२०७४ मा प्रदेश–१ बाट विजयी भएका कांग्रेसका पाँच नेता 

प्रवेश बिष्ट

विराटनगर 

२८ निर्वाचन क्षेत्र रहेको प्रदेश-१ नेपाली कांग्रेसका लागि २०७४ को प्रतिनिधिसभा निर्वाचन फलदायी बन्न सकेन। नेकपा एमाले र माओवादीको वाम गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको कांग्रेस पाँच सिटमा खुम्चिन पुग्यो। देशभर प्रत्यक्षमा कांग्रेसले २३ सिट मात्र जित्यो। 

२०७४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनले नेकपा (एमाले) लाई पहिलो दल बनाउँदा कांग्रेस दोस्रो भएको थियो। माओवादीसँग सहकार्यमा वाम गठबन्धन बनाएर चुनावमा जाँदा एमाले पहिलो भएको थियो। ०७४ मा प्रदेश-१ बाट प्रतिनिधित्व गर्ने कांग्रेसका धेरै प्रभावशाली नेताहरूले चुनाव हारेका थिए। 

कांग्रेसका प्रभावशाली नेता मानिने डा. शेखर कोइरालादेखि वर्तमान महामन्त्री विश्वप्रकाश शर्मासम्मले चुनाव हारेका थिए। यी दुईसँगै केन्द्रीय राजनीतिमा पहुँच राख्ने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, वर्तमान सहमहामन्त्री भीष्मराज आङदेम्बे, उमेशजंग रायमाझी, महेश आचार्य, बलहादुर केसी, रामहरि खतिवडा लगायतका नेताको संसद भवन छिर्ने सपना अधुरै रह्यो। 

यसपटक एमालेविरुद्ध कांग्रेससहितको माओवादी, नेकपा समाजवादी, जसपालगायतको सत्ता समिकरण छ। उनीहरु त्यही सत्ता गठबन्धन कायम गरेर चुनावमा जाने तयारीमा छन्। 

गठबन्धन कायम गरेर सिट बढाउने दाउमा रहेको कांग्रेसलाई आफ्नै पार्टीभित्रको अर्को समूहको चुनौती छ। प्रदेशमा शेखर कोइराला समूहको राम्रो उपस्थिति छ। यो समूह गठबन्धन गर्न नहुने भन्दै छुट्टै भेला पनि गरिरहेको छ। 

यसै सन्दर्भमा अघिल्लो निर्वाचनमा प्रदेशबाट निर्वाचित भएका कांग्रेसका ५ संसदको अवस्था कस्तो छ भन्ने विषय उठान गरेका छौँ। विजय गच्छदार, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्र बहादुर कार्की र सीताराम मेहता अघिल्लो निर्वाचनमा विजयी भएका थिए। 

विजय गच्छदार भ्रष्टाचारको मुद्धा लागेपछि निलम्बनमा परे। यता सीताराम मेहताबाहेक तीनै जना शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मन्त्री भए। 

विजय गच्छदार 

सुनसरी क्षेत्र नम्बर-३ का सांसद विजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बित अवस्थामा छन्। 

उनको मुद्धा अझै विचाराधिन छ। उनी यसपटक पनि उम्मेदवार बन्ने तयारीमा छन्। उनको नाम पार्टीले सर्वसम्मत सिफारिस पनि गरेको छ। 

२०७४ को निर्वाचनमा एमालेकी भगवती चौधरी गच्छदारसँग झिनो मतले पराजित भएकी थिइन्। गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन्। एमालेले यसपटक पनि उनै चौधरीलाई उम्मेदवार बनाउने भएको छ। 

डा. नारायण खड्का

उदयपुर क्षेत्र नम्बर-१ बाट विजयी भएका डा. नारायण खड्का हाल सरकारका परराष्ट्रमन्त्री छन्। २०५६ यता निरन्तर चुनाव लड्दै आएका खड्का २०६४, २०७० र २०७४ सालमा उदयपुर क्षेत्र नम्बर १ बाट निरन्तर चुनाव जित्दै आएका छन्। ०५६ को उपनिर्वाचनमा भने उनी एमालेसँग पराजित भएका थिए। 

२०७४ को निर्वाचनमा एमालेकी मञ्जु चौधरीलाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भए। खड्काले ३३ हजार १४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी चौधरीले ३२ हजार ५९४ मत ल्याएकी थिइन्। 

८ पालिका रहेको उदयपुरको क्षेत्र नम्बर-१ मा ३ पालिका पर्दछ। बेलका, त्रियुगा र चौदण्डीगढी नगरपालिका पर्छ। स्थानीय तहको मत परिणामअनुसार यस क्षेत्रमा गठबन्धनको बर्चश्व छ। 

त्रियुगा र बेलका नगरपालिकाको प्रमुखमा कांग्रेसले जितेको छ। यी दुवै पालिकाको उपप्रमुखमा भने एमालेले जितेको छ। चौदण्डीगढीको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ।

डा. मिनेन्द्र रिजाल

२०७४ को निर्वाचनमा मोरङ २ बाट जित निकाल्दै मिनेन्द्र रिजालले मोरङमा कांग्रेसको इज्जत जोगाए। रिजालसँग संविधानसभा सदस्यसमेत रहेको एमालेका ऋषिकेश पोखरेल पराजित भएका थिए। 

कांग्रेस नेता रिजालले एमालेका उम्मेदवार ऋषिकेश पोखरेललाई १ हजार ८०५ मतले पछि पार्दै निर्वाचित भएका थिए। रिजालले ३५ हजार ८१९ मत ल्याउँदा पोखरेलले ३४ हजार ०१४ मत प्राप्त गरेका थिए।

रिजाल पुस ५ को घटनापछि देउवा प्रधानमन्त्री भएपछि रक्षामन्त्री थिए। तर, कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपश्चात उनले मन्त्री पदबाट राजिनामा दिएका थिए। सो क्षेत्रबाट सुजता कोइरालाले पनि दावी गरिरहेकी छिन्। सुजता पछिल्लो देउवानिकट भएकाले सुजताले प्रत्यक्षमा टिकट पाउने सम्भावना छ। 

ज्ञानेन्द्रबहादुर कार्की

०७४ मा सुनसरी-४ बाट निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की अहिले सञ्चार मन्त्री छन्। कार्कीले अघिल्लो निर्वाचनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए। श्रेष्ठले २५ हजार ७५० मत पाएका थिए भने कार्कीले ३२ हजार ३४७ मत पाएका थिए।

उनी यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै छन्। कार्की राष्ट्रपति विद्यादेवी भण्डारीको नातेदार हुन्। २०७० को निर्वाचनमा भोजपुरबाट पराजित भएका कार्की ०७४ मा सुनसरी झरेका थिए। 

सीताराम मेहता

२०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर-२ मा कांग्रेसका सीताराम महतोले वाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदीलाई पराजित गरेका थिए। महतोले ४१ हजार ४९५ मत ल्याउँदा माओवादीका सुवेदीले ३५ हजार ३४९ मत पाएका थिए।

अघिललो निर्वाचनमा विजयी भएका उनको यसपटक सम्भावना कम छ। २०२९ सालमा नेपाल विद्यार्थी संघको सदस्यका रूपमा राजनीतिक यात्रा आरम्भ गरेका उनी इनरुवा नगरपालिकाको उपप्रमुख, कार्यवाहक प्रमुख, संविधानसभा सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीका रूपमा काम गरिसकेका छन्। 

यसपटक कांग्रेसले युवा उम्मेदवारलाई टिकट दिने चर्चा छ। यो क्षेत्रमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र राजीव ढुंगानालाई उम्मेदवार बनाउने चर्चा छ।

प्रकाशित मिति: : 2022-10-03 22:05:00

प्रतिकृया दिनुहोस्