जुम्ला बहुमुखी क्याम्पसका प्रमुख कुटिए 

BreaknLinks
BreaknLinks

जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओेम प्रकाश आचार्य कुटिएका छन्। उनलाई साेमबार बिहान जुम्ला बहुमुखी क्याम्पसका प्रशासन प्रमुख नर बहादुर सेजुवालले कुटपिट गरेकाे बताइएकाे छ। 

'म क्याम्पसका लेखा प्रमुख विज्ञान नगरकाेटी, कर्मचारीहरू राम भण्डारी, मनाेज सेजुवाल, प्रेम कामी लगायत साथीहरू बिहानतिर सामान्य छलफल गरिरहेका थियौं,' क्याम्पस प्रमुद डा. आचार्यले भने, 'नर बहादुर जी एक्कासि आएर सर्टकाे कँठालाे समाएर हान्नुभयाे। कुनै मुद्दा नै नभएर हान्नुभयाे म अचम्मित छु।'

यसैबीच क्याम्पस प्रमुख आचार्य कर्मचारीबाटै कुटिएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठन केन्द्रीय समितिले आपत्ति जनाएका छन्। दुबै संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुखलाई कुटपिट गर्नेमाथि कारबाही हुनुपर्ने माग राखेका हुन्।

'बिनाकारण व्यक्तिगत रिसिइबी साँध्ने मनसायले क्याम्पसजस्तो गरिमामय उच्च शिक्षा प्रदान गर्ने निकायका जिम्मेवार व्यक्तिमाथि क्याम्पस हाताभित्रै गरिएको आक्रमण अक्षम्य छ‚' विज्ञप्तिमा भनिएको छ, 'यस्तो आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिमाथि कडाभन्दा कडा कार्बाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिन माग गर्दर्छौं।'

सेजुवालको कुटाइबाट क्याम्पस प्रमुख आचार्यको सर्ट र भेस्ट च्यातिएको छ भने टाँकहरू फुटेका छन्। 'ममाथि हात हाल्नुपर्ने कारण केही थिएन । वादविवाद पनि केही थिएन। अलि अघि कर्मचारीको निर्वाचनको कुरा थियो,' प्रमुख डा. आचार्यले भने, 'त्यो पनि स्थगित भइसकेको छ। गलत नियतले ममाथि आक्रमण भयो।'

प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले औपचारिक रूपमा जानकारी नआइसकेको बताएका छन्। उनले भने, 'अनौपचारिक रूपमा जानकारी आएको छ। तर औपचारिक रूपमा जानकारी पाएको छैन। मंगलबार क्याम्पस प्रमुखलाई बोलाएर जानकारी लिएपछि मात्रै म आफ्नो धारणा राख्छु।'

क्याम्पस प्रमुखमाथि हाताभित्रै बिनाकारण हातपात भएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठन केन्द्रीय समितिले संयुक्त प्रेस विज्ञप्ति निकालेर घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

क्याम्पस प्रमुख कुटेको आरोप लागेका प्रशासन शाखा प्रमुख सेजुवालसँग फाेन सम्पर्क हुन सकेन।

प्रकाशित मिति: : 2022-09-27 10:20:00

प्रतिकृया दिनुहोस्