्डबाट समेत अगाडि बढेकाे पाइन्छ। २०४८ सालमा नेमकिपाका पछाडि ढुङ्गामाटाेसमेत थियाे, भनिन्छ। तर, २०५१ सालसम्म नेमकिपाकाे संगठन कमजोर बनिसकेको थियाे। त्याे अवधिमा बलियाे बनेकाे कांग्रेसबाट लाल हमालले टिकट पाउँदा ललितजंग शाही बागी बने। परिणाम नेमकिपाले लगातार दाेस्राे पटक चुनाव जितेर जुम्लामा इतिहास रच्याे।

२०५६ सालकाे निर्वाचनमा पनि कांग्रेसले त्यही दृश्य देखाएकाे हाे। पार्टीका उम्मेदवार दिनबन्धु श्रेष्ठ हुँदा फेरि ललितजंग शाही नै बागी बने। तुलनात्मक रुपमा अनुशासित मानिने कम्युनिष्ट पार्टीमा पनि हाल आएर याे राेग लागिसकेकाे छ। भर्खरै सम्पन्न स्थानीय तहकाे निर्वाचनले यसलाई छताछुल्ल पारिदिएकाे छ।

यस्ताे अवस्थामा साना र तुलनात्मक रुपमा कमजाेर संगठन भएकाे राजनीतिक पार्टीलाई लाभ हुन सक्छ। त्यसमाथि भेग क्षेत्रले पनि ठूलाे प्रभाव पार्छ। यसरी प्रभाव पार्न सक्ने ठूलाे क्षेत्र सिंजा हाे। ११ गाविस भएकाे साविकको सिंजामा हिमा, सिंजा र कनका सुन्दरी गरी हाल तीन वटा गाउँपालिका छन्। जुम्लाका ६८ हजार मतदातामध्ये करिब २४ हजार मतदाता सिंजा क्षेत्रका छन्।

यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन्, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही। अभियानतामार्फत चर्चा बटुलेर राजनीतिमा आएका शाही यतिबेला एकल रुपमा चुनावी मैदानमा छन्। 'अब जुम्लाले देशकाे नेतृत्व गर्नुपर्छ' भन्ने उनकाे महत्वाकांक्षी नाराले धेरैलाई आकर्षित गरेकाे छ। आक्रामक चुनावी अभियान थालेका शाहीले यसलाई स्थापित गर्न सामाजिक सञ्जालकाे व्यापक प्रयाेग गरेका छन्।

निर्दलदीय शासन व्यवस्थामा राजा रिजाउने हरिश्चन्द्र महत र अदनसिंह कठायतका दुई गुटले जति गरे त्याेबाहेक कट्टर राजावादीकाे संगठन बलियाे बनेकाे इतिहास छैन। इतिहासका तानाबाना सबै बुझिकन पनि उनी संवैधानिक राजतन्त्रको वकालत गर्ने राप्रपाबाट चुनाव लड्दैछन्। स्थानीय तह निर्वाचनमा राप्रपाले पाएकाे मतलाई हिसाब गर्ने हाे भने चानचुन पाँच सय संगठित मत छन्।

पार्टीको चिन्हमा आँखा चिम्लेर छाप हान्ने बानी परेकाे ठाउँमा 'यस पटक एक भाेट व्यक्तिलाई, अरु आफ्नै पार्टीलाई' भन्ने नारा व्यापक बनाउन सके ज्ञानेन्द्र शाहीकाे खुबी मानिनेछ। यसरी उनले रचेकाे नारा स्थापित हुन सके जुम्लाबाट व्यक्तिको रुपमा शाही देखा परेपनि राजावादी संगठन राप्रपाले पहिलाे पटक चुनाव जित्नेछ।

तर, उनले चुनाव जित्नलाई पहिलाे र अनिवार्य सर्त भनेकै 'सिंजा डाइनामिक्स' अर्थात सिंजाली एकता हाे। हालसम्म सिंजाली एकताकाे इतिहास कस्ताे छ त? एकपल्ट संक्षिप्तमा फर्केर हेराैं।

सिंजा एक भएकाे खण्डमा वा सिंजालीले आफ्ना भेग क्षेत्रकाे उम्मेदवारलाई साठी प्रतिशत मत दिन सकेकाे खण्डमा मात्रै पनि परिस्थितिले काेल्टाे फेर्न सक्छ। तर सिंजा बेला-बेला चुकेकाे इतिहास छ। इतिहासमा पहिलाे पटक कांग्रेसले सिंजाकै लाल हमालले टिकट पाउँदा सिंजालीहरु एक हुन सकेनन्। नेमकिपाका डिल्ली काफ्लेले तीन पटक टिकट लिएर सिंजालीका घरघर पुग्दासमेत सिंजाली एक भएनन्। परिणाम लाल हमाल जस्ता त्यागी नेताहरु छायाँमा परे।

सिंजाकै पदमबहादुर राेकाया (हाल समाजवादी पार्टीबाट कर्णाली प्रदेशकाे भाैतिक पूर्वाधार मन्त्री) ले नेकपा एमालेकाे टिकट लिएर सिंजासँग भाेट मागे। त्याेबेला सिंजाली एकताकाे कुरा बलियाे गरी सतहमा आयाे। उनले सिंजाबाट आशा गरेजति मतसमेत पाए। तर, उनकै पार्टीका जिम्मेवार जुम्ला खाल्डाेका नेताहरुले मत दिएनन् भन्ने आराेप सिंजालीकाे छ।

जति पटक राजनीतिक पार्टीहरुले सिंजाबाट उम्मेदवार खडा गरे, उसकाे विकल्पमा अर्काे उम्मेदवार खडा भएन। त्यस्ताे अवस्थामा समेत सिंजा एक नहुँदा सिंजाली प्रतिनिधित्व संसदमा हुन सकेन।

ज्ञानेन्द्र शाही चुनावी मैदानमा हाेमिएर सिंजाली एकताकाे मत बलियाे बनाउने काेसिस गर्दै गर्दा अर्काे नाम पनि चर्चामा छ। त्याे हाे, सिंगाे कर्णालीकाे एक्लाे सन्त नेता मनऋषि धिताल। माओवादी पार्टीले उनलाई टिकट नदिएकाे खण्डमा सिंजाली एकताकाे मत बलियाे भएर आउनेछ। जसले राप्रपा जिताउन सहयोग गर्ने छ। अन्यथा निम्तन सक्ने परिस्थितिलाई गर्भमै रहन दिउँ!

प्रकाशित मिति: : 2022-09-16 18:40:00

प्रतिकृया दिनुहोस्

    हाम्रो ठाँउको बिकासको लागि भए पनि एउटा नेतृत्व गर्न सक्ने होनाहार ब्यक्तित्व अंगाल्नुहोस ;बिगतलाई बिर्सिएर बर्तमान लाई अंगाल्नुहोस सिन्जाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुले जुम्ला सिन्जाको मुहार फेर्ने दिन आको छ । स्थानिय निर्वाचन भनेको नगरपालिका,गाउँपालिका, वडाको लडाइँ हो संघको निर्वाचन जिल्ला को मुहार फेर्ने लडाइँ हो, देशको नेतृत्व गर्ने लडाइँ हो अबको निर्वाचनमा सोचेर भोट हालौ !! जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • एक बर्ष अगाडि
    • परेक बडुवाल (सिन्जा, बडुवाल बाडा)