केपी ओलीको क्षेत्रमा एमालेलाई चुनाव जित्नै मुस्किल

BreaknLinks
BreaknLinks

आगामी मसिंर ४ गते हुने निर्वाचनमा झापा-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रदेशसभा सदस्यका उम्मेदवारहरूलाई चुनाव जित्न चुनौती देखिएको छ। एमालेले एक्लै चुनाव लड्ने उद्घोष गर्दै आएको एमालेले चुनौतीको सामना एक्लैले गर्न सकेन। फलस्वरुप अहिले एमालेले ठाउँ-ठाउँमा अरु दलहरुसंग पनि गठबन्धन गरिसकेको छ।

बाहिर कार्यकर्ता र आम मतदातालाई आश्वस्त पार्न एमालेले आफ्नो संगठन बलियो रहेको तर्क पेश गर्ने गरेको भएपनि यथार्थमा एमालेले ओलीको गृह जिल्ला झापा र विशेष गरी ओलीले निर्वाचन जित्नकै लागि राप्रपासंग झापामै दुई वटा प्रदेशसभा सदस्य र एउटा संघीय निर्वाचन क्षेत्र राप्रपालाई दिइसकेका छन्।

एकातिर भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ओलीको क्षेत्रमा खास गरी ओलीका विश्वासपात्र भनिएकाहरुबाटै भएको अन्तर्घात, स्थानीय विकासका एजेण्डाहरुमा एमालेले गरेको चरम राजनीतिकरण, योजनाहरुमा परेको पार्टीभित्रैका डनवादको प्रभाव र त्यही प्रभावका आधारमा ओलीका आसेपासेहरुले गरेको एक्लौटी रजगजका कारण ओलीको क्षेत्रमा एमालेप्रतिको जनविश्वास घट्दो भएका बताइन्छ।

निर्वाचन क्षेत्र झापा-५ मा रहेका पालिकाहरुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा एमाले इतरले पाएको कुल मतभन्दा एमालेले पाएको मत नै कम भएबाटै ओलीलाई चुनाव जित्न कठिन पर्ने तथ्याङकले नै पुष्टि हुन्छ।

यो क्षेत्रअन्तर्गतका चार पालिकामध्ये एउटा गौरादह नगरपालिकाबाहेक अन्य पालिकामा एमालेले गएको निर्वाचनमा नेतृत्व गुमाइसकेको छ। दमक, गौरादह, कमल र गौरीगञ्ज गरी चारवटै पालिकाको प्रमुखमा एमालेले पाएको कुल मत ४२ हजार ७ सय ९८ छ भने यिनै पालिकामा एमाले इतरमा रहेको कांग्रेस, माओवादी र राप्रपाले पाएको मत ४७ हजार ५ सय ६६ रहेको छ।

पालिका प्रमुखमा एमाले गठबन्धनभन्दा करिब ५ हजार मतले पछाडि छ भने यो तथ्याकंमा दमकमा एमाले इतरमा कांग्रेस, माओवादी र राप्रपासमेतले पाएको मत समावेश छ।

अहिले एमालेसंगको राप्रपाको गठबन्धन भएपनि भर्खरैको स्थानीय चुनावमा राप्रपाले दमकमा मेयर पद जित्न एमाले इतर मुख्य गरी कांग्रेस र माओवादीकै साथ पाएका कारण तत्कालै राप्रपाका मतदाताहरुले कांग्रेस-माओवादीले मेयर पदमा राप्रपाका राम थापालाई मत दिएर लगाएको गुन बिर्सिइ हालेका छैनन्।

राप्रपाका कार्यकर्ताहरु एमालेविरुद्धको ६ महिनाअघिको त्यो चुनावी रस्साकस्सीलाई बिर्सिएर अहिले नै एमालेलाई मत हाल्न तयार नरहेका कारण एमालेले दमकबाट राप्रपाको मत लिन सक्ने आधार छैन।

कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनले पाएको मत एमालेको भन्दा ३ हजार २ सय १५ ले बढी छ। यसमा राप्रपाले पाएको ७ सय ८२ मतमध्ये एमालेलाई आधा हिस्सा मुस्किलले जाने देखिन्छ। त्यस्तै गौरादहमा राप्रपाले १ हजार ५ सय ९० मत पाएको थियो। त्यहाँ पनि राप्रपाको शत प्रतिशत मत एमालेले पाउने देखिँदैन।

राप्रपाको मुल एजेण्डा र एमालेको एजेण्डा फरक-फरक भएका कारण पनि यहाँको समेत राप्रपाको आधा मत मात्रै एमालेले पाउनेछ। पालिकाको चुनाव गौरीगञ्जमा गठबन्धनरहित चुनाव भएको थियो। जहाँ कांग्रेसले ५ हजार ६ सय ८९ मत ल्याएर अध्यक्ष पदमा जितेको थियो। सो पालिकामा एमालेले ३ हजार ३ सय ३० ल्याएर दोस्राे भएको थियो भने राप्रपा ३ हजार ३ सय ७ ल्याएर तेस्रो भएका थिए। यो पालिकाका २ वटा वडा भने ओलीको क्षेत्रमा पर्दैनन्।

यो तथ्य र तथ्याङकसंग एमालेभित्रका बौद्धिक र तथ्यमा विश्वास गर्ने नेता, कार्यकर्ताहरु सहमत छन् तर अध्यक्ष ओलीको वरिपरी घुम्ने र गुमराहमा राख्न उद्यत एमालेभित्रकै एउटा समूहले भने ओलीको जित सहज रहेको भन्दै नेतृत्वलाई गुमराहमा राखिरहेको छ।

विकासमा यसरी गरे विभेद

यो भूगोलबाट एमाले २०४८ साल यता संसदमा प्रतिनिधित्व गर्ने अवसर बारम्बार पाएको छ। अहिलेको क्षेत्र नं. ५ अंकमा कहिलेकाहीँ घटबढ भएपनि यो भूगोलबाट चुनिँदै संसदमा पुगेर मुलुकको प्रधानमन्त्रीसमेत भइसकेका छन्, एमाले अध्यक्ष ओली।

उनको नेतृत्वमा मुलुकले दुई तिहाइको सरकार पनि पायो। तर यही क्षेत्रका आम नागरिकमाथि समान र न्यायपूर्ण व्यवहार हुन सकेन। ७ सय बढी चिहान उत्खनन गरेर आदिवासी रंगशाला तथा स्मृति पार्क बनाउने एमाले, कांग्रेस, माओवादीसहितका दल र सरोकारवालाहरुबीच भएको सहमति उल्टाउँदै कमल-५ मा निर्माणको चरणमा रहेको आदिवासी रंगशालाको नाममा उनै ओलीले बखेडा झिके र मदन भण्डारी रंगशाला बनाउने प्रयास गरे।

सरोकारवालाहरुले राखेको सहमति कार्यान्वयनको मागलाई वेवास्ता गर्दै योजना नै दमकतर्फ सारे। यसरी ओलीले आफ्नै क्षेत्रमा पर्ने कमलका सर्वसाधारणहरुमाथि अन्याय गरे। त्यति मात्रै होइन, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको अपमान गर्दै महागुरुको नाम जोडेर दमकमा बन्दै आएको फाल्गुनन्द सभागृहको नाममा आफू नेतृत्वको सरकारले बजेट दिन नमिल्ने भन्दै यो सभागृहको नाम पनि फेरेर दमक सभागृह बनाउन लगाए। यहाँ रतुवा र कन्काईसम्म दाहसंस्कारस्थल बनाउने योजनाअघि सारे तर किराँतहरुको समाधिस्थल नै मास्न अघि सरे।

एक महिनाअघि कमल गाउँपालिकामा आफ्नै पार्टीका कार्यकर्ताहरुले दमकलाई वासिङ्टन जस्तो र कमललाई श्रीलंका जस्तो बनाउन खोजेको भनि ओलीमाथि कडा प्रहार गरेका थिए। दमकमै उनका अघि-पछि लाग्ने र अनावश्यक चाकडी गर्नेहरुले विपक्षीसंगको चुनावमा अन्तर्घात गरेर पनि अवसरहरु लिन छोडेका छैनन् भने ओलीनिकट भएर काठमाडौंमा बस्दै आएका ठेकेदार मदन अधिकारीले ओलीसंगको पहुँचकै कारण रतुवा खोला तटबन्धनको ठेक्कावापत अढाई करोड बढी रकम पेश्की लिएर पनि कमलतर्फको भागमा अझै काम गरेका छैनन्।

यसको असर पनि यो चुनावमा एमालेले बेहोर्नुपर्ने देखिन्छ भने ओलीले शिलान्यास गरेको चिनियाँ लगानीमा बन्ने भनिएको औद्योगिक पार्कको शिलान्यासपछि कुनै काम अघि बढेको छैन। त्यहाँ बरु एमालेका नेता, कार्यकर्ताहरुले खोला कुद्ने जग्गा सस्तोमा खरिद गरी आफ्ना नाममा ल्याएर मुआब्जाबापत करोडौं रुपैयाँ राज्यकोषबाट लिएका छन्।

दमकमा बनेका अधिकांश कालोपत्रे सडक यहाँका नगरबासीहरुको प्रत्यक्ष खर्चमा बनेका हुन्। नगरपालिकाले नगर विकास कोषबाट लिएको ऋण र नगरबासीहरुले घर-घरबाट प्रतिफुटका हिसाबले खर्चिएको रकमबाट यहाँका धेरै सडकहरु कालोपत्रे र चिल्ला बनेका छन्। यिनै सडकलाई देखाएर केपी ओलीले सोझा सिधा सर्वसाधारणलाई आफूले बनाएको बाटो भन्दै झुक्याउने गरेपनि आगामी चुनावमा यहाँका मतदाताले उनलाई झड्का दिने योजना बनाएका स्थानीयस्तरमा चर्चा परिचर्चा हुने गरेको छ।

प्रदेशसभा सदस्यलाई पनि उस्तै चुनौती

दमक र लखनपुरको भूगोल समेटिएको प्रदेशसभा निर्वाचन क्षेत्र खमा एमालेबाट उम्मेदवार रहेका होमबहादुर थापा र संयुक्त गठबन्धनका गगन पुरीबीच धेरै अन्तर देखेका छन्, यहाँका मतदाताले। युवा उमेरका पुरी माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष हुन् भने एमालेका थापा प्रदेश कमिटी सचिवालय सदस्य हुन्। थापाको तुलनामा पुरी यहाँका स्थानीय मतदाताहरुमाझ परिचित अनुहार हुन्।

यहाँका विकासे मुद्धाहरुमा थापाभन्दा पुरी निक्कै परिचित र जानकार मात्रै होइनन्, विकासे मुद्धाका योजनाकार नै पुरी भएका कारण पनि माओवादी, कांग्रेसलगायत यहाँका विकासप्रेमी युवा, पाका सबै पुस्ताका अधिक सर्वसाधारणले पुरीको सक्रियता र योगदानको चर्चा गर्न थालेपछि एमालेभित्र अहिले खटपटी बढेको छ।

साविक तोपगाछी, गौरादह र गौरीगञ्जको आशिंक भू-भाग समेटिएको प्रदेशसभा क्षेत्र ‘क’मा समेत एमालेका हिक्मत कार्की कमजोर उम्मेदवारका रुपमा देखिएका छन्। यसअघि समेत यो क्षेत्रबाट निर्वाचित भएर एक नम्बर प्रदेश सरकारको शक्तिशाली मन्त्रालय सम्हाल्दासमेत उनले यो भूगोलमा पर्याप्त विकासका योजनाहरु भित्रयाउन नसकेको, प्रदेशको नामाकरण गर्नसमेत असफल भएको, चुनाव जितेपछि अधिकांश समय जिल्ला बाहिरै बिताएको, आफ्नै नगर र क्षेत्रमा पार्टी नेतृत्वलाई पारदर्शी र सक्रिय ढंगले चलाउन नसकेको जस्ता आरोप कार्कीमाथि छ।

उनका प्रतिस्पर्धीका रुपमा कांग्रेसका युवा नेता तथा उद्योगी व्यवसायीहरुको समेत नेतृत्व गरिसकेका गौरादह बजारका रैथाने उम्मेदवारका रुपमा जीवन राई गठबन्धनको साझा उम्मेदवारका रुपमा छन्। विभिन्न सामाजिक संघ-संस्थामार्फत आफनो क्षेत्रका गरीब, दुखी, असहाय र पीडितहरुका दुख-सुखका सारथी बनेका राईलाई सो क्षेत्रमा साझा र २४ घण्टे एम्बुलेन्स उम्मेदवारका रुपमा क्षेत्रबासीहरुले लिएका कारण कार्कीलाई चुनाव जित्न चुनौती देखिएको छ।

प्रकाशित मिति: : 2022-10-16 22:05:00

प्रतिकृया दिनुहोस्