आफ्नै पूर्व कार्यकर्तासँग चुनाव लड्दै झलनाथ खनाल

इलाम क्षेत्र नम्बर १ मा यसपटकको निर्वाचन रोचक हुने भएको छ। यो क्षेत्रमा नेकपा एमालेका दुई पूर्व सहकर्मीको भिडन्त हुँदैछ।

तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता एंव हाल नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र उनका पूर्व सहकर्मी महेश बस्नेत चुनावी मैदानमा छन्।

यसअघिका चुनावमा खनाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका बस्नेतबीचको भिडन्त रोचक बन्ने अनुमान गरिएको छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट विजयी भएका खनाल ०७७ पुस ५ का केपी शर्मा ओलीले संसद विघटन गरेसँगै खनाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादीमा छन्।

२०७४ को निर्वाचनमा सँगै भोट माग्दै हिँडेका नेता नै यसपटक खनालको प्रतिस्पर्धी छन्। खनालकै स्कुलिङमा हुर्किएका बस्नेत चुनाव जित्न जोडबलका साथ लागिपरेका छन्। बस्नेत नेकपा एमालेका इलाम जिल्ला अध्यक्षसमेत छन्।

२०७४ को निर्वाचनमा खनाल एमाले माओवादीको बाम गठबन्धनबाट उम्मेदवार थिए। उनले आफ्नो प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले चुनाव हराए। खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बने। उनीसँग कांग्रेसका भूपेन्द्र कट्टेल १९ हजार ६३८ मत ल्याएर पराजित बने।

तर, यसपटक समिकरण फेरिएको छ। कांग्रेस र माओवादीको साथ पाएका खनालको साथमा लामो समयदेखि चुनाव लड्दै आएको पार्टी र चुनाव चिह्न साथमा छैन। पार्टी र चुनाव चिह्न नयाँ भएका खनाललाई चुनाव जित्न सकस पर्ने देखिन्छ।

२०४८ सालयता भएका ६ निर्वाचनमा निरन्तर मैदानमा उत्रिएका खनाल ५ वटा निर्वाचनमा विजयी भएका छन्। खनाल २०५६ सालको निर्वाचनमा भने पराजित भएका थिए।

नेकपा एमाले र चुनाव चिन्ह सूर्यबाट ५ पटक निर्वाचन जितेका खनालविरुद्ध त्यही सूर्य चिन्हका उम्मेदवारसँगको प्रतिस्पर्धा निश्चित रोचक बन्ने छ। संसदीय चुनावमा पहिलो पटक उम्मेदवार बनेपनि बस्नेतसँग लामो चुनावी अनुभव छ। बस्नेतसँग दुई कार्यकाल इलाम नगरपालिकाको मेयर भएर काम गरेको अनुभव छ। जिल्लामा बस्नेतको उपस्तिथि बलियो रहेको एमाले कार्यकर्ताहरु बतउँछन्।

प्रकाशित मिति: : 2022-10-17 10:36:00

प्रतिकृया दिनुहोस्