भारतमा सामान किन्न पुग्नेहरू भन्छन्– नेपालीहरू मरे मरून् हामीलाई सस्ताे सामान चाहिएकाे हाे

तस्करहरुको सुनौलो नाका बन्दै कचनकवल

भद्रपुरकी रीता गिरी सातामा दुई पटक तीन वटा नाइलनको झोला बोकेर साइकलमा मेचीपारि जान्छिन्। उनी भारतको बिहार राज्यमा पर्ने गलगलिया पुगेर दाल, चामल, सागसब्जी, तेल, मसला, कपडालगायत झोलाभरि सामान लिएर फर्किन्छिन्।

चन्द्रगढीका रमेश ऋषिदेव पनि हप्तामा एक पटक साइकल लिएर गलगलिया पुग्छन्। चन्द्रगढी, भद्रपुरजस्ता झापाका दुई ठुलो बजार छाडेर रीतालेजस्तै घरको हरेक समान लिन उनी पनि गलगलिया पुग्छन्। अहिले चाडबाडको बेला त झन् दिनहुँ कम्तिमा चार हजारभन्दा बढी नेपाली मेचीपुल भद्रपुरको नाकाबाट मात्र भारत जान्छन्, समान खरिद गर्न। यस्तै काकडभिट्टाबाट भारतको पानीट्यांकीमा त झन दसाैँ हजार मानिस दिनहुँ वारिपारि गर्छन्।

भद्रपुर नगरपालिकाका केही गाउँ, कचनकवल गाउँपालिकाको पाठामारी, केचना, पिण्डलबारी, घेराबारी नाकाबाट पनि हजारौँ नेपाली सामान खरिद गर्न कादो गाउँ, ठाकुरगञ्ज आदि स्थानमा पुग्छन। यो भन्दा अत्युक्ति हुँदैन कि पानीट्यांकी, कादो गाउँ, गलगलिया, ठाकुरगञ्जलगायत यी भरतीय बजारहरु नेपालीकै कारणले चलेको छ।

सागसब्जीलगायत सामान्य सामान त नेपालमै किन्दा हुन्न र ? भन्ने प्रश्नकाे जवाफ दिँदै रीता भन्छिन्,‘नेपालमा कम्ती महंगो छ, एक पटकमा सयौँ रुपैयाँ जोगिन्छ भारत आउँदा।’

यसरी त नेपाली व्यवसायी मारमा पर्छन् नि त हाेइन र ? भन्ने प्रश्नमा उनी भन्छिन्,‘मरे नि मरुन, हामीलाई सस्तो सामान चाहिएको हाे।’

यसरी नेपाली बजारमाभन्दा भारतीय बजारमा सामान सस्ताे पाइने हुँदा नेपालीहरू सीमापारि पुग्न थालेका छन्। यसरी एक व्यक्तिले मात्रै हजाराैँकाे सामान खरिद गर्दा मासिक कराेडाैँ रकम भारतमा जाने गरेकाे  छ। नेपाली मुद्रा पनि बट्टा तिरेर सहज चल्ने ती भारतीय बजारहरुको कारण बोर्डर (सीमा नाका) छेउका नेपाली किराना लगायतका पसलहरु मारमा परेको व्यवसायी मिथलेस साह बताउँछन्।

नेपाल–भारत सीमा खुल्ला हुँदा ‘अलिकति समान त ल्याउने हो नि’ भन्दै व्यवसायीहरू पनि भारतमै सामान लिन पुग्छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले पनि यी सामान्य कुरा अनदेखा नै गर्छ। घरकाे लागि मात्रै सामान्य सामान ल्याएकाे अनुमानले त्यस्ताे कडाइ नगरेकाे प्रहरी बताउँछ।

खुल्ला सीमाको फाइदा उठाउँदै तस्कर

कचनकवल गाउँपालिकामा मात्र, दसाैँ व्यवसायीहरु दिनहुँ मोटरसाइकल लिएर निर्बाध रुपमा तस्करी गरिरहेका हुन्छन्। मेची क्याम्पसमा अध्ययनरत बनियानी निवासी अजय साह, सोही नजिक बनियानी चौकमा नै व्यवसाय गर्ने जयनाल, बनियानी निवासी टुनटुन यस्तै गुल्शेद, शिव आदिलगायत केचनाबाट पनि दिनहुँ मोटरसाइकलमा भारतीय बजारबाट गैरकानुनी तवरले सामान नेपाल लिएर आउँछ्न्।

त्यसै पनि खुल्ला सीमा, त्यसमाथि बाेर्डरमा प्रहरीकाे संख्या न्यून हुँदा भारतीय बजारमा भित्रिने अवैध सामान नियन्त्रणमा कठिनाइ हुँदै आएकाे छ। जसकाे फाइदा उठाएर मानिसहरू सहज अनेकाैँ सामान नेपालमा भित्र्याउने गर्छन्। यसरी मानिक कराेडाैँकाे अवैध सामान नेपाल भित्रिने गरेकाे स्थानीय बताउँछन्। व्यवस्थापकीय कमजाेरीकाे फाइदा उठाउँदै मासिक करोडौँको तस्करी कचनकवल नाकाबाट मात्र हुन्छ।

खुल्लमखुला कपडाकाे तस्करी

खुल्ला सीमानाले किराना मात्र हाेइन करोडौ मूल्य बराबरको कपडाजन्य समानको तस्करी पनि हुने गरेको छ। राति अनि बिहानकाे झिसमिसे समय पारेर पिकअपमा समान लोड गरी नेपाल ल्याइने गरिएकाे छ। कपडाकाे तस्करीका क्रममा विभिन्न समयमा दाेहाेर भीडन्त समेत हुने गरेकाे यहाँका व्यवसायही बताउँछन्।

यसबारे विभिन्न सञ्चार माध्यममा समाचारहरू सार्वजनिक भएपनि त्यसतर्फ भने प्रशासनकाे ध्यान पुगेकाे छैन। प्रशासनमा पर्याप्त जनशक्ति नहुनुको फाइदा उठाउँदै तस्करहरुले दिनानुदिन समान नेपालमा भित्र्याइरहदा बाटोको सहजताको कारण लागू औषधसमेत मनग्य भित्रन थालेको पाइएको छ।

नेपालका कुख्यात अपराधीलाई अमेरिकाले लुकायो

प्रकाशित मिति: : 2022-10-04 16:46:00

प्रतिकृया दिनुहोस्