बालकाेटकाे सन्देशः दैलेख–२ मा शाह पक्का, 'अवसरवादी'ले टिकट पाउँदैनन्

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूकाे दाैडधुप बढिरहेकाे छ। दलहरूले सिट बाँडफाँटलाई पनि निरन्तरता लिइरहेका छन्।

यसै क्रममा नेकपा (एमाले)ले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा दैलेख–२ बाट विनाेदकुमार शाहलाई उम्मेदवार बनाउने सम्भावना बढेर गएको छ। शाहसहित एमालेका पाँच जना नेता उम्मेदवारका लागि सिफारिस भएपनि अहिले मुख्य रुपमा शाह, लक्ष्मी पोखरेल र राजबहादुर शाह प्रतिस्पर्धा देखिएका छन्।

जिल्लाबाट सिफारिस भएपनि एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल र निर्वतमान सांसद राजबहादुर बुढा संसदको दौडबाट बाहिरिएका छन्। अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएपछि शाह उम्मेदवार बन्ने पक्कापक्की बनेकाे छ। ‘यहाँ धेरै धाइरहनुपर्दैन। दैलेख–२ बाट कमरेड विनाेद शाहले नै टिकट पाउँछन्। अवसरवादी केटाहरूले टिकट पाउँदैनन्, ढुक्क हुनु। तयारी राम्राेसित गर्नुहाेस्,’ बालकाेट पुगेकाे दैलेखी टाेलीसामु उनले भने।

शाह एमाले कर्णाली प्रदेशका अध्यक्ष हुन्। ‘दैलेखमा अहिले एक उम्मेदवारले अर्कोविरुद्ध डेलिगेसन लैजाने काम भइरहेको छ’, एक नेताले भने, ‘अहिलेको कठिन परिस्थितमा सामान्य मतदाताहरूलाई पनि आफ्नो पक्षमा पार्ने व्यक्तिलाई टिकट दिने हो। शाहले लामो समयदेखि यस क्षेत्रमा बसेर राजनीति गर्नुभएको हो।’

दैलेख–२ मा स्थानीय तह चुनावअघिसम्म एमाले सबैभन्दा अघि  रहेको थियो। एकल मतको गणना गर्ने हो भने पनि एमाले अग्रता देखिन्छ। तर कांग्रेस र माओवादी मिल्दा भने एमालेका ३ हजारभन्दा कम मत रहेको छ।

‘विभिन्न व्यक्तिहरू रहे पनि प्रदेश, जिल्ला र गाउँ कमिटीको सिफारिसअनुसार शाहलाई टिकट दिन अध्यक्ष सहमत देखिनुभएको छ’, महासचिव शंकर पाेखरेलनिकट स्रोतले भन्यो, ‘त्यसमा पनि विष्णु रिजाललाई त झन् टिकट दिने कुरै भएन। उनी अवसरको पछाडि दौडिने पात्र हुन्, टिकट नपाएपछि माधवकुमार नेपालकाे पार्टीमा पनि जान सक्छन्। अनि राजबहादुर बुढाले यसपालि विश्राम लिन्छन्।’

दैलेख–२ संसदीय निर्वाचन क्षेत्रमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिका समावेश गरिएको छ।

कुनै समय दैलेख नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को प्रभाव क्षेत्रको रूपमा रहेको थियो। तर, बिनोदकुमार शाहको नेतृत्वमा नेमकिपाका नेताहरू एमालेमा प्रवेश गरेपछि एमालेको वर्चश्व रहँदै आएको छ। अहिले भने यस निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसबाहेक अन्य राजनीतिक दलको खासै प्रभाव देखिँदैन।

पछिल्लो तीन वटा निर्वाचनमा लगातार विजयी हुँदै आएको एमाले छ भने कांग्रेसले यस निर्वाचन क्षेत्रमा दुई पटक जित हासिल गरेको थियो।

२०४८ सालको चुनावमा कांग्रेसका रंगबहादुर शाहीले जितेका थिए। २०५१ सालमा भएको आमनिर्वाचनमा एमाले र नेमकिपाबीच गठबन्धन भएको थियो। त्यस समयमा नेमकिपाका उम्मेदवार शाह चुनावमा विजयी भएका थिए। चुनाव जितेका शाह पछि एमालेमा प्रवेश गरेपछि पुनः चुनाव भयो र शाह नै विजयी भए।

०५६ सालको आमचुनावमा कांग्रेसका शिवराज जोशी निर्वाचित भएका थिए। २०६४ सालमा भएको पहिलो संविधान सभा चुनावमा देशभर एमालेले कमजोर प्रदर्शन गर्दा पनि दैलेखमा भने चुनाव जित्न सफल भएको थियो।

२०६४ सालमा राजबहादुर बुढा, २०७० सालमा एमालेकै लक्ष्मी पोखरेल सांसदमा निर्वाचन थिए। २०७४ मा पुनः बुढा निर्वाचित भए। प्रदेश सभाका दुई क्षेत्रमा दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए।

स्थानीय तह चुनावको वडाध्यक्षहरूको मतमा नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा रहेको छ। एमालेले २१ हजार ७६ मत प्राप्त गर्दा कांग्रेसले १९ हजार ७ सय ८६ मत प्राप्त गरेको थियो। माओवादी केन्द्रले ५ हजार ७ सय ५५, नेकपा एकीकृत समाजवादी ८ सय ३० र राप्रपाले ३ सय २१ मत प्राप्त गरेका छन्।

दुल्लु नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो। त्यसैगरी भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयर र उप मेयर दुवै कांग्रेसले जितेको थियो।

ठाँटीकाँध गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेको छ भने आठबीस नगरपालिकाको मेयर उपमेययर दुवै एमालेले जितेको छ। सबै स्थानीय तहमा तीव्र प्रतिस्पर्धा देखिएको छ।

एमालेले प्रतिनिधि सभा उम्मेदवार बनाउन पाँच जनाको नाम सिफारिस गरेको छ। शाह जनस्तरमा भिजेका नेता हुन् र लामो समयदेखि त्यही निर्वाचन क्षेत्रमा सक्रिय रहेका छन्।

प्रकाशित मिति: : 2022-10-01 12:31:00

प्रतिकृया दिनुहोस्