संविधानको कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष भूमिका खेल्नुपर्छ: राष्ट्रपति भण्डारी

File Photo
File Photo

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएकी छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्।

नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता‚ अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेको उनको भनाइ छ। ‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन। यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्‍वास व्यक्त गर्दछु,’ उनको भनाइ छ।

संविधान जारी भएपश्चात प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते हुन गइरहेको छ। आम निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न म सबै मतदातामा उनले अपील पनि गरेकी छन्।

प्रकाशित मिति: : 2022-09-19 07:01:00

प्रतिकृया दिनुहोस्